पुस्तक : कवितामा जन्मथलोको बयान

रत्न प्रजापति
Read Time = 11 mins

स्वाभाविक रूपमा मानिसलाई आफ्नो जन्मथलो सधैँ प्रिय लाग्छ तर यसो भनेर मानिस सधैँ आफ्नो जन्मथलोमै मात्र बसिरहन पनि सक्दैन । शिक्षा र व्यक्तित्व विकासको अवसर अनि पेशा-व्यवसाय वा जीविकोपार्जनको सरल, सहज र उत्तम आधारको खोजीका लागि आफ्नो प्रिय जन्मथलो छोडेर सात समुद्रपारिसम्म पनि पुगेका छन् मानिसहरू तर पनि आफ्नो जन्मथलोलाई बिर्सन सकेका छैनन् । चरम भौतिक सुख र सुविधाको भोग गरे पनि आफूले दुःख खेपेको ठाउँ अथवा गाउँलाई बिर्सन सकेका छैनन् । घरी घरी आफ्नो जन्मथलोको यादहरू बोकेर सात समुद्रपारि बसेका मानिसका मनहरू कल्पनाको वायुपङ्खी घोडा चढेर छिनभरमै आफ्नो जन्मथलो पुगिरहेका हुन्छन् र आफ्नो हृदयभरिको प्रेम र श्रद्धा त्यहाँसम्म पुर्‍याइरहेका हुन्छन् ।

जतिसुकै भौतिक सुख र सुविधा पाए पनि मानिसले आफ्नो सालनाल गाडिएको र रमाइलो बालापन खेल्दै र कुद्दै बिताएको आफ्नो जन्मथलोलाई चटक्कै बिर्सन भने कदापि सक्दैनन् । आफ्नो जन्मथलोको छायाँ–छवि हरेक मानिसको हृदयमा अङ्कित भएर बसेको हुन्छ । त्यसैले आफू जन्मेको र जीवनको प्रारम्भिक दिन र समय व्यतित गरेको जन्मथलोको मिठो याद र मिठो सम्झना हरेक मानिसलाई आइ नै रहेको हुन्छ । अनि हेरक मानिसलाई आफ्नो जन्मथलो सम्झिँदा हृदय त्यसै त्यसै भारी भएर आउँछ–भावना, प्रेम र श्रद्धाले ।

सिर्जनाको माध्यमबाट आफ्नो प्रिय जन्मथलोलाई सम्झिने र आफ्ना भावोद्गार व्यक्त गर्ने क्रममा सँखुवासभा खाँदबारीका केही दर्जन कवि मनहरूको सिर्जनाको सँगालो प्रकाशित भएको छ ‘कविको आँखामा खाँदबारी’ । यसलाई खाँदबारी सेवा समाजले प्रकाशन गरेको छ ।

यसो त हरेक मानिस स्वयंमा एउटा स्रष्टा पनि हो । जन्मथलोको याद र प्रेमले उसको त्यो स्रष्टाभावलाई मुखरित गरिरहेको हुन्छ । त्यसैले हरेक मानिसले आफ्नो जन्मथलोको प्रेमलाई शब्दमा उनेर आफ्नो भावना व्यक्त गर्ने प्रयास गरेका हुन्छन् । त्यस्तो भावनालाई साहित्यका कुनै माध्यम अथवा विधामार्फत् अभिव्यक्त गरेका हुन्छन् । युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मथलोको सम्झनामा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता लेखे । त्यो निकै चर्चित भयो । स्वरसम्राट नारायण गोपालले त्यो कवितामा आफ्नो सुरिलो स्वर भरेपछि त्यो चर्चित कविता कालजयी गीत बन्यो । त्यसरी नै धेरै स्रष्टाहरूले सिर्जनाको माध्यमबाट आफ्नो जन्मथलोलाई सम्झेर आफ्ना भावोद्गार व्यक्त गर्ने गरेका छन् ।

सिर्जनाको माध्यमबाट आफ्नो प्रिय जन्मथलोलाई सम्झिने र आफ्ना भावोद्गार व्यक्त गर्ने क्रममा सँखुवासभा खाँदबारीका केही दर्जन कवि मनहरूको सिर्जनाको सँगालो प्रकाशित भएको छ ‘कविको आँखामा खाँदबारी’ । यसलाई खाँदबारी सेवा समाजले प्रकाशन गरेको छ भने सम्पादन समूहमा क्रमशः दिनेश थपलिया, लोकमान मास्के, डा.मातृका तिम्सिना, कृष्णबहादुर चापागाइँ, ताराबहादुर बुढाथोकी, चित्रलेखा अधिकारी र बद्री चापागाइँ ‘हिमाली’ रहेका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय खाँदबारीमा जन्मे-हुर्केर शिक्षा, रोजगारी र पेशा-व्यवसायको सिलसिलामा देश तथा विदेशका विभिन्न स्थानमा रहे–बसेका कवि मनहरूको भावोद्गारलाई यस सङ्ग्रहमा समेटिएको छ । खाँदबारीका कविका आँखामा खाँदबारी कस्तो छ भन्ने सुन्दर भावहरू कवितामा व्यक्त भएका छन् । खाँदबारी जन्मथलो रहेका र खाँदबारीसँग जन्मको साइनो रहेका अनि बाहिरबाट गएर केही समय खाँदबारीमा बिताएका गरी कुल ८२ जना स्थापितदेखि नवोदित कविका १०१ कविता-सिर्जना ‘कविको आँखामा खाँदबारी’ कवितासङ्ग्रहमा समेटिएका छन् ।

जानकारहरूले कविताको पनि नियम हुन्छ, संरचना हुन्छ, शैली हुन्छ, सीमा हुन्छ र सिद्धान्त हुन्छ भनेका छन् । ‘कविको आँखामा खाँदबारी’ कवितासङ्ग्रहभित्रका सबै कविताहरू कविताको नियम, संरचना, शैली, सीमा र सिद्धान्तभित्र रहेर लेखिएका छैनन् । अझ भन्नैपर्ने कुरा के हो भने कवि भएर लेखिएका कविता होइनन् यस सङ्ग्रहभित्रका सबै कविताहरू । बरु कविता लेखेरै धेरै जनाले कविको परिचय पाएका छन् । केही अपवाद बाहेक धेरै कविहरूले आफ्नो जन्मथलोको सम्झनामा र आफ्नो जन्मथलोको प्रेमले अभिभूत भएर स्वतःस्फूर्तरूपमा आफ्ना भावनाहरू पोखेका छन् कविताको रूपमा ।

कविताहरू सामान्यस्तरका छन्, तर कवितामा विविधता छ । यसो त कविता भनेर लेखेपछि त्यो कवितै हो । कविता होइन भन्ने हक कसैलाई छैन । यो सिर्जनाको मौलिक हकको कुरा हो ।

कविताहरू सामान्यस्तरका छन्, तर कवितामा विविधता छ । यसो त कविता भनेर लेखेपछि त्यो कवितै हो । कविता होइन भन्ने हक कसैलाई छैन । यो सिर्जनाको मौलिक हकको कुरा हो । जसरी प्राकृतिक सुगन्ध र सङ्गीतलाई कुनै सीमा र सिद्धान्तमा बाँध्न सकिन्न, त्यसैगरी सिर्जनालाई पनि कुनै सिद्धान्तको आधारमा मूल्याङ्कन गर्नु उचित होइन । सिर्जना स्वतःस्फूर्त नै हुनुपर्छ ।

‘कविको आँखामा खाँदबारी’ कवितासङ्ग्रह भित्रका कविताहरूलाई कसरी लेखिएका छन् भनेर हेर्नुभन्दा किन लेखिएका छन् भनेर हेर्नु उचित र सान्दर्भिक पनि हुनेछ । कुनै प्रतिस्पर्धामा समेल हुन लेखिएका होइनन् यी कविता । त्यसैले कविताको ढाँचा-काँचा र वजनको नापजाँच गर्नु उचित हुँदैन । यी त जन्मथलोको सम्झना र प्रेमले ओतप्रोत भएर पोखिएका भावोद्गार हुन् । जन्मथलोप्रतिको प्रेम र समर्पणभाव कविताहरूमा व्यक्त भएका छन् । त्यसैले कवितामा वजन होला-नहोला । स्तर होला-नहोला । तर हृदयको प्रेमले लेखिएका कवितामा हार्दिकता र कोमलता पक्कै छन् र कवितामा खाँदबारीको भूगोल, प्राकृतिक सौन्दर्य, धर्म, संस्कृति र जीवनशैली र तीप्रतिको कविको अनुभूति मुखर भएर आएका छन् ।

कवितासङ्ग्रहको विवेचना गर्दै डा. गोविन्दराज भट्टराईले लेखेका छन्, ‘सबै रचनामा परिष्कृत काव्यतत्व आउन सकेको छैन, तर सर्वाधिक महत्वको कुरा के छ भने मानिसको जन्मस्थानप्रतिको श्रद्धा र समर्पणको भावको अनुभव गर्न कविताभित्र प्रवेश गर्नु आवश्यक रहेछ ।’ डा. भट्टराईसँगै अर्का विवेचक डा. नेत्र एटमले सङ्ग्रहभित्रका कविताहरूको विविध कोण र आयामबाट विवेचना गरेका छन् ।

विवशताभित्र पनि आकांक्षाहरू बाँचेका हुन्छन्, प्रतिकूलताभित्र पनि सिर्जनशीलता मौलाएका हुन्छन् । अनि असहजताभित्र पनि सम्भावनाहरू टुसाउन सक्छनु । मानवीय कर्मबाट संसार बदल्ने मान्छेको निम्ति यो कुनै ठूलो र नौलो कुरा होइन, हुनु हुँदैन । त्यसैले आफ्नै भोगाइ, अनुभव र अनुभूतिको अन्तरमनबाट निसृत सिर्जनात्मक अभिप्रेरणाले नै कुनै पनि विषयको वास्तविक पहिचान दिनसक्छ भन्ने कुरामा एकमत भएर प्रकाशन गरिएको यो कवितासङ्ग्रह खाँदबारीको काव्यिक दस्तावेज नै बन्न पुगेको छ । भविष्यमा खाँदबारीको सिर्जनात्मक अध्ययनका लागि यो सङ्ग्रह सन्दर्भ सामग्रीका रूपमा रहनेछ ।

मित्रता खण्डित हुँदै गएको, मानवता टुक्रिँदै गएको, आत्मीयता भासिँदै गएको, स्वार्थान्धता झाङ्गिँदै गएको र बन्धुत्व टाढिँदै गएको अहिलेको अवस्थामा एकता र सद्भावको सकारात्मक रसायनले जोड्ने साझा चौतरीको रूपमा खाँदबारी सेवा समाज स्थापना हुनु र यसले अनुभूतिको सुन्दर शाब्दिक अभिव्यञ्जना कविताको आँखीझ्यालबाट आफ्नो जन्मभूमिलाई चिहाउने जमर्कोस्वरूप खाँदबारीसँग जन्मको साइनो जोडिएका सिर्जनशील व्यक्तित्वहरूको कविता सिर्जनालाई समेटेर ‘कविको आँखामा खाँदबारी’ प्रकाशन गर्नु स्तुत्य, उदाहरणीय र अनुसरणीय कर्म मान्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?