झगडातन्त्रले विक्षिप्त देश !

Read Time = 14 mins

‘झगडा’ यो प्राकृत भाषा ‘झगड’-बाट आएको नाम पदवर्गको शब्द रहेछ । दुुई वा दुुईभन्दा बढी व्यक्तिहरूका बीच परस्पर शत्रुतापूर्ण भनाभन, कलह, कचिङ्गल, झैझगडा, राडो, भनावैरी, रडाको, द्वन्द्व, पारस्परिक खिचातानी र वादीप्रतिवादी भई सिँगौरी खेलेर तुजुक देखाउने आदि विविध आसयमा झगडा शब्द अर्थिन्छ । झगडा गर्न तगडा भएकाहरूलाई झगडे, झगडिया, झगडालुु र झगड्याहा आदि विशेषणमा कुुत्सित, निन्दित वा हेय भावले सम्बोधन गरिँदै आएको छ लोकजिब्रोले ।

त्यसै भएर त लोकवेद झगडियालाई नांगेझार पारेर सिस्नुुपानी लगाउँदै बोल्छ : ‘झगडियाको छोरो झगडियै हुन्छ । झगडा लिन आउँछ, दिन आउँदैन । झगडेली स्वास्नी, काउसाको माला । झगडिया गम्छ, तमासे रम्छ । झगडियाको काल विचारी, विचारीको काल झगडिया । झगडा गर्नु तर धर्म नभाक्नुु । झगडाको र आगाको बिउ धेरै चाहिँदैन । झगडाको बिउ हाँसी, रोगको बिउ खाँसी’ । झगडा र झगडिया वृत्तिलाई दुरुत्साहित बनाउन हाम्रा पुर्खाले प्रतिपादन गरेका उखानका झुप्पा अहिलेको लोकप्रिय थुप्पाभन्दा स्वादिलो र तिख्खर पो रहेछ हजुुर्बा ! भनेर एघार पढ्दैको नाति जो हिजो साथीसित बाझाबाझ गरी निधारमा टुटिलो उठाएर निम्म परी घरभित्र छिरेको थियो । बिहान बाउछोराको कुराकानीमा छाती फुलाउँदै आत्मज्ञान आएको कुरा बर्बराइरहेको भेटेँ ।

भन्न त लोकतन्त्र, जनतन्त्र, गणतन्त्र अझ संघीयता मिसाएको समाजवादोन्मुख देश रचेर विश्वमै दुर्लभ संविधान लेखी हामी अग्रगामी बनेका छौं भन्छौं तर, संविधान, ऐन, कानुन तथा नियमबाट नियमनमा रहन आनाकानी गर्ने हामी पश्चगामी प्रवृत्तिमा पूूर्वएकाधिकारवादी भन्दा धेरै किलोमिटर माथि छौं !

आजको नेपाल झगडावादमा रिँगेको रिँग्यै छ बा ! हाम्रो नीच झगडालु आदतले देशै विक्षिप्त भइसक्यो । शासकप्रशासक वर्गले इन्द्रियहरूको नियन्त्रण गर्न नसक्नुु नै झगडाको मूल कारण हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता छ शत्रुहरूले ठूला मान्छेका हृदय र दिमागलाई घर गरेपछि गलत तिर्सना वा तृष्णा जन्मन र झांगिन पुुग्छन् । अर्थात् खानेपिउने इच्छा, मनको धोको, अनुचित अभिलाषा, लालसा, लोभ, लिप्सा, तिर्खा, प्यास, आदि नै हुन् तृष्णाका गति र लय । पूर्वीय नीतिविद्हरूले मानव समाजको गहिरो अध्ययन गरेरै यस्ता रसिला सूत्रवाणीहरू पस्किएका छन् :
भोगा न भुक्ता वयमेव भुुक्तास्तपो नतप्तं वयमेव तप्ताः।।
कालो न यातो वयमेव यातास्तृष्णा नजीर्णा वयमेव जीर्णा ।।
(मतलव, हामीले सांसारिक विषषवस्तुु भोग गर्न सकेनौं उसैले हामीलाई भोग गरिरहेको छ । तपस्या गर्न सकेनौं तपस्याले नै हामीमा ताप दिइरहेको छ भने समय गएको होइन हामी नै थोत्रिँदै जीर्ण अवस्था पुगिसक्यौं तर पनि तिर्सना चैँ तन्नेरी भएर आँखा झिम्क्याइरहन्छ ।) त्यसै भएर कविशिरोमणि बोले-‘तृष्णाको तुच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो’ । अर्को भनाइ अझ चोटिलो छ–
‘जीर्यन्ति जीर्यतः केशाः, दन्ता जीर्यन्ति जीर्यतः ।
चक्षुुः श्रोत्रे च जीर्येते, तृष्णैका तरूणायते’ ।।
अर्थात् कपाल, दाँत, आँखा, कान थोत्राभन्दा थोत्रा वा निकम्मा हुँदा पनि तृष्णाकी परी भने सोह्र वर्षकी तरुनी बनिरहन्छे देख्ने, सुन्ने, चबाउने तागत नहुँदा पनि त्यो तिर्सना रम्भा र तिलोत्तमा बनेर नाची मोहित बनाउँछन् बा ! भन्न त लोकतन्त्र, जनतन्त्र, गणतन्त्र अझ संघीयता मिसाएको समाजवादोन्मुख देश रचेर विश्वमै दुर्लभ संविधान लेखी हामी अग्रगामी बनेका छौं भन्ने धाक, दर्प, अहं र अभिमान पछारिन्छ । तर, संविधान, ऐन, कानुन तथा नियमबाट नियमनमा रहन आनाकानी गर्ने हामी पश्चगामी प्रवृत्तिमा पूूर्वएकाधिकारवादीभन्दा धेरै किलोमिटर माथि पो छौं त !

हाम्रो दैनिकी वा नियति नै झगडाग्रस्त, छिद्रान्वेषी, भ्रष्टाचारभक्त हुँदै आफूलाई हात्ती र अरूलाई भुसुना सम्झने व्यवहार देखाउन बहादुरी सम्झिरहेका छौं । पञ्चायतकालीन समयका घटेका काण्डहरू- राष्ट्रिय वनकाण्ड, सर्पको छाला तस्करीकाण्ड, गलैँचापर्व, गाईकाण्ड, चामलकाण्ड र मूर्तितस्करी काण्डलाई माथ गर्ने अर्थात् त्यसका हजुुर्बाउ पर्वहरू आज सतहमा आएका छन् । बहुदलीय प्रजततन्त्र आएपछि त देशले अवश्य काँचुली फेर्ला भन्ने हाम्रो आशाको धरोहरमा तुुषारापात गर्दै पचासको दशकमा यी ठूला काण्डहरू तत्कालीन शासकप्रशासकको समयमा हुन गए ।

लाउडा काण्डले दुुई अरबको नोक्सानी वायुुसेवा निगमले व्यहोर्नुु पर्‍यो भने अर्काे धमिजा काण्डले ४० करोडको घाटा त्यही संस्थालाई गरायो । पुुनः अत्यन्त अर्को बदनाम काण्ड ‘चेजएयर’ले यो संस्थानको आयुुलाई क्षीण गर्दै झन्नै दसलाख अमेरिकी डलर नोक्सान बनाएर नेपाल वायुसेवा निगमलाई निकम्मा बनाउने कोसिस यो पर्वले गराएको कुरा पढ्न पाइन्छ । त्यस्तै अर्को ‘चाइना साउथवेष्ट काण्ड’ बाइस करोडले सम्पन्न भयो । गणतन्त्र आएपछि त झन देश अब सुशासन, जबाफदेहिता र पारदर्शीले धपक्कै बल्ला र समृद्ध नेपाल, सुखी र खुसी नेपाली होलान् कि भनेर सपना देख्ने नेपाली जनतामा अप्राकृतिक दलीय गठबन्धनका थरी-थरीका वाक्घरीहरूले कुुशासनमार्फत साठीको दशकमा भ्रष्टाचारमाथि धावा बोल्न सकेनन् ।

‘न्यारोबडी र वाइडबडी’ विमान किन्दाको घोटाला, २०७५को वाइडबडीमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको थियो । त्यस्तै अर्को ललितानिवास जग्गाकाण्ड २०४९, २०६६, २०६९ का कालखण्डमा व्यक्तिको नाममा दर्ता गराएर गुपचुपै राखिएछ । २०७४ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुुझ समितिले तत्कालीन मन्त्रिपरिषद्ले गलत निर्णय गरेको खुलासा गरको थियो र पनि २०६९ मा पशुपति टिकिचा गुठीको नाममा ललिता निवासको बाँकी जग्गा दर्ता गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको भेटियो ।

त्यस्तै ओम्नीकाण्ड, बुढीगण्डकी नौ अरब काण्ड, ७० करोडको प्रिन्टिङ प्रेस खरिदकाण्ड, नेपाल ट्रष्टको जमिन भाडाकाण्ड, मेलम्ची खानेपानीको ३८ करोड हिनामिना काण्ड, महराको अडियो काण्ड, सिसिटिभी फुटेज काण्ड, भुटानी शरणार्थी काण्डजस्ता अन्य थुप्रै काण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको स्वच्छ छविलाई धुमिल बनाएको छ र यो कालखण्डका शासकप्रशासकको गलत र तुच्छ अन्तरआसयलाई स्पष्ट र छ्याङ्ग पारेको छ ।

यस कालखण्डमा दलहरूबीच राजनीतिक गठबन्धन जति भयो त्यति नै भ्रष्टाचारको तटबन्धन पनि कसिएको रहेछ । एकाध नगन्य अपवादका व्यक्तिबाहेक अधिकांश भ्रष्टाचारको नालीमा खेलेर सत्तालाई काली माता ठानी कुर्सी महात्म्यमा ठगबन्धनकै नाटक मञ्चन गरिएको बुझियो ।

यस्ता घोर रूपले देशको अपकार गर्नेहरू सधैं बलवान् हुँदैनन् । एकदिन उनीहरू पनि जनताको अदालतमा उभिनुपर्छ । भनिएको पनि छ :
तावत् बली बली यावत्, बलीयानावलोक्यते।
सिंहात् अष्टपदोकभ्येति, मृगात् सिंहः पलायते ।।
मतलव : जहाँसम्म अति बलिष्ठ व्यक्ति देखिँदैन त्यहीसम्म मामुली बल भएको बलबान् ठहरिन्छ । जस्तै सिंहलाई पनि खाइदिने तागत भएको अष्टापद भन्ने भयकारी जनावर हुन्छ (‘शरभ’ नाम गरेको हिमालमा हुने यो जनावर सिंहभन्दा बलवान् मानिएको धेरैमाथि उफ्रनसक्ने पुराणप्रसिद्ध आठखुुट्टे जनावर) जसलाई देख्ने वित्तिकै मृगदेखि डराएर जङ्गलको राजा हुँ भनेर हुंकार गर्ने क्रूूर सिंह कुलेलम ठोक्छ । त्यस्तै नियति त बेहोर्न पर्ने होइन ? शीर्ष र उपशीर्षकको पगरी गुुथेका संभ्रान्त जमातले बेस्सरी परिचर्चा छ । श्रीमद्भगवत् गीताको दशौँ अध्यायको अठतीसौं श्लोकले सचेत गराउँदै भनेको छ :
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुहृयानां ज्ञानं ज्ञानवतामहम् ।। ३८
अर्थात् : दमन गर्नका लागि थुप्रै साधन छन्, जसमध्ये सबैभन्दा महत्वपूर्ण हो दुुष्टको विनास । दुुष्टहरूलाई दण्ड दिएपछि दण्ड दिने व्यक्ति कृष्णकै प्रतिनिधि बन्न पुुग्छ । कुनै कामका क्षेत्रमा विजय पाउन प्रयत्न गर्नेहरूमा विजय सूचक तत्व नैतिकता नै हो । सुुन्ने, सोच्ने र ध्यान गर्ने गोपनीय काममा मौन धारण गर्नु नै सबभन्दा महत्वपूर्ण हो । किनभने मौन धारण गर्नाले मानिसको अति छिटो प्रगति हुन्छ ।

जसले पदार्थ र आत्माका बीचमा तथा भगवान्का परा शक्ति र अपरा शक्तिमाझ रहेको भेद छुुट्याउन सक्छ त्यो बुद्धिमान हो । यस्ता ज्ञान त स्वयं कृष्णकै रूप हो । त्यसैले अति गर्नु अतिचार नगर्नु भन्ने पुर्खाका आहान के खेर जान्थ्यो र ? कंशवृत्तिको ताप अधिकतं भएपछि कृष्णतत्वको पदार्पण अवश्य हुन्छ । रावणत्वको दर्प चुलिएपछि राम रूप स्वतः आउँछन् ।

यस कालखण्डमा दलहरूबीच राजनीतिक गठबन्धन जति भयो त्यति नै भ्रष्टाचारको तटबन्धन पनि कसिएको रहेछ । एकाध नगन्य अपवादका व्यक्तिबाहेक अधिकांश भ्रष्टाचारको नालीमा खेलेर सत्तालाई काली माता ठानी कुर्सी महात्म्यमा ठगबन्धनकै नाटक मञ्चन गरिएको बुझियो । पृथक दलदलबीचको झगडा, दलभित्र आन्तरिक तानातान, गुटउपगुुटबीच रडाको नाता, कृपा, चाकरी, धनलाभकै पेरिफेरीमा सबै क्षेत्रमा लुटको लाइसेन्स बाँड्ने तिकडम चलिरहेको आमजनतामा छ्याङ्ग भयो । दलभित्र दलबाहिर सत्ताप्राप्तिको लडाइँ जारी छ । त्यसैले त देश झगडाबाट आक्रान्त र विक्षिप्त बन्दै घस्रिरहेको छ । अस्तुु !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?