बैतडीमा लम्पीस्कीन रोगले चारसय पशु मरे, चार हजारमा संक्रमण

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा पशुहरूमा देखिएको महामारी लम्पीस्कीन रोगका कारण साढे तीन सय बढी पशुहरू मरेका छन् । गत तीन महिना यता फैलिएको यस रोगका कारण किसानहरूका गाई, गोरु, भैँसी र बाख्रा मर्न लागेका हुन् ।

हालसम्म उक्त रोगको संक्रमण जिल्लाका चार हजार बढी पशुमा देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका पशु प्राविधिक डाक्टर विशाल पाठकले बताउनुभयो ।

लम्पीस्कीनले पशुहरू मर्न थालेपछि किसान चिन्तित भएका छन् । आफूले पालेका दुई भैँसी र एक गाई लम्पीस्कीनका कारण मरेको शिवनाथ गाउँपालिका २ बस्कोटीका करनसिंह साउदले बताउनुभयो ।

आफूले पालेका पाँच गाईभैसीमध्ये तीन मरेको थप एक भैँसीमा संक्रमण रहेको उहाँले बताउनुभयो । उक्त रोगका कारण आफ्नै टोलमा ३किसानका गोरुसमेत मरेको उहाँले बताउनुभयो । ब्याउने गाईभैसी मरेपछि दुई लाख २० हजारको क्षति भएको साउदको भनाइ छ । गाउँपालिकाभरिबाट गाईभैसी मरेको भन्दै किसानहरू राहत माग्न आउने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । माग आएपनि राहत प्रदानका लागि रकम अभाव भएको उहाँको भनाइ छ । पशुहरू मर्न थालेपछि किसानको रोजीरोटी नै खोसिएको अध्यक्ष साउदले बताउनुभयो ।

अहिले पशुहरूलाई लम्पीस्कीन रोगबाट बचाउनका लागि केही स्थानीय तहका पशु प्राविधिक गाउँघरमै खटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका लगायतका पशु प्राविधिकहरू किसानका घरमा पशुको उपचार गर्न खटिएका हुन् । उचित औषधी मगाएर पशुहरू खोज्दै उपचार गर्ने गरेको दशरथचन्द नगरपालिकाका पशु शाखा प्रमुख ईश्वरीदत्त भट्टले बताउनुभयो । उहाँले सबै वडाहरूमा पशु प्राविधिक खटाएको बताउनुभयो ।

लम्पीस्कीन भाइरसका कारण लाग्ने रोग भएकाले यसको औषधी र खोप नेपालमा उपलब्ध नभएपनि लक्षणहरूको उपचार गर्न सकिने पशु प्राविधिकले बताएका छन् । पशुको शरीरमा देखिने दाग तथा गिर्खाहरू, खुट्टा सुन्निने, दूध घटाउने, खानेकुरा नखाने समस्याहरू देखिने भएकाले आवश्यक उपचार गरिरहेको पशुसेवा विज्ञ केन्द्रका प्राविधिक डाक्टर पाठकले बताउनुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?