सुदूरपश्चिमको नीति तथा कार्यक्रम: प्रतिपक्षको आलोचना, सत्तापक्ष बचाउमा

फाइल तस्वीर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल शुरु भएको छ । प्रदेश सभामा शुक्रबारबाट शुरु भएको छलफलमा सत्तापक्ष बचाउमा उत्रिएका छन भने प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले ल्याएको नीति कार्यक्रममा दीर्घकालिन योजनाहरु समेट्न नसकिएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा सोच परिवर्तन हुन नसकेको र संकुचन रहेको बताउनु भयो । उहाँले भन्नुभयो -‘अहिले मुख्यमन्त्री जताको भयो त्यतैको विकास हुने देखिन्छ । फराकिलो हृदयका साथ नीति तथा कार्यक्रम बन्नुपर्ने थियो, त्यो भएन् । बजेट समावेशी बनोस् ।’

उहाँले नीति तथा कार्यक्रम चुनावी नाराजस्तै बनेको बताउनुभयो । ‘नीति तथा कार्यक्रमले प्रदेशवासीले स्वागतयोग्य गर्ने खालका हुनुपर्छ । खानेपानीको व्यवस्था गर्छु, विद्युत पुर्याउँछुलगायतका कुरा उल्लेख गरेर हुँदैन । यो चुनावी नारा हो । यस्ताे हुनुहुँदैन । प्रदेशका प्रमुख समस्यालाई समाधान गर्ने गरी ल्याउनुपर्थ्यो । त्यो देखिएन् ।’

उहाँले सरकारलाई व्यक्तिमुखी र आत्ममुखी नबन्न सुझाव दिनुभयो । उहाँले चुरेजस्तो संवेदनशिल क्षेत्रलाई संरक्षण गर्न तर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो-‘बुदा नम्बर ५८ मा सामुदायिक वन हष्तान्तरण कार्यलाई व्यवस्थित गर्न तराई, चुरे र महाभारत क्षेत्रमा थप नयाँ सामुदायिक वन हष्तान्तरण गरिने व्यवस्था उल्लेख छ । संघिय सरकारलेनै चुरे संरक्षणका लागि काम गरिरहेको छ । तर, प्रदेश सरकारले चुरेजस्तो संवेदनशिल क्षेत्रमा संरक्षण गर्नतर्फ ध्यान दिएन् ।’ उहाँले सरकारको बजेट बालुवामा पानी हालेको जस्तै नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

स्वतन्त्र प्रदेशसभा सदस्य तथा प्रतिपक्षी नेता तारा जोशीले अनावश्यक खर्चमा रोक लगाउने गरि नीति तथा कार्यक्रम बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -‘अहिले चिडियाखाना आवश्यक हो जस्तो लाग्दैन र यसले प्रदेश सरकारलाई उपलब्धी देला भन्ने पनि देखिदैन । अनावश्यक खर्चमा रोक लगाउनुको सट्टा सरकार आफै त्यो बाटोमा हिडिरहेको छ ।’ उहाँले नीति तथा कार्यक्रमको दस्तावेज चार वर्ष अगाडि ल्याइएको जस्तै रहेको बताउँदै -‘नीति तथा कार्यक्रम हिजोको निरन्तरता भयो । सारमा परिवर्तन छैन । यसले के परिणाम दिन्छ । कर्मकाण्ड जस्तै भयो । त्यहि बाटो हिडेर कसरी गन्तव्यमा पुगिन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टले सरकारले स्वास्थ्य र शिक्षामा प्राथमिकता भने पनि ठोस योजना दिन नसकेको बताउनुभयो । उहाँले एकल महिलाका छोराछोरीलाई पनि विद्यालयमा छात्रवृतिको व्यवस्था गरिनुपर्ने माग अघि बढाउनु भयो । उहाँले भन्नुभयो -‘दलित, असहाय, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित, सिमान्तकृतलगायतका बालबालिकालाई विद्यालयमा छात्रवृतिको व्यवस्था गर्ने नीति लिइएको छ । एकल महिलाले पाएको भत्ताबाट आफना छोराछोरी पढाउनुपर्ने अवस्था छ । उनीहरुलाई पनि छात्रवृतिको व्यवस्था गर्नतर्फ सरकारको ध्यान जाओस् ।’ उहाँले गोदावरी क्षेत्र धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले सरकारले त्यसको विकासका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले प्राविधिक र व्यवहारिक शिक्षामा सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि ग्रामिण र शहरबिचको खाँडल कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो -‘शिक्षा गुणस्तरियमात्र होइन अब प्राविधिक र व्यवहारिक शिक्षा हुनुपर्छ । प्रदेशमा सांस्कृतिक पहिचानसहितको विश्वविद्यालय आवश्यक छ ।’ उहाँले नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै -‘यसलाई कागजमै सिमित राख्नुभन्दा कार्यान्वयन जाने गरि बजेट ल्याउनुपर्छ ।’

नेकपा एकीककृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफनो अधिकार क्षेत्रलाई पहिचान गरि कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -‘प्रदेश सरकारको अधिकार क्षेत्रका काममा बढि ध्यान दिएर बजेट निर्माण गरौं । स्थानीय तहसंग मिलेर अघि बढ्नुपर्छ ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रम उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो -‘नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको छ । तरपनि सुदूरपश्चिम प्रदेशका केही गौरवका योजना थप्नुपर्ने थियो । त्यो भएन । बजेट ल्याउँदा समेटिन्छ भन्ने आशा लिएको छु ।’ उहाँले एक जिल्ला एक उद्योग भन्दा एक निर्वाचन क्षेत्र एक उद्योग निर्माण गर्ने गरि कार्यक्रम बनाउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता मेखराज खडकाले नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटिएको भन्दै सरकारको बचाउँ गर्नुभयो । उहाँले प्रश्न गर्दै -‘नीति तथा कार्यक्रममा राम्रा पक्ष थुप्रै छन् । सभामुखको बायाँपट्टी बसेपछि सबै कुरा खराव देख्ने दिनको अन्त्य कहिले होला ?’
उहाँले वर्षा मौसम शुरु भइरहेकाले सरकारले बाढी, पहिरो तथा डुवानतर्फ ध्यान दिनुपर्ने सुझाव दिँदै भन्नुभयो -‘मेरो निर्वाचन क्षेत्रमा रहेको बैजनाथ धाम मन्दिर पहिरोको जोखिममा रहेको छ । त्यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?