सत्ता टिकाउन रेशम चौंधरीलाई आममाफी दिइयोः काँग्रेस नेता कोइराला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु भएको छ ।

दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो ।

निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उहाँको तर्क थियो । नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले निर्वाचन आयोगलाई हामीहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौं । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजदुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईहरु माझमा राख्न चाहन्छु । सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहिनताको पनि कताकता बढदै गएकोमा मलाई चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरु अत्यन्त गम्भिर हुन्छन भोलीका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । हामीले राजनीतिक स्वतन्त्रता पायौं । संविधान पायौं नि । तपाईहरु, हामीहरु सबै खुशी छौं । तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठ्यारोमा परेका छन ।’

नेता कोइरालाले काँग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अतितबाट सिक्न सके काँग्रेस कमजोर हुने कुनै कारण नरहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?