जोखिमको कारण देखाउदै महिनौ देखि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तिन महिना देखि हवाई उडान बन्द रहेको छ । विमानस्थलमा नियमित व्यावसायिक उडान नहुँदा झण्डै २८ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । प्रत्येक बिहीबार इलाम-काठमाडौ उडान गर्दै आएको नेपाल एयरलाइन्सले २०८० जेठ २२ गते अन्तिम उडान भरेको थियो । त्यस यता इलाम-काठमाडौ कुनै उडान हुन सकेको छैन ।

पुर्ण रुपमा बिमानस्थल निमार्ण सम्पन्न नभईसकेको र बिमानस्थल भएको स्थानको मौसम बर्खायाममा खराब हुने भएकाले उडान भर्न जोखिम रहेको कारणले इलाम-काठमाडौ हवाई उडान बन्द भएको नेपाल एयरलाइन्सका इलाम इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । सुन्दासले विमानस्थलमा यात्रुको चाप अत्याधिक रहने गरेकोले हप्तामा दुईतिन वटा नै उडान भर्न सकिने भएपनि मौसमकै कारणले उडान भर्न नसकिएको बताउनुभयो । उहाँले यो विमानस्थलमा बर्खायाम सकिएर मौसममा सुधार आएपछि मात्रै उडान सुरुहुने समेत जानकारी दिनुभयो ।

यो विमानस्थलमा तारा एयरको ट्विनअटर जाहाजले कच्ची धावनमार्गमा ०७५ जेठ २१ मा परीक्षण उडान गरेको थियो भने ०७८ माघ २६ गते नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू नियमित संचालनमा नै नआई विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरनाहरू प्रयोगविहीन बनेको इलाम नगरपालिका-९ का स्थानीय सन्तोष चौहानले बताउनुभयो ।

यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भए पनि सञ्चालनमा आएको केही समयमानै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट वञ्चित हुनुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले इलामलाई चलायमान बनाउनको लागि सरकारले नियमित हवाई सेवा सञ्चालनका लागि भूमिका खेल्नु जरुरी रहेको बताउनुभयो । ३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो ।

विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावनमार्ग निर्माण पूरा भएको हो । बिमानस्थलमा अझै टर्मिनल भवन, बिमानस्थल सम्म पुग्ने पककी सडक लगायतका संरचना निमार्ण गर्न बाकी नै रहेको छ । विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ ।

स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँजति खर्च भएको बताईएको छ । विमानस्थल सञ्चालनमा आएमा इलामसँगै पाँचथर, तेहथुमसहित भारतको दार्जेलिङका नागरिकहरूले सेवा पाउने थिए । बन्द भएको हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको इलाम नगरपालिका-९ का अर्का स्थानीय दिपेश अधिकारीले बताउनुभयो । ‘इलाममा पर्यटनको सम्भावना छ । जसले गर्दा यहाँको आर्थिक समृद्धि हुन्छ,’ ‘जति सकिन्छ छिटो हवाई सेवा सञ्चालनमा ल्याउनुपर्‍याे ।’ अधिकारीले भन्नुभयो ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा अलपत्र परेको छ । यता इलाम नगरपालिकाले भने हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ । नगरपालिकाका प्रवक्ता नुतनदेब दुलालका अनुसार हवाई उडान सुचारु हुनेमा इलामबासी ढुक्क रहन आग्रह गर्दै यहि भदौ महिना भित्र बाटै उक्त बिमानस्थलबाट नियमित सेवा सुचारु गर्ने गरि नगरपालिकाले नेपाल एयरलाइन्स सँग समन्वय गरिरहेकोे बताउनुभयो ।

इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थलले जिल्लामा पर्यटक आउ-जाउन बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा इलामेलीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?