काठमाडौं । पाकिस्तानी खेलाडीहरूको सानदार प्रदर्शनपछि टिपटप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।
निकै कडा प्रतिस्पर्धा भएको खेलमा हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हात पार्दै फाइनल सम्भावना मजबुत बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो । उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा अन्तिम सेटमा हेल्प नेपालले जित हात पार्न सफल भएको हो ।
अन्तिम सेटको अन्तिम समयमा हेल्प नेपालले २२–२२ बराबरी अवस्थाबाट लगातार दुई अंक बटुल्दै जित पक्का गर्यो । हेल्प नेपालको जितमा दुई पाकिस्तानी खेलाडी माजहर र ऐमल खानले सानदार प्रदर्शन गर्नुभयो । पुलिसले सानदार प्रदर्शन गरे पनि जित भने निकाल्न सकेन । पुलिस पराजित भए पनि विशाल विक, रविन चन्द, सफल विक र कुलबहादुर थापाको प्रदर्शन उच्च थियो ।
यस्तै, शैलुङ बागढुंगा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमाञ्चक जित हात पा¥यो । फाइनल दौडबाट बाहिरिसकेको शैलुङले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा शैलुङले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो । पहिलो सेटमा विजयी भएको शैलुङले त्यसपछि लगातार दुई सेट गुमाएको थियो । चौथो र पाँचौँ सेटमा जित निकाल्न सफल भयो ।
शैलुङले अब अन्तिम खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्नेछ । दावालीले आफ्नो अन्तिम खेल शुक्रबार गण्डकीसँग खेल्नेछ । गण्डकी पनि लगातार चार हारका साथ बाहिरिसकेको छ ।