काठमाडौं । बुधबारदेखि अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच भएको सहमति एकघण्टा पनि टिक्न सकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो । सोही सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सार्नुभएको थियो । तर, सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएपछि शीर्ष नेतृत्वको सहमति भाँडिएको हो ।
छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो ? भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले ‘भरे देख्नुहुन्छ...’ भन्ने जवाफ दिनुभएको थियो । छलफलपछि संसद् भवन बानेश्वर पुग्नुभएका ओलीले फेरि प्रधानमन्त्री प्रचण्डलाई फोन गर्नुभएको थियो । केहीबेर अघि भेट्नुभएका प्रधानमन्त्रीलाई फोन लगाएर प्रमुख प्रतिपक्षी दलका नेता ओलीले असार १८ को घटनाबारे असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिबारे चासो राख्नुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले आइतबार मात्रै पढेको बताइएको छ । एमाले सांसदहरूका अनुसार बानेश्वरमा पुगेर ओलीले पूरै विज्ञप्ति पढ्नुभएको थियो । त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, अरू नेता र सचिवालयका कसैले पनि ओलीलाई उक्त विज्ञप्तिबारे जानकारी गराएका थिएनन् ।
एमालेका एक सांसदका अनुसार विज्ञप्ति पढेपछि ओलीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गर्नुभएको थियो । ती सांसदका अनुसार प्रधानमन्त्रीसँगको फोनमा अध्यक्ष ओलीले विज्ञप्तिमा एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् भन्नुभएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभए हुन्छ भनेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई चेतावनीपूर्ण भाषा प्रयोग गर्नुभएको थियो । ओलीको प्रश्नको जवाफमा प्रधानमन्त्रीले विज्ञप्ति आफूले नलेखेको र सल्लाह गर्ने बताउनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई बालुवाटारबाट फोन गरेर बैठक सोमबारसम्मका लागि सार्न आग्रह गर्नुभएको थियो । सोहीअनुसार सभामुखले सोमबार ३ बजेसम्मका लागि बैठक सरेको सूचना टाँस्न लगाउनुभएको थियो । शीर्ष नेताहरूबीच भएको भनिएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सोमबारका लागि सरेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
राजीनामाको मागबाट पछि हटेका छैनौँ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सहमति गरेको केही घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद् नखुल्ने दाहोर्याउनुभयो । आइतबार संसद् भवन बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले राजीनामाको माग यथावत् रहेको दोहो¥याउँदै भन्नुभयो, ‘संसद् प्रमले बन्द बनाउनुभएको हो । हामीले होइन । उहाँले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । फिर्ता लिनुभएको छैन । त्यो गम्भीर आरोप कायम राखेर सहमति हुँदैन । राजीनामाको माग कायमै छ । सहमति जुटेको छैन ।’ सहमति भएको तीन घण्टामै ओलीले बोली फेर्नुभएको हो । संसद् प्रधानमन्त्रीका कारण बन्द भएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्नुभयो । के हुँदा सहमति जुट्छ ? भन्ने प्रश्नमा ओलीले भन्नुभयो, ‘राजीनामा चाहियो । हाम्रो राजीनामै माग छ ।’
सिंहदरबारमा भएको छलफलपछि कांग्रेस र माओवादी नेताहरूले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसद्को अवरोध हट्ने बताएका थिए । तर, एमाले नेताहरूले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद् अवरुद्ध हुनसक्ने बताएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले नै बैठक स्थगित गर्न भनेपछि बस्न नसकेको जिकिर गर्दै भन्नुभयो, ‘संसद्मा हामीले उठाएका कुराको चित्त बुझ्ने गरी बोल्नुभएमा मात्रै सदन चल्न दिने भनेका थियौँ । चित्त बुझ्ने गरी, जिम्मेवारीअनुसार बोल्नुभएन भने विरोध गर्ने कुरा त छँदै छ । मिटरब्याजी विधेयक एमालेका कारण अगाडि बढेन भन्ने कुरा तथा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले चालेका कदमको विरोधमा संसद् अवरोध गरेको भन्ने कुरा लेखिएको विषयमा प्रष्ट पार्नुस् भनेर अध्यक्षले भन्नुभएको हो । यसरी अनर्गल, झुटो आरोप लगाउन पाइँदैन यसमा पनि जवाफ दिनुस् भन्यौँ ।’ ती सबै कुरामा प्रधानमन्त्रीले ‘प्रतिपक्षीको चित्त बुझ्ने गरी’ जवाफ दिनुपर्ने नत्र संसद् चल्न नदिने गिरीको भनाइ थियो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद् भवनमा पुगेपछि एमालेले बोली फेरेको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद् खुलाउने सहमति भएको थियो । सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने आयो । एमालेले कुरा फेरेको रूपमा बुझ्यौँ र आजको बैठक बस्न सकेन । सरकार आफैँले हाउस चलाउन नसकेको हो भन्ने पार्न उहाँहरूले प्रधानमन्त्रीलाई बोल्न दिन लाग्नुभएको हो । संसद् खुल्ने कुराको सुनिश्चितता नभई बित्थामा प्रधानमन्त्री किन बोल्नुहुन्छ ?’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि एमालेका नेताहरूले संसद्को अवरोध हटाउने सहमति भएको छैन है भन्ने सन्देश पठाएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको जवाफबाट प्रमुख प्रतिपक्षीको चित्त बुझे मात्रै चल्ने सर्तले संसद् अगाडि नबढ्ने उहाँको भनाइ छ । एमालेले संसद् अवरोध गरिरहने निहुँ प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तिलाई बनाएको आरोप लगाउँदै प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘शीर्ष नेताहरू बसेर सहमति भयो । शीर्ष नेताहरूबीच भएको सहमतिको विषय संसद् खुलाउने थियो । फेरि २१ गतेको प्रेस नोटको कुरा उठाउनुभयो भन्ने छ । आज त २४ गते हो । त्यो विज्ञप्ति निहुँ मात्रै हो जस्तो लाग्छ । ‘प्रधानमन्त्री त आफ्ना कुरा राख्न तयारै हुनुहुन्थ्यो ।’ प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले भने प्रधानमन्त्रीको जवाफ सुन्न संसद् पुगेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक भोलिलाई सारिएको सूचना आएको जिकिर गर्दै भन्नुभयो, ‘जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि ? किन सारिएछ कुन्नि ?’
‘प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत’: शर्मा
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभयो । त्यस्तै, प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको टिप्पणी गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसद्को, सांसदहरूको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्याउने गरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी राजीनामा माग्ने काम पनि एमालेबाट बेठिक भएको हो ।’ कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटी देखाएको आरोप लगाउनुभयो ।
संसद् तीन नेताको मुडमा चल्दैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् तीन नेताको मुडमा चल्न नसक्ने बताउनुभएको छ । महत्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद् तीन नेताको मुडअनुसार चलाउन खोजिएको आरोप लगाउँदै सभापति लामिछानेले भन्नुभयो, ‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नुभयो । गम्भीर विषय बोल्नुभयो । यसबारे जवाफ दिनुपर्छ । सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ । एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो । यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि, एमालेले बोलेपछि सबै प्रतिपक्षले बोले । त्यसो होइन, रास्वपाको आफ्नै अडान मुद्दाहरू छन् । कतिपय मुद्दामा समान धारणा हुन सक्छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच