काठमाडौं । प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताउनु भएको छ ।
आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उहाँले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताउनु भएको हो । उहाँले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’
एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आउनु भएको थियो । पछि पनि लगातार उहाँले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आउनु भएको थियो ।
सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गर्नुभयो ।