तीर्थ अधिकारीको कवितासङ्ग्रह ‘मकैका फूलहरू’

सुशीला घिमिरे
Read Time = 6 mins

तीर्थ अधिकारी कविताका क्षेत्रमा चिनिएको नाम हो । उहाँका कविताका आधा दर्जनजति पुस्तकहरू प्रकाशित भएका छन् जसमा यो पछिल्लो कृति हो । विशेषगरी कविताका क्षेत्रमा कलम चलाउँदै आउनुभएको अधिकारीका सहलेखन र एकल दुवै प्रकारका पुस्तक प्रकाशित छन् । पत्रपत्रिकाहरूमा मौलिक रचना र समीक्षा-समालोचना प्रकाशित गर्दै आउनुभएका अधिकारीका सम्पादित पुस्तक तथा पत्रिकाहरूसमेत प्रकाशित हुँदै आएका छन् । ‘मकैका फूलहरू’ उहाँको सहलेखनसमेतमा छैटौं कृति हो र एकलमा पाँचौं ।

यो पुस्तक गद्य कवितासङ्ग्रह हो । गोरखा सर्जक समाज अनामनगर काठमाडौं प्रकाशक रहेको यो पुस्तक डिएमआई साइजमा छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०७६ साल माघमा प्रकाशित भएको छ । भूमिका खण्डमा ४६ र पाठ्यखण्डमा ९० गरी जम्मा १३६ पृष्ठको यस पुस्तकको मूल्य २५० रुपैयाँ छ । किशोर अपसेट प्रेस प्रा.लि.मा मुद्रण भएको यस पुस्तकको छपाइ स्तरीय छ तर कतै कतै अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकमा पहेंलो तौलयुक्त कागजको प्रयोग भएको छ । पुस्तकमा भुवन अर्यालको आकर्षक आवरण छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक रहेको छ र तल कविको नाम छ ।

पृष्ठ आवरणमा फोटोसहित कविताको चनारी दिइएको छ जसअनुसार कवि २०१४ सालमा लप्सीबोट गोरखामा एकनाथ अधिकारी तथा बालिकादेवी अधिकारीका छोराका रूपमा जन्मिनुभएको हो भन्ने जानकारी पइन्छ । उहाँ गोरखा सर्जक समाज, नेपाल स्रष्टा समाज, स्याङ्जा साहित्य प्रतिष्ठान तथा आदर्श खबर मासिकमा सल्लाहकार, विशिष्ट सदस्य, विशेष आजीवन सदस्य र सम्पादक सल्लाकारका रूपमा संलग्न हुनुहुन्छ ।

कवि अधिकारी छन्दका कविताहरू पनि लेख्नुहुन्छ । केही पुस्तक पद्यमै प्रकाशित छन् । उहाँको यो पुस्तक भने गद्य कवितासङ्ग्रह हो । यसमा नारीका अन्तरवेदना, सामाजिकता, बालबात्सल्य, समसामयिक राजनीतिप्रति कटाक्ष, मानवीय व्यवहारप्रति व्यंग्य, प्रकृतिचित्रण, राष्ट्रियता, समयबोधलगायत विविध पक्षलाई विषय बनाइएको छ ।

यसपूर्व उहाँका केही कवि केही कविता सहलेखन-२०४३, सपनामा हराएको विपना कवितासङ्ग्रह-२०६६, सत्ताका किनाराहरू कवितासङ्ग्रह-२०७०, टाँक, कवितासङ्ग्रह-२०७१, जङ्गल कविता सङ्ग्रह-२०७२ कृतिहरू प्रकाशित भइसकेको जानकारी पनि यही पृष्ठबाट पाउन सकिन्छ । उहाँले प्राप्त गर्नुभएका केही मानसम्मान र पुरस्कारहरू तथा तल प्रकाशक संस्था गोरखा स्रष्टा समाजको नाम लोगोसहित उल्लेख भएको छ । यस सङ्ग्रहको विशेषता भनेको यसको भूमिका खण्ड निकै लामो छ । भूमिका खण्डको सुरुमा समर्पण छ र त्यहाँ ‘वचन, अक्षर र व्यवहारमा इमानदार स्वतन्त्रताका उपासकप्रति समर्पित’ भनिएको छ ।

गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपाने, प्रा.पुरुषोत्तम दाहाल, प्रा.डा.भागवत ढकाल, गिरिराज जोशी र कवि अधिकारीका भनाइहरू भूमिका खण्डमा छन् । त्यसपछि विषयसूची छ । यस सङ्ग्रहमा विभिन्न शीर्षकका ३६ वटा कविता छन् । उहाँका कवितका शीर्षकहरू एक शब्ददेखि चार शब्दसम्ममा छन् । चार शब्द र एक शब्दका थोरै छन् र दुई शब्द र तीन शब्दका शीर्षक धेरै रहेका कारण कवि अधिकारी धेरै छोटा र लामा शीर्षक राख्न रुचाउनुहुन्न भन्ने थाहा पाइन्छ । उहाँका कविताका आकार पनि धेरै लामा छैनन् । केही थोरै कविताहरू एक पृष्ठमा अटाएका छन् भने केही कविताहरू तीन पृष्ठका छन् । अधिकांश कविता दुई पृष्ठका छन् र प्रायः एकै प्रकारको आकार र आयतनका पाइन्छन् । अपवादमा एउटा कविता भने पाँच पृष्ठको छ ।

कवि अधिकारी छन्दका कविताहरू पनि लेख्नुहुन्छ । केही पुस्तकहरू पद्यमै प्रकाशित भएका छन् । उहाँको यो पुस्तक भने गद्य कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा नारीका अन्तरवेदना, सामाजिकता, बाल बात्सल्य, समसामयिक राजनीतिप्रति कटाक्ष, मानवीय व्यवहारप्रति व्यंग्य, प्रकृति चित्रण, राष्ट्रियता, समयबोधलगायत विविध पक्षलाई विषय बनाइएको छ । भनिरहनु पर्दैन तीर्थ अधिकारी स्थापित कवि हुनुहुन्छ । उहाँबाट यस प्रकारका अन्य पुस्तक पनि आउने नै छन् । उहाँलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?