काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा दुग्ध क्षेत्रमा देखिएका वर्तमान समस्याबारेमा सरोकारवाला सबैलाई राखेर छलफल गराएको छ । सो अवसरमा बोर्डका उपकार्यकारी निर्देशका डा. बालक चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सञ्जीवकुमार कर्ण, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा, केन्द्रीय दुग्ध सहकारीका अध्यक्ष अम्बरबहादुर कुँवर, महासचिव राम आचार्य, बोर्ड सदस्य सुमित केडिया, बोर्ड सदस्य विश्वराम खड्का, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल, केन्द्रीय पशुपक्षी मत्स्य सहकारीका अध्यक्ष बाबुराम अधिकारी, डेरी साइन्स एसोसिएसनका अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष सियारामप्रसाद सिंह, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाललगायत सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रममा किसानका प्रतिनिधिले दूधको पैसा तीन महिनासम्म नपाएको गुनासो गरेका थिए भने उद्योगी र दुग्ध विकास संस्थानले स्टक बढी भएर समयमै भुक्तानी गर्न नसकेको, सीमा नाकाबाट दूध आएको, लम्पी स्किन रोगका कारण पशु मरेका, बिमा नगरेको, पहिला बिमा गरेकोमा पनि भुक्तानी नगरेको गुनासो गरेका थिए ।
मन्त्री भुसालले दूध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाइने बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा. यादवले बोर्ड सशक्त रूपमा अघि बढ्ने र दुग्ध क्षेत्रमा अग्रगामी छलाङ मार्दै अघि बढ्ने बताउनुभयो । दुग्ध विकास संस्थानका महाप्रबन्धक झाले हालको समस्या हल गर्न संस्थान लागिपर्ने र किसानको बाँकी भुक्तानी जतिसक्दो छिटो गर्ने बताउनुभयो । दुग्ध उत्पादक संघका अध्यक्ष कुँवरले हाल पशुपालन व्यवसाय धरापमा पर्दै जानुका कारण विभिन्न कारणमध्ये समयमा दूधको भुक्तानी नहुनु, लम्पी स्किन र दूध तथा दुग्ध पदार्थ आयात रहेको बताउनुभयो ।
बोर्ड सदस्य केडियाले अहिलेको समस्याले गर्दा दुग्ध पदार्थको स्टक उल्लेख्य रूपमा रहेको र आगामी दिनमा पनि समस्या हल नभए दुग्ध क्षेत्रमा थप संकट आउन सक्ने बताउनुभयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले तीन महिनाअघिदेखि नै उल्लेखित समस्या समाधनका लागि सरोकारवाला निकायमा पत्राचार गरेको भए पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच