अव्यवस्थित सडकले हराउँदै गाउँको सुन्दरता

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न कि घोडा खच्चडको प्रयोग गरिन्थ्यो, कि मान्छेले नै बोक्नु पर्ने अवस्था थियो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नु पर्ने बाध्यता थियो । तर अहिले दूर दराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा परेको सडक अहिले नपुगेको गाउँनै छैन । सडकले ग्रामीण जनजीवनमा परिवर्तन त ल्याएको छ नै त्योसँगै बिनास पनि उत्तिकै गरेको छ । हिउँदका समयमा धमाधम सडक निर्माण हुन्छन् ।

बर्खाको समय ति सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीयसँगै भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको छ । बिना इन्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पुर्याइरहेको छ । सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन समेत बनाइ दिएको छ ।

जिल्लाको १० वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय हुँदा यातायातका साधान चल्दैनन् । ग्रामीण क्षेत्रका धेरैजसो सडकमा गाडी गुड्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नु पर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनु पर्ने बाध्यता छ ।

सडक बाह्रै महिना चल्नु पर्ने हो तर वर्षमा एक पटक पनि गाडी नगुड्ने माटोरबाटो जिल्लामा थुप्रै छन् । गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडक अहिले प्रयोगमा नआएको निसीखोलाका तिलबहादुर पुन मगरले बताउनुभयो । उहाँले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नु परेको बताउनुभयो । उपभोत्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको पुनको गुनासो छ ।

‘आजभन्दा पाँच वर्ष अगाडि कुनै पनि गाउँमा सडक पुगेको थिएन, अहिले हेर्नु हुन्छ भने सडक नपुगेको गाउँनै छैन, सडक पुगे पनि धेरै ठाउँमा गाडी चल्दैनन्, दुई/चार घर भएका ठाउँमा पनि सडक पुगेका छन्’ उहाँले भन्नुभयो– ‘सडकको स्तरीय निकै कमजोर छन्, साँघुरा र जोखिमयुक्त हुँदा गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि अल्लि माथिल्लो क्षेत्रमा पुग्दैनन्, गाउँमा सडक आउनु राम्रो हो तर जथाभावि रुपमा खनियो, त्यसले गर्दा ति सडकमा न गाडी चल्छन्, न अरु साधान, खेती योग्य जमिन मासिरे सडक बनाए बनाइयो बजेट मात्रै खेर गयो ।’

उहाँले सडकले पहिलेको तुलनमा केही सहज भने बनाएको उहाँको भनाइ छ । पहिले बजारदेखि नुन, चामल लगायत दैनिक उपभोग्य सामान ल्याउन घण्टौँ लाग्ने गरेकामा अहिले १५/२० मिनेट बोकेर ल्याउन सकिने बताउनुहुन्छ । सडकलाई गुणस्तरी बनाउन सके सबै ठाउँमा गाडी संचालन गर्न सकिने पुन मगरले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ का तिलबहादुर सुनारले सडकले गाउँलेको दैनिकनै बदलिएको बताउनुभयो । उहाँले सडक गाउँ जोडिनु पूर्व दैनिकी कष्टकर भएको सुनाउँदै अहिले धेरै सहज भएको बताउनुभयो । सडकका कारण बजारको सेवा सुविधा गाउँमा आएको सुनारको भनाइ छ । सडकले विकाससँगै गाउँमा ठूलो विकास पनि निम्त्याएको उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती बगाउने गरेको सुनार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– ‘सडक आवश्यकताभन्दा बढी खनिए, त्यसले गर्दा सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोका जोखिममा छन्, स्थानीयहरू बर्खामा घर छोडेर भाग्नु पर्ने अवस्था छ, पहिले गाउँ निकै राम्रो थियो, खेतीयोग्य जमिन हराबरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्, तीन÷चार वर्ष अगाडि निर्माण भएका सडकमा अझै नाली बनाइएका छैनन्, त्यसले गर्दा बर्खाको पानीले सडक क्षतबिक्षत बनाउने र पहिरो जाने समस्या नित्याएको छ ।’

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अव्यवस्थित रुपमा निर्माण भएका सडकले गाउँको सुन्दरतामा दाग लागेको बताउनुभयो । स्थानीय पालिकाले सुरुका वर्षदेखि सडक निर्माणमा ठूलो लगानी गरे पनि व्यवस्थित गराउन नसकेको उहाँको भनाइ छ । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा इन्जिनियरिङ गरेर मात्रै निर्माण गर्न आग्रह गरेको बताउनुभयो । अतिआवश्यक स्थान बाहेकका ठाउँ सडक निर्माण नगर्न पालिकाहरूलाई सुझाएको उहाँ बताउनुहुन्छ ।

‘सडक विकासको मुख्य आधार भएको हुँदा यसको आवश्यकता अतिनै हुन्छ, केही समय अगाडि जथाभावि निमार्ण भएका सडकका कारण गाउँहरू कुरुप बनेका छन्, अब सडकलाई व्यवस्थित गर्न सकिएन भने वातावरणमा ठूलो असर पुग्ने देखिन्छ’ प्रमुख थापाले भन्नुभयो– ‘हामीहरूले सबै पालिकालाई सडक निर्माण गर्दा अलि बढी ध्यान दिन आग्रह गरेका छौँ, गाउँको सुन्दरता, भौगोलिक अवस्था बुझेर मात्रै बाटो खन्न भनेका छौँ ।’

बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको करिब १४२ किलोमिटर खण्ड पर्छ । यस खण्डको अधिकांश भागमा ग्रामीण सडकले असर पुर्याएको छ । हिउँदमा निर्माण भएका ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्रे भएको लोकमार्गलाई क्षतविक्षत बनाउने गरेको छ भने सडकभन्दा तलका धेरै बस्तीहरु विस्थापित भएका छन् । यस तर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?