फाकफोकथुम वासीको पीडा : न खोलामा पुल, न सडक, न त बिजुली

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 7 mins

इलाम । इलामको सदरमुकाम इलाम बजारबाट पश्चिमी क्षेत्रको ६० किलोमिटर यात्रामा पुगिन्छ फाकफोकथुम गाउँपालिकाको केन्द्र । यहाँ सडक, बिजुली, विद्यालय र अस्पतालजस्ता आधारभूत पूर्वाधारको पर्खाइमा नागरिक कुरिरहेका छन् । बनेका केही पूर्वाधार पनि पर्याप्त छैन  । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने ‘हेभिवेट’ नेताले प्रतिनिधित्व गरिरहेको यो क्षेत्रले विकासको मुख भने अझै देख्न पाएका छैनन्  ।

२०५६ सालयताका हरेक निर्वाचनमा एमालेका नेता सुवासचन्द्र नेम्बाङले सडक, बिजुली, उच्च शिक्षासहितको विद्यालय र अस्पताल बनाउने एजेण्डा बुन्दै आउनुभएको छ  । यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चुनिएर एमाले नेता नेम्बाङ सभामुखसम्म बन्नुभयो । हरेक निर्वाचनमा जिताएर प्रतिनिधिसभा र प्रदेशसभामा पठाए पनि कुनै नेता आफूहरूको आवाज बन्न नसकेको सर्वसाधारण गुनासो गर्छन् ।

‘अहिलेसम्म न यहाँ पक्की सडक आइपुग्यो, न त केन्द्रीय प्रसारणको बिजुली नै बल्यो । गाउँमै उच्च शिक्षा पढ्न पाइने, उपचार गर्न झापा झर्न नपर्ने अवस्था त सपना नै भइगयो,’ नेता बल्लतल्ल गाउँ आइपुग्छन् आए पनि चुनावको बेला प्रशस्त आश्वासन दिएर जान्छन् । जितेपछि केही गर्दैनन् । ज्यानमारा भूगोल छिचोल्दै फड्के, होमपाइप बिच्छ्याएर खोला तर्नुपर्ने र झोलुंगे पुलको जोखिमपूर्ण यात्रा फाकफोकथुम वासीको बाध्यता छ । सुकिलामुकिला भएका नेतालाई धुलोमैलोमा रहेका जनताको चिन्ता नै नभएको फाकोथुम गाँउपालिका-७ का स्थानीय पन्च योङहाङको भनाइ छ । ‘नेताहरूलाई त भोटको मात्रै चिन्ता छ । हिउँदमा त जसोतसो गाउँ र सदरमुकाम गर्न सहज छ तर बर्खामा समुद्रको टाँकुराजस्तो बन्ने गरेको योङहाङको दुःखेसो छ ।

समस्यै समस्यामा स्थानीय
इलामको संघीय निर्वाचन क्षेत्र नं २ मा पर्ने फाकफोकथुम गाउँपालिका क्षेत्रमा आधा दर्जनभन्दा बढी खोला रहेका छन् । तर, कुनै पनि खोलामा पक्की पुल भने बनेको छैन । गाउँपालिकाले खोला तर्न केही सहज हुन्छ कि भनेर खोलामा हेमपाइप लगाए पनि बर्खाको बाढीले बगाएपछि पहिलेकै अवस्थामा पुग्ने गरेको छ । फाकफोकथुम गाउँपालिका पुग्न मुख्य सडक भनेको इलाम र पाँचथरको सिमानामा रहेको राँके रवि सडक हो जो हिउँदमा सहज भए पनि बर्खामा हिलाम्मे भएर पैदल हिँड्न नसक्ने अवस्था बन्ने गरेको छ ।

जुन सडक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिलान्यास गर्दै अब तत्काल निर्माण हुने बताउनुभएको थियो । तर, अहिलेसम्म जस्ताको त्यस्तै छ । सडकको त कुरा टाढै राखौँ राष्ट्रिय प्रसारणको बिजुलीसमेत देख्न पाएका छैनन् यहाँका धेरै नागरिकले । पालिकाको केही स्थानमा विद्युत् विस्तार भए पनि सबै स्थानमा पुग्न सकेको छैन । यति मात्र होइन खोलामा पक्की पुलसमेत छैन । कालोपत्रे सडकको त कल्पना नै नगरौँ त्यो त हुन्छ भन्ने अहिलेको अवस्थामा सोच्ने अवस्थै छैन । यही ठाउँका नेता देशको प्रमुख पदमा पुगेका छन्, तर पनि जनताको समस्या कहिल्यै समाधान हुन सकेको छैन । फाकफोकथुम गाउँपालिका अघिल्लो कार्यकालको पाँच वर्षसम्म चर्चै चर्चामा बित्यो । फाकफोकथुमको विकास नहुँदा यो ठाउँ विकासका हिसावमा वर्षौं पछि धकेलिएको छ ।

पहिलो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले खासै विकास गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस ठाउँमा दोस्रो स्थानीय निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिलाई समेत चुनौती छ । गाउँपालिको विकासको बाधक सडक बनेको छ । जुन पालिकाको काबुभन्दा बाहिरका सडक परेको कारण पालिकाको विकासमा सडक बाधक बन्न पुगेको हो । फाकफोकथुम गाउँपालिका यस्तो पालिका हो जुन कालोपत्रे सडक सञ्जालमा पुग्न अन्य पालिका भएर मात्र जोडिन सक्छ । अहिलेसम्म कालोपत्रे सडकको त कुरै छाडौँ १२ महिना यातायात सञ्चालन हुने सडक थियो भने पनि धेरै समस्या कम हुनेछ भनेर अहिलेका जनप्रतिनिधि कम्मर कसेर सडक निमार्णमा जुटेका छन् । कृषि उत्पादन मुख्य आम्दानीको स्रोत भएको फाकफोकथुम हिउँदको समयमा अन्य ठाउँमा कृषि जन्य उत्पादन पुर्‍याए पनि वर्खाको समयमा बोटमै कुहिएर जानु बाहेकको विकल्प छैन ।

विद्युत् सबै ठाउँमा पुग्न नसक्दा उद्योग सञ्चालन गर्न नै कठिन छ । बाहिरबाट हेर्दा उज्यालो देखिए पनि त्यहाँको अवस्था अर्कै छ । त्यसकै मुहार फेर्ने काम अहिले भइरहेको पालिका अध्यक्ष दीपेन्द्र खनाल बताउनुहुन्छ । विकट भएकै कारण गाउँपालिकामा धेरै चुनौती रहेको भए पनि आफ्नो कार्यकालभरिमा पालिकालाई परिवर्तन गरेर छाड्ने अठोटका साथ काम भइरहेको खनालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *