एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तान भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

कोलम्बो । एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान ‘ए’ भिड्ने भएका छन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो । भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ ।

त्यसअघि पि सारा ओभल कोलम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ५० ओभरमा ३ सय २२ रनमा अलआउट भएको थियो । पाकिस्तानका ओमैर युसुफले ७९ बलमा १० चौका र एक छक्कासहित ८८ रन बनाउनुभयो । त्यस्तै, कप्तान मोहम्मद हरिस ५२, मुबासिर खान ४२, मोहम्मद वासिम जुनियर २४ र सैम अयुब २२ रनमा आउट हुनुभयो ।

श्रीलंका ‘ए’ का लाहिरू मराराकोन, प्रमोद मदुशान र चामिका करुणारत्नेले समान दुई विकेट लिनुभयो । जितका लागि ३२३ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २६२ रनमा अलआउट भयो ।

श्रीलंकाका सहान अर्चाचिगेले १०९ बलमा १२ चौका र एक छक्कासहित ९७ रन बनाउनुभयो । त्यस्तै, अर्का ओपनर अविष्का फ्रेनान्डोले ८५ बलमा १२ चौका र दुई छक्कासहित ९७ रनको इनिङ खेले पनि जिताउन सक्नुभएन । यी दुई ब्याटरबाहेक अन्य कुनै पनि श्रीलंकाका खेलाडीले रन बनाउन सक्नुभएन ।

पाकिस्तानका तीव्र गतिका बलर अर्शद इकवालले ७.४ ओभरमा ३७ रन खर्चेर पाँच विकेट लिनुभयो । मुबासिर खान र सुफियान मुकिमले समान दुई विकेट लिनुभयो । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *