काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ ।
आईतवार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताउनुभएको हो । उहाँले सो मोर्चा वैचारिक मोर्चा हुने बताउनु भयो । उहाँले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरुलाई मिलाएर लानु पर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ । त्यसमा सहमत भएका पक्षहरुलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरु आउनु हुनेछ । देशभक्तहरु एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ? लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरु एक ठाउँमा हुनु, समाजवादी शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? अर्थात् निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वभाविक ठान्नुपर्दछ । र खुशी हुनुपर्दछ । त्यसैले हामीले समाजवादी शक्तिहरुलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ । जम्मा गरेका छौँ । पहल लिएका छौँ । सक्रियता देखाएका छौँ । यसबाट चिन्तित हुनुपर्ने, आफ्नो बिरुद्धमा कदम चालेको नकारात्मक रुपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरुका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गर्नुभयो । उहाँले यति चाँडै अर्को मोर्चा किन बनाउनुप-यो भनि प्रश्न गर्नुभयो । उहाँले सत्तारुढ दलहरुसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘उहाँहरुसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने शर्तमा हो । यदी लोकतन्त्र नभएको भए अहिले तपाइले र मैले यति कुरा गर्नसक्थ्यौँ ? लोकतन्त्रको पक्षमा उहाँहरु छउन्जेली हाम्रो सहकार्य हुन्छ । मतभेद कयौँ छ । लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरुको जहिलेसम्म निति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ ।’
त्यस्तै, नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले देशलाई स्थिर रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मुलुकलाई स्थिर रुपमा अगाडी बढाउनको लागि सकभर जति सकिन्छ धेरै राजनीतिक दलहरुको बिचमा एकता गर्ने, एकता गर्नका लागि मोर्चा बनाउनुपर्ने आवश्यकता भयो र मोर्चाको तयारी गरिरहेका छौँ । दोस्रो कुरा मुलुकलाई सैद्धान्तिक, वैचारिक रुपमा अगाडी बढाउनुपर्छ । नेपालको कम्युनिस्ट पार्टी, आन्दोलनलाई एकीकृत रुपमा अगाडी बढाउने मनशायका साथ मोर्चा पहिलो खुड्किलोको रुपमा अगाडी बढाएका छौँ । यसलाई हामी पार्टी एकताको प्रक्रियासम्म पु¥याउनेगरी अगाडी बढेका छौँ ।’
यता, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गर्नुभयो । उहाँले सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्न नसक्ने बताउनु भयो । सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तत्कालिक उद्देश्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रुपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला । तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्छ भन्ने सम्भावना चाहीँ अहिलेसम्म मैले देखेको छैन । आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरुको तत्कालिक उद्देश्य देखिन्छ ।’
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दलहरुका बीचमा मोर्चा बन्न लागेको बताउनु भयो । देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले सत्ता साझेदार दलहरुका बीचमा कुनै खट्पट भएर मोर्चा बनाउन नलागेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्ने र संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दल, विभिन्न पात्र र प्रवृत्तिहरुको बिचमा हामीले समाजवादी मोर्चा बनाउन लागेका छौँ । यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो । यसको सरकार सञ्चालनसँग, सरकारलाई सहयोग गर्नका लागि एउटा वातावरण त बन्छ । तर अहिले यो तत्काल सत्ता साझेदार दलका बीचमा कुनै समस्या पैदा भएर त्यसपछ समाजवादी मोर्चा बनाउन खोजिएको होइन । यो विशेषगरी विचारधारात्मक राजनीतिक प्रश्न पनि हो । विचारधारात्मक हिसावले, राजनीतिक, कार्यनीतिक हिसावले हामी एक ठाउँमा उभिन सक्यौँ मुलुकको विकास, समृद्धिको नेतृत्व गर्ने, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर, जनताको इच्छा, आंकाक्षा, राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्ने राजनीतिक दल, पात्र र प्रवृत्तिहरुको केन्द्रीकरणको उद्देश्यले समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो । सरकारमा कुनै समस्या छैन । सत्ता साझेदार दलका बिचमा कहीँ गडबढ भएर , खट्पट भएर यो मोर्चा बनाउन लागिएको होइन ।’
त्यसैगरी नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नफल्ने खेती भएको टिप्पणी गर्नुभयो । उहाँले यो मोर्चाले कुनै लाभ दिन नसक्ने बताउनु भयो । उहाँले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु समाजवादी आन्दोलनकै पक्षमा नभएका बताउनु भयो । उहाँले समाजलाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरुको मोर्चाले केही काम गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘समाजवादी मोर्चा भनिदैछ, यो नफल्ने खेती, बिरुवा नअंकुराउने खेती हो । यसले कुनै लाभ दिन सक्दैन । उहाँहरुले जे आवरणमा, जे ब्यानरमा हामी गर्छौ भनेर कोशिस गर्दै हुनुहुन्छ, जबकी उहाँहरु समाजवादी आन्दोलनको पक्षमा हुनुहुन्न । उहाँहरु कम्युनिष्ट आन्दोलन बलियो बनाउने उहाँहरुको स्पष्ट दृष्टिकोण छैन । उहाँहरुसँग कुनै समाजलाई अगाडी बढाउनको लागि कुनै ठोस कार्यक्रम र योजनाहरु छैनन् ।’
उहाँले सत्तारुढ दलहरुले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाइरहँदा आम जनताले ठिक पार्टी एमाले नै रहेछ भन्ने महशुस गर्न अवसर पाउने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच