शहीद स्मारक ‘ए’ डिभिजन लिग : खुमलटार युवा क्लब रेलिगेसनमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । खुमलटार युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । अन्तिम खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग हार व्यहोरेसँगै खुमलटार रेलिगेसनमा परेको हो । ‘ए’ डिभिजनमा उक्लिएको पहिलो सिजनमै खुमलटार रेलिगनमा पर्दै ‘बी’ डिभिजनमा झरेको हो । यता अर्को नवप्रवेशी क्लब चर्च ब्वाइज भने शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सीमित चर्च ब्वाइजले खुमलटारलाई दुई-शून्य ले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले एक-एक गोल गर्नुभयो । खेलको १२औं मिनेटमा एरिक विष्टको फ्रिकिक पासमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाउनुभयो ।

त्यसपछि तनावपूर्र्ण खेलको पहिलो हाफमा खुमलटारका बेञ्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गरेका थिए । रेफ्रीले खुमलटारको बेञ्चमा रहेका तीन अफिसियल र एक खेलाडीलाई रातो कार्ड दिनुभएको थियो । यता चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड पाउँदै मैदान छाड्नुभयो । रेफ्रीमाथि आक्रामण भएपछि आधा घण्टा खेल रोकिएको थियो ।

आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल थप्यो । इञ्ज्युरी समयमै चर्च ब्वाइजका लागि बेम्पाले वन भर्सेस वनमा फिनिस गर्दै दुई-शून्यको जित दिलाउनुभयो । यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गर्‍यो । खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रहयो ।

यस्तै फ्रेन्ड्स क्लबले अन्तिम खेलमा नेपाल एपीएफ फुटबल क्लबलाई चार-शून्यले पराजित गर रेलिगेसनबाट जोगिएको छ । एपीएफको यो हारले भने अब थ्री स्टार र एपीएफमध्ये एक टोली अर्को सिजन ‘बी’ डिभिजनमा घटुवा हुने हुनेछन् । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिबार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ ।

रेलिगेसन जोगाउन जित निकाल्दै पर्ने खेलमा विभागीय नेपाल एपीएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स क्लबले रेलिगेसन क्षेत्र छाडेको हो । फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा र रफिक अमिनुले गोल गर्नुभयो । फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्दै जित पक्का गर्‍यो ।

खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई एक-शून्यको अग्रता दिलाउनुभयो । पेनाल्टी बक्सबाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले गोल गर्नुभएको थियो ।

२६औं मिनेटमा अर्मान्ड विडोङमा हेडर पोष्ट नजिकैबाट बाहिरिदा एपीएफ बराबरीबाट चुक्यो । ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पार्नुभयो ।

रूपेश केसीको लामो पासलाई विकासले अफसाइड बिट ट्याप गर्दै नियन्त्रणमा लिँदै गरेको प्रहारले जाली चुम्यो । ५२औं मिनेटमा टोरिक जेब्रिनको पासमा रफिक अमिनुको वान भर्सेस वानको प्रहारलाई एपीएफका गोलरक्षक राजु योगीले विफल पार्नुभयो । ७१औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सहज जिततर्फ अघि बढाउनुभयो । ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई चार-शून्यको सानदार जित दिलाउनुभयो ।

यस जितसँगै रेलिगेसन बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक पुगेको छ । पराजित एपीएफलाई भने रेलिगेसनको खतरा कायम छ । समान ३० अंक नै रहेपनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ । अंक तालिकामा एपीएफ १२औं स्थानमा रहे पनि एक अंक कम रहेको थ्री स्टारले अन्तिम दिन जावलाखेलसँग खेल्दैछ ।

अब शनिबार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग बराबरी र हारको नतिजा निस्किएमा एपीएफको रेलिगेसन बच्दा थ्री स्टार रेलिगेसनमा पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?