काठमाडौं । ‘कृषिमा लगानी, बालुवामा पानी’ को अवस्था चिर्ने गरी पछिल्लो समय कृषिमा निजी क्षेत्रको लगानी बढ्दै गएको छ । खासगरी कर्पोरेट हाउसहरूको प्रवेशसँगै कृषि क्षेत्र कृषि यान्त्रिकीकरण र व्यावसायीकरणतर्फ उन्मुख हुँदै गएको हो । कृषिजन्य उत्पादनको प्रशोधन र बजारीकरणमा मात्रै सीमित रहेका कतिपय कर्पोरेट हाउसहरू उत्पादनमा समेत केन्द्रित हुन थालेका छन् । जसका कारण उत्पादनसँगै ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुँदै गएको छ ।
दुई दशकदेखि पशुपन्छी तथा दानाजन्य उत्पादनमा सफल कृषि कम्पनीका रूपमा पहिचान बनाएको श्रीनगर कम्पनीले वार्षिक एक सय करोडको कारोबार गरिरहेको छ । हाल श्रीनगर एग्रिटेक इण्डस्ट्रिज लिमिटेड बनेको कम्पनीले एक वर्षभित्र साधारण सेयर (आइपिओ) को समेत तयारी गरेको छ । जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इण्डस्ट्रिजबीच आइपिओ निष्कासन सम्झौता भइसकेको छ । श्रीनगरमा पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी आबद्ध रहेको कम्पनीले जनाएको छ । यसअघि श्रीनगर एग्रो फार्म प्रालिका रूपमा रहेकोमा लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीमा रूपान्तरण भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष सय करोडभन्दा बढी कारोबार गरेकोमा आगामी वर्ष कम्तीमा पनि डेढ सय करोड कारोबारको लक्ष्य लिएको छ ।
सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्र, जलविद्युत्, बिमालगायतका क्षेत्रले आधिपत्य जमाइरहेका बेला कृषि कम्पनी लगानीकर्ताको थप आकर्षणको केन्द्र बन्न सक्नेमा कम्पनीका अध्यक्ष सतिशचन्द्र श्रेष्ठ आशावादी देखिनुहुन्छ । किनभने प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेको श्रीनगर पब्लिकमा गएपछि थप योजना र लगानीले आम्दानी पनि बढ्ने भएकाले लगानीकर्तालाई पनि बढी प्रतिफल दिन सक्ने उहाँको जिकिर छ ।
काठमाडौंको बालाजुको एउटा कुखुरा फार्मबाट सुरू भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रित भएर हाल नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ । बैंकिङ क्षेत्रमा राम्रो क्यारियर बनाउनुभएका श्रेष्ठ आकर्षक कमाइको मोह त्यागेर कृषिमा होमिनुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘मेरो पृष्ठभूमि बैंक हो । बैंकिङ क्षेत्रमा काम गरिरहँदा सिटी बैंकको राम्रै जागिर छाडेर कृषि क्षेत्रमा रमाउन खोजेको हुँ, केही उतारचढाव थाती राख्ने हो भने श्रीनगर एग्रोको पछिल्लो दुई दशक बढीको यात्रा निकै सफल र सन्तुष्ट यात्राका रूपमा मैले लिएको छु ।’ श्रीनगरले दुई–चार हजार कुखुराको पोल्ट्री फार्मबाट काम सुरु गरेको थियो । हाल पशुपालन र दानाजन्य उत्पादनमा विश्वासिलो ब्राण्ड बनिसकेको श्रीनगरको आगामी योजना खाद्यमा आक्रामक लगानीको रहेको छ ।
प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेको श्रीनगर पब्लिकमा गएपछि थप योजना र लगानीले आम्दानी पनि बढ्ने भएकाले पनि अन्य कम्पनीभन्दा कृषि कम्पनीले बढी कमाइ दिने श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन, यसले त आमउपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ, अर्थतन्त्रलाई पनि कृषिले बढावा दिन्छ, आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो ।’
श्रीनगर हाल फार्म (चल्ला, कुखुरा र अण्डा) र दाना उद्योगमा सफल मानिन्छ । किनभने श्रीगर एग्रो नेपालको पहिलो आइएसओ ९००१:२०१५ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म पनि हो । अब फुड, तयारी कुखुरा, प्रोसेस्डमा पनि अघि बढ्ने कम्पनीको तयारी छ । श्रीनगर एग्रो सुरूमा प्यारेन्ट चल्ला उत्पादन तथा सप्लाइमा केन्द्रित थियो । कम्पनीले विस्तारै वन स्टेप सोलुसनको अवधारणाअनुसार योजना अगाडि बढाएको हो । जसअनुसार किसानका लागि आवश्यक बिउ र चल्लादेखि दानासम्म सप्लाइ गर्ने र उत्पादनको बजारको ग्यारेन्टी गर्ने काम गरिरहेको छ ।
किसान तथा एग्रोभेटका लागि आवश्यक पर्ने सेवाको समेत उपलब्धताले पनि श्रीनगरले विश्वास कमाएको देखिन्छ । करार खेतीका माध्यमबाट पनि कम्पनीले काम गरिरहेको छ । श्रीनगरले रूपन्देहीको शुद्धोदन नगरपालिका ४ मा पौने दुई बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ भने नजिकै पौने तीन बिघाको हृयाचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यावसायिक फार्म सञ्चालन गरिरहेको छ । पाल्पाको तेल्घामा २३ रोपनीमा ब्रिडर फार्म सञ्चालनमा छ । बुटवलमा पनि मासु प्रशोधन उद्योगलगायत फुडमा नयाँ योजनाका साथ कम्पनी अघि बढिरहेको छ । श्रीगरले गत आर्थिक वर्ष २०७९/०८० मा सय करोडभन्दा बढी कारोबार गरेकोमा आगामी वर्ष कम्तीमा पनि डेढ सय करोड कारोबारको लक्ष्य लिएको छ । त्यसो त कम्पनी विभिन्न समस्या र चुनौती पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । नेपालमा प्रक्रियागत झन्झट नै प्रमुख चुनौती रहेको बताउनुहुने श्रेष्ठसँग व्यवसाय गर्ने र गर्न चाहनेलाई राज्यका सम्बन्धित निकायहरूले अनावश्यक दुःख र हैरानीमात्रै दिने गरेको अनुभव छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच