बँदेलले मकैबाली खाँदा किसान चिन्तित

रासस
रासस
Read Time = 5 mins

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका-३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो ।

पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताउनुभयो । “सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो”, उहाँले भन्नुभयो, “तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ ।” उपाध्यायले सात कठ्ठा बारीमा लगाउनुभएको मकै बँदेलले नष्ट गरिदिएको बताउनुभयो ।

“केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए”, उहाँले भन्नुभयो, “यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ ।” निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ । “हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए”, उहाँले भन्नुभयो, “आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो ।”

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पुर्‍याएको स्थानीय टीका सापकोटाले बताउनुभयो । “दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ”, उहाँले भन्नुभयो, “दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन ।” बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताउनुभयो ।

“मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ”, उहाँले भन्नुभयो, “बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो ।” गाउँमा जङ्गली जनावरको आतङ्कका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो । यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । “बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ”, उहाँले भन्नुभयो, “राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरुको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।” निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ ।

वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उहाँले बताउनुभयो । मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिङ्गर, जङ्गली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उहाँको भनाइ छ । निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्याङ्कनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?