आज २०८० असार २६ गते मंगलबार । आजभन्दा ठिक तीन वर्ष पहिले २०७७ श्रावण ६ गते मंगलबारका दिन हिमालय टाइम्सले मेरो पहिलो आर्टिकल प्रकाशित गरेको हो । त्यसपछि सधैं मंगलबारका दिन लगातार तीन वर्ष यस पत्रिकामा समसामयिक विषयमा लेखिएका मेरा लेखहरू निरन्तर प्रकाशित हुँदै आएका छन् । यसरी निरन्तर तीन वर्षसम्म मेरा विचारलाई सार्वजनिक गर्ने हिमालय टाइम्सका प्रधान सम्पादक आत्मीय मित्र पुरुषोत्तम दाहालमार्फत हिमालय टाइम्स परिवारलाई आजको विशेष दिनमा हार्दिक धन्यवाद दिन्छु । यो तीन वर्षको अवधिमा मेरा लेखलाई पढेर लिखित साथै मौखिक टिप्पणी गर्ने देशभित्रका र देशबाहिरका आदरणीय पाठकलाई हार्दिक धन्यवाद दिन्छु ।
यसका साथै बिहान ५.३० बजेदेखि ६.०० सम्म नेपाली रेडियो नेटवर्क नामक एफएमबाट र त्यस एफएमसँग जोडिएका अन्य धेरै एफएमहरूबाट प्रसारित हुने कार्यक्रमको नेपाली खबर कार्यक्रममा नेपालका महत्वपूर्ण पत्रपत्रिकामा प्रकाशित प्रायः सबै विषयवस्तुहरू प्रस्तुत हुन्छन् । बाहिरी र भित्री सबै पृष्ठहरूबाट सामग्री प्रशारण हुन्छन् । त्यस कार्यक्रमको अन्तिम चरणमा प्रसारित हुन्छ विचार विश्लेषण । विचार विश्लेषणअन्तर्गत नेपालका मुख्य–मुख्य पत्रिकामा प्रकाशित लेखहरूबाट छानिएका केही लेखहरूको सारांश प्रस्तुत गरिन्छ । मंगलबारका दिन प्रायःजसो आफ्नो लेखको सारांश सुन्दा छुट्टै आनन्दानुभूति हुनु स्वाभाविकै भन्नुपर्छ ।
अरूले लेखेको विषयलाई आलोचना गर्न जति सजिलो छ लेख्ने काम बोल्न जस्तो सजिलो छैन । फेरि पत्रपत्रिकामा प्रकाशित हुने लेखका पाठकहरूको स्तर समान नहुँदा सबैले बुझ्ने भाषा र शैलीको खोजी अर्को चुनौतीपूर्ण विषय थियो ।
एउटा लेखकलाई विश्वभरका नेपालीले सुन्ने रेडियोले आफ्नो लेखलाई स्थान दिएकोमा आनन्द नहुने त कुरै भएन । नेपाली रेडियो नेटवर्कको विचार विश्लेषण नामक प्रसारणले पनि नियमित लेख्न उत्प्रेरित गरेको विषयका सन्दर्भमा नेपाली रेडियो नेटवर्क परिवारलाई धन्यवाद दिन्छु । साथै यसै सन्दर्भमा एउटा सुझाव पनि दिन्छु कि विचार विश्लेषणलाई छुट्टयाइएको समयलाई पुनर्विचार गरेर अझ थप विचार प्रसारण गर्दा रेडियोको लोकप्रियता अझै बढ्न सक्थ्यो कि ? लेख्ने वातावरण र परिवेशका लागि मेरी अर्धांगिनी पूर्वराजदूत डाक्टर मायाकुमारी शर्मालाई हृदयतः धन्यवाद दिन्छु । आगामी दिनमासमेत त्यो भूमिका निर्वाह हुने कुरामा विश्वस्त छु । मित्र पुरुषोत्तम दाहालले हिमालय टाइम्सको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेपछि स्तम्भ लेखनको विषयमा वार्तालाप भएको भर्खरै जस्तो लाग्छ ।
आज त तीन वर्ष बितेछ । समय बित्न बेरै लाग्दो रहेनछ । त्यो कोरोनाको संक्रमणको समय थियो । कोरोनाको प्रकोपभन्दा त्यसको विषयमा हुने चर्चाले मनमा डर र त्रासले डेरा जमाएको थियोे । कोरोनाबाट संक्रमित र मृत्युु हुनेहरूको समाचारले सबैको आत्मबल कमजोर बनाएको थियोे । कोरोनाले छुनुभनेको सम्बन्धित मानिस र त्यो परिवार बाँकी समाजबाट एक्लिने अवस्था थियोे । लकडाउनमा घरबाट बाहिर निस्कनु नै अपराध कर्मभित्र पर्दथ्यो । बाहिर निस्कनु भनेको कोरोना रोग लिन जानु हो अर्थात् मृत्युलाई निमन्त्रणा गर्ने भन्ने बुझिन्थ्यो । त्यस मानसिकतामा लेखनको प्रस्ताव सजिलै स्वीकार गर्ने अवस्था थिएन । त्यसैले होला मैले कोसिस गर्छुमात्र भनेँ ।
त्यसपछि दाहालले विश्वविद्यालयको प्राध्यापन क्षेत्रबाट सेवा निवृत्त केही मैले राम्ररी चिनेका साथीहरूको नामै लिएर लेख्न अनुरोध गरे तर तिनीहरूसँग अभ्यास नभएकोले आँट नै गरेनन् भन । मैले यसअघि कान्तिपुर, गोरखापत्र र नेपाल समाचार पत्रमा छिटपुट र राजधानी दैनिकमा पुरुषोत्तम दाहाल नै सम्पादक भएको बेला थुप्रै लेखहरू प्रकाशित भएकाले पनि अभ्यास गर्दा लेख्न सक्छु भन्ने आत्मविश्वासका कारण नै कोसिस गर्छु भनेको हुँ । कोसिस शब्दभित्र मेरो लेख्ने प्रतिबद्धता थियो जसलाई मैले त्यसबखत सिधंै व्यक्त गरिनँ । त्यसपछि लेखनको वातावरण कसरी बनाउने भन्ने चिन्ता थपियो । त्यसपछिको लेखनसँग सम्बन्धित पहिलो वार्तालाप तत्कालै लेखक तथा कवि गोविन्दराज विनोदजीसँग भयो ।
त्यस दिनको वार्तालाप स्तम्भ लेखनसँग मात्रै केन्द्रित भयो । तीन वर्ष बितिसक्दा पनि आजै जस्तो लाग्छ । विनोदीजीले मलाई लेख्न सधैं उत्प्रेरित गरिरहने हँुदा उहाँले लेखनका पक्षमा तर्कहरू दिएर थप उत्साहित गर्नुभयो । कोरोनाको समयमात्रै नभएर मनस्थिति पनि कोरोना संक्रमित थियोे । बाहिर हिँड्न प्रतिबन्धमात्रै होइन डर र जोखिम पनि थियोे । कोरोनाको संक्रमण र मृत्युका समाचारले झन् मनमा डर र त्रास थपिन्थ्यो । किन हो हामी दुईजना श्रीमान् र श्रीमतीबीच पनि वार्तालाप कम भएको अनुभूति हुन्थ्यो ।
त्यस बेलाको चिन्ता, चिन्तन र ध्याउन्न भनेको कसरी, के के खाँदा, के के गर्दा र कस्तो जीवनशैलीले कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने विषयको खोज, अनुसन्धान, अध्ययन जस्ता विषय नै प्रथम प्राथमिकतामा थिए । कोरोनाबाट बच्ने अध्ययन र ध्यानबाहेक अन्य विषयको अध्ययन र लेखनको वातावरण नहुँदा नहुँदै पनि स्तम्भ लेखनको खाका कसरी कोर्ने, कसरी लेख्ने, के विषयमा लेख्नेजस्ता विषयहरूमा बलजफ्ती मन र मस्तिष्कलाई केन्द्रीकृत गरेको हिजो जस्तो लाग्छ । लेख्दै, कोर्दै, सोच्दै, कहिले आशावादी त कहिले निराश हुँदै लेख्न सुरु गरेका क्षण सम्झँदामात्रै पनि अहिले मन आत्तिन्छ । लेख्ने विषय भन्न जस्तो सजिलो छैन ।
अरूले लेखेको विषयलाई आलोचना गर्न जति सजिलो छ लेख्ने काम बोल्न जस्तो सजिलो छैन । फेरि पत्रपत्रिकामा प्रकाशित हुने लेखका पाठकहरूको स्तर समान नहँुदा सबैले बुझ्ने भाषा र शैलीको खोजी अर्को चुनौतीपूर्ण विषय थियो । स्तम्भ लेखन कहाँबाट सुरु गर्ने, के विषयबाट सुरु गर्ने, के शीर्षक राख्ने, प्रस्तुतीकरण कसरी गर्ने, विषयवस्तुलाई स्तरीय र रोचक बनाउन के के गर्ने भन्ने विषयले अब कोरोनाको भय, डर र त्रासलाई विस्तारै घटायो । स्तम्भ लेखनसँग सम्बन्धित विविध समस्यामा मन केन्द्रीकृत हुन थाल्यो । अब कोरोनाको भयग्रस्त मनस्थितिबाट विस्तारै बाहिर निस्केर स्तम्भ कसरी लेख्ने, कसरी भाषा, विषयवस्तु र प्रस्तुतिलाई स्तरीय र आकर्षित बनाउने भन्ने चिन्तन, सोच र दृष्टिकोणले मनमा डेरा जमाउन थाल्यो ।
करिब एक दशकपछि स्तम्भ लेखन पुनः सुरु गर्ने विषय मेरा लागि पटक्कै सहज थिएन । कोसिस गर्छु भन्ने वचनले मलाई दबाब दिन थाल्यो । यसअघि मन मस्तिष्कमा रहेको कोरोनाको डर र त्रासको ठाउँ त अब लेखनको खाका, विषयवस्तु, भाषा, शब्द चैनजस्ता विषयले लिन थाल्यो । खाने र सुत्नेबाहेकको समय अब लेखपढमा बित्न थाल्यो । अब लकडाउनले सिर्जना गरेको एकान्तपनले दिएको एकाग्रताले लेखपढलाई विशेष ऊर्जा र उत्साह दियो । पूराका पूरा समय लेखपढमा दिँदा कोरोनाको संक्रमण र मृत्युका समाचार सुन्ने समय पनि घट्यो । लेखनको सकारात्मक प्रभाव के प¥यो भने कोरोनाको डर र त्रासलाई लेखनको चिन्ताले विस्थापित गर्यो ।
तत्कालीन परिवेशमा यो ठूलो उपलब्धि भन्नुपर्छ । अब चिन्ताको सुरुवात भयो लेखनको । के लेख्ने, कसरी लेख्ने, के गर्दा लेख स्तरीय र रोचक हुन्छ भन्ने विषयले प्राथमिकता पायो । अब प्रायःजसो नेपाली पत्रपत्रिकामा प्रकाशित लेखहरूलाई मिहिनेतका साथ लेखकीय आँखाले पढ्न थालेँ । समाचार पनि लेख्ने विषयवस्तु पाइन्छ कि भनेर सुन्न थालेँ । समाचार सुन्दा वा गफगाफका क्रममा पनि लेखनलाई सहयोग हुने शब्दहरू टिप्न कलमलाई साथी बनाउन थालेँ । अब मेरो जप, तप, चिन्ता, चासो, चिन्तन सपना विपना सबै लेख र लेखन कलाको विकासमा केन्द्रीकृत हुन थाल्यो ।
असारको अन्तिम हप्तामा एकैपटक दुईवटा लेख पुरुषोत्तम दाहालको इमेल ठेगानामा पठाएँ । त्यस बेला मलाई टाइप गर्न इमेल गर्न पनि आउँदैनथ्यो । टाइप मोबाइलबाहेक ल्यापटप र डेस्कटप प्रयोग गर्न अहिले पनि आउँदैन । त्यसबखत इमेल पठाउन ढंग थिएन । पूरै लेख मोबाइलबाट टाइप गर्ने अर्को चुनौती थियो । अभ्यास गर्दै जाँदा विस्तारै सहज नभई सुखै थिएन । प्रतिबद्धता र संकल्पका अगाडि समस्याहरू आफैं नतमस्तक हुन्छन् भन्ने कुरा अहिले आफैंले आफैंलाई उदाहरण बनाएको छु । हिजोका दुःख र संकट लगनशीलता र अभ्यासले आज आनन्दमा रूपान्तरण भएको छ । हिजो कनीकुथी गरेको टाइप र कनीकुथी गरेको इमेलको घटनालाई सम्झँदा मन आत्तिन्छ ।
म त्यति बेलासम्म नेटमा हिमालय टाइम्स पढ्न पनि जाँदिनथेँ । दुई-दुईवटा लेख पुरुषोत्तमलाई पठाएपछि न फोन गरेँ न पत्रिका नै खोलेर पढेँ । पहिलो लेख २०७७ साउन ६ गते मंगलबार प्रकाशित भएछ । मलाई के थाहा ? फेरि अर्को २०७७ साउन १३ गते मंगलबार प्रकाशित हुँदासमेत मैले कुनै चासो राखिन । १३ गते दोस्रो लेख प्रकाशित भएपछि प्रधान सम्पादकको फोन आयो । अरू कुरा नै नगरिकन आफ्नो लेख आफैंले नपढ्नेको लेख अरूले पढ्छ भन्ने आवाजले झल्यास्स भएँ । कसरी पढ्ने भनेर सोधेपछि मात्रै नेटमा आफ्ना दुवै लेख पढेँ । केही काटिएको पाएँ ।
सुरुवातमा विषयवस्तु खोजी गर्न कठिन हुन्थ्यो तर जहाँ राजनीतिक बेथिति हुन्छ, कुशासन, भ्रष्टाचार, अनियमितता, नातावाद, फरियावाद हाबी हुन्छ त्यस समाज र परिवेशमा लेखनका विषयवस्तु फालाफाल हुँदा रहेछन् । राजनीतिक विकृतिलाई उधिन्दा सुधार हुन्छ कि भन्ने विश्वास भने धर्मराएको छ ।
सम्पादकले सम्पादनको क्रममा काटे होलान् भन्ने लाग्यो । मलाई शब्द गन्ने ज्ञान थिएन । म दुई हजारका हाराहारीमा पठाउँदो रहेछु । प्रिन्ट संस्करण पनि भएकोले १२ देखि १३ सय शब्दमात्रै अट्ने हुँदा बाँकी काट्नु परेको थाहा भयो । एक दिन त आफैंले लेखेका शब्द कति भए भनेर गन्न थालेँ । त्यो असम्भव जस्तो भयो । निराश भएँ । प्रविधिको आज्ञानतालाई सम्झँदा धिक्कार पनि लाग्छ । त्यसपछि सिम्पल नोटप्याड भन्ने एप्लिकेसन डाउनलोड गरेँ । त्यसबाट शब्दको संख्या सजिलोसँग थाहा हुँदा खुशीको सीमा रहेन । त्यसपछि कुनै काँटछाँट नभइकन सबै लेख आउँदा अर्कै आनन्द भयो । आनन्द पनि समयमा निर्भर गर्दो रहेछ ।
समयक्रममा फेसबुकमा र मेसेन्जरमा पनि पोष्ट गर्न सिकेँ । अब धेरैले पढ्ने, टिप्पणी गर्ने, सल्लाह दिने, सुझाब लिने वातावरणसँगै फरक परिवेश बन्यो । केही साथीहरूले मसिनो गरी पढेर विषयवस्तु, प्रस्तुतीकरण कला, भाषा आदि विषयहरूमा सल्लाह र सुझाबले सुधार र परिमार्जनको सुरुवात भयो । सुधार फेरि कहिल्यै अन्त्य नहुने हुँदा यो क्रम सधैं नै रहने रहेछ । समयक्रममा सुझाहरूले सुधारलाई दबाब दियो । जसले काम गर्छ उसले गल्ती गर्छ भन्ने सिद्धान्त ममा पनि लागू भयो । सुझाबलाई कार्यान्वयन गर्न अन्य लेखकहरूका लेखहरू अझ धेरै पढ्न थालेँ । अहिले नेपालका प्रायःजसो धेरै पत्रिकामा प्रकाशित लेख पढ्छु । साथै बेलाबेलामा भारतीय पत्रपत्रिकामा प्रकाशित लेखहरू पनि पढ्ने बानी बसालेँ ।
सेवा निवृत्त जीवनको समयलाई सदुपयोग गरेको अनुभूति भएको छ । नेपाली नेताहरूका बेतुकका भाषण सुन्न आमसभामा जान छोडेँ । समाचार सबै जसो सुन्छु, पढ्छु पनि । त्यसकै आधारमा उनीहरूको क्रियाकलाप, आचरण, कार्यशैली, जीवनशैली जस्ता चित्त नबुझेका, समाजले पचाउन नसकेका समसामयिक विषयमा खरो टिप्पणी गर्ने लेखकको रूपमा छुट्टै पहिचान बनेको छ । सुरुवातमा विषयवस्तु खोजी गर्न कठिन हुन्थ्यो तर जहाँ राजनीतिक बेथिति हुन्छ, कुशासन, भ्रष्टाचार, अनियमितता, नातावाद, फरियावाद हावी हुन्छ त्यस समाज र परिवेशमा लेखनका विषयवस्तु फालाफाल हुँदा रहेछन् । राजनीतिक विकृतिलाई उधिन्दा सुधार हुन्छ कि भन्ने विश्वास भने धर्मराएको छ ।
केही पाठकहरू अहिले राजनीतिक लेख पढ्न रुचि नराख्ने अवस्थाले अब गैरराजनीतिक लेख लेख्ने अभ्यास गर्न विवश छु । सेवा निवृत्त जीवन तीर्थयात्री हुन र नयाँनयाँ ठाउँको अवलोकनमा खर्चेने मनस्थितिका कारण घरमा भन्दा घरबाहिर बढी समय बित्छ । बाहिर हुँदासमेत नियमित अभ्यासका कारण अपवादमा एकदिन बाहेक सधैं नियमित पठाउने गरेको छु । तीन वर्षको अवधिमा एकदिन तमिलनाडुको रामेश्वरममा रहँदा लेख्न सकिन भने एकदिन डेंगुबाट आफैं संक्रमित भएको अवस्थामा लेख्न सकिन । नियमितताका लागि सधैं सचेत हुँदाहुँदै पनि शारीरिक अस्वस्थताका अगाडि हार्नुको विकल्प रहेनछ ।
लेखनका माध्यमले आफ्ना दृष्टिकोण र विचारलाई आफैंभित्र कैद गर्नु अपराध हो भन्ने सिद्धान्तले निकास पाएको छ । आफ्ना धारणाहरूले विद्वान पाठक पाएको छ । लेखले छलफल, चर्चा, विश्लेषण, बहसले उत्प्रेरणा साथै सुझाब र खबरदारीसमेत दिएको छ । विकास, सुधार, ज्ञान चाहना आदिको अन्य हुँदैन भन्छन् । सुधार र ज्ञानको खोजीमा दिनहरू बित्ने विषय जोकोहीलाई सन्तोष दिन्छ नै । अब अर्को मंगलबारबाट चार वर्षे अभियान प्रारम्भ हुन्छ । सबै पाठकहरूको शुभेच्छा र आत्मीय समालोचनाको अपेक्षा गर्दै सबै लेखन वातावरण बनाउने शक्तिलाई नमन गर्दै कलम बन्द गर्छु । जय पाठक ¤ जय सरस्वती माता ।
Congratulations for the commendable remarks on the contemporary issues
Really discharging the role of aWatch-Dog
१ शिर्षक खोज्न मिहिनेत गर्न नपर्न भो
२ बर्तमान स्वास्थ्य मन्त्रीले आज नया शि
र्षक दिएका छन।
३ अब पाठक पनि खोज्न नपर्ला कि ?
४सामग्रीमा कुनै सिकायत छैन।
चार वर्षे टुकुटुकु हिड्न लागेको लेखकलाई नमन ।