मुग्लिन-मलेखु सडक विस्तार सुरु, धादिङतर्फ १० वटा आकाशे पुल बन्ने

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । मुग्लिन-मलेखु सडकखण्डको मर्मत कार्य सुरु भएको छ । वर्षायाम सुरुभएपछि उक्त सडक खण्डमा पहिरो जानेलगायतका समस्या हुने भएकाले बिग्रिएका ठाउँहरुमा मर्मत कार्य सुरु भएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना अन्तर्गत मुग्लिन-मलेखु सडक-खण्डको सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने जस्ता काम भएको छ ।

जेठको पहिलो साताबाट यस क्षेत्रको मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भर्खरै सुरु भएको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । संघीय राजधानी काठमाडौँ जाने र बाहिरिने सवारी साधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम भैरहेको कार्कीले जानकारी दिनुभयो । उक्त सडकखण्ड अब न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो हुनेछ । साँघुरो र जङ्गल क्षेत्रमा भने नौ मिटर कायम गरिने छ ।

यस्तै बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भैरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक विस्तार गर्ने काम भएको छ । यस्तै नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक मर्मत गरिने भए पनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिने छ । बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ ।

यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ । पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार गर्न ठेक्का पाएको छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । यस्तै यात्रुहरुलाई यात्रा गर्न सहज होस भनी गोमती, चरौँदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा गरी ६ वटा पुल निर्माण हुने भएको छ । केही ठाउँहरुमा पुल निमार्णको काम सुरु भैसकेको छ, भने केही ठाउँहरुमा निमार्ण हुने प्रक्रियामा रहेको छ ।

मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा भने आकाशे पुल निर्माण हुनेछ । यस क्षेत्रको ठेक्का सम्झौता भने चार अर्ब ८० करोड रुपैयाँको लागतमा निर्माण हुनेछ । मुग्लिन-नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिएको छ ।

राजधानी भित्रिने मुख्य सडक भएकाले ठेक्का सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको छ । नागढुङ्गा-नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । यस क्षेत्रमा सडकको दायाँबायाँ पर्खाल लगाएर सडकको सीमा निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?