सुदूरपश्चिम स्पोर्टस अवार्डलाई गरिमाको साथ

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड-२०७९’ लाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो । अब यो विधाको नाम गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डाक्टर निराजनदत्त शर्मा पौडेलले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्ष ०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताउनुभयो । अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

यस्तै अवार्डका लागि चार विधाका खेलाडीको मनोनयन पनि सार्वजनिक भइसकेको छ । वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडी विधातर्फको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी पर्नुभएको छ ।

सुदूरपश्चिम आइकन पुरुष विधामा तरबारबाजी (फेन्सिङ)का जलेन्द्र शाही, करातेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् भने सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छन् । अब उत्कृष्ट खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?