भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो, बिना पैसा कामै नहुने भयो : नेपाल

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीति विकृत भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पैसाबिना नेपालमा कुनै काम नहुने स्थिति रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ ।’ बिना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र इमानदार पाखा लाग्नुपर्ने स्थिति रहेको भन्दै उहाँले यस्तो अवस्थालाई परिवर्तन गर्न चाहेको बताउनुभयो । ‘असल बन्नसके, भ्रष्टाचारका विरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ,’ पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरण होस् या कुनै पनि कामहरू बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरू होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’

उहाँले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पुँजीवादी बढेको र इमानदार पिल्सिरहनुपर्ने अवस्था भएकाले त्यसलाई आफूहरूले परिवर्तन गर्न चाहेको पनि बताउनुभयो । उहाँले कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी आफ्नो जिम्मेवारी निभाउन पत्रकारसँग आग्रह गर्नुभयो । नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गर्नुभयो । नेपालले भन्नुभयोे, ‘असल कामको चर्चा होस् । समाजमा सबै सकारात्मक-नकारात्मक कुरा हुन्छन् सबै आवस् । आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन । संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । नेपालको संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेकाले रक्षा गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उहाँले भन्नुभयोे, ‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ ।

समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस् । जनतामा चेतना, देशको स्वाभिमान रक्षाका लागि निरन्तर लाग्नुस् । हाम्रो साथ र सहयोग रहन्छ ।’

बरु सरकार छाड्नु परोस्, यथास्थितिमा बजेट पास हुन दिन्नौँ : पाण्डे
सत्तारूढ दल नेकपा एकीकृत समाजवादी (नेकपा एस)का उपाध्यक्ष एवं सांसद राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको बताउनुभयो । यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने उहाँको चेतावनी छ । उपाध्यक्ष पाण्डेले ११० करोड डडेल्धुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिनुभयो । यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको दाबी गर्दै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ । अरू पार्टीहरूको इसारामा चल्दा पार्टी निर्माण गर्न सकिँदैन ।’ उहाँले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा बढी बजेट छुट्याइएको भन्दै विरोध जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?