पुल नहुँदाको पीडा, लाप्काकै भरमा ३५ गाउँका स्थानीय

हिमालय टाइम्स
Read Time = 10 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । दुर्गम जिल्ला मुगु विकासको मामलामा धेरै पछाडि रहेको छ । यहाँ विकास त परको कुरा यहाँका स्थानीयलाई सदरमुकाम आउन जानसमेत कैयौँ बाधा पार गर्नुपर्ने अवस्था छ । बर्खाको यस समयमा यहाँका अधिकांश सडक हिँड्नै नमिल्ने अवस्थामा रहेका छन् भने खोलाको बाढीले जिल्लाभित्र रहेका अधिकांश काठे पुलसमेत बगाएको छ । बाढीबाट बचेका पुल नै अहिले स्थानीयको आवतजावतको माध्यम बनेको छ । कुरा हो छायानाथ रारा नगरपालिका-१ गमगढी-नाक्चेलाग्ना चीन जोड्ने सडकको । जहाँ अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का राखिएको छ । खोलामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ गाउँपालिका-१६ र छायानाथ रारा नगरपालिकाका १९ बस्ती गरी ३५ वटा गाउँका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका-१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काप्दै खोला तर्ने गर्नुहुन्छ । नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालय कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ८ अध्यनरत छात्र मुस्कान मल्ल पनि आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामाथिका दुई लाप्का भएर जानु पर्ने भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कदा डराउँदै खोला तर्ने गरेको सुनाउनुहुन्छ । मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका छिरिङ आग्मु लामा उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिंगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्नुहुन्छ, ‘सदरमुकामबाट यार्सा पाटनमा जाँदा चाहिने औषधि, लत्ता कपडा र खानेकुरा किनेर घर जाँदै थिएँ खोलामा खसे भारी बगायो म बचेँ ।’

यी त केही प्रतिनिधि पात्र मात्र हुन जिल्ला सदरमुकाम जाँदा र फर्कंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिंगो मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका १९ गाउँका स्थानीयहरूले सधैँ केही न केही सास्ती भोग्दै आएका छन् । हिउँदमा खोला सानो हुने हुँदा काठको लाप्को तर्न कोही डराउँदैनन् जब बर्खा सिजन शुरु हुन्छ तब उर्लंदो भेलमा कति खेर खसिन्छ भनेर मानिसहरू डराई डराई खोला तर्र्ने गर्दै आएका छन् । तन्नेरी युवा युवतीहरू भन्दा ज्येष्ठ नागरिक, बालबालिका, महिला, बिरामी र विद्यालय जाने बालबालिका बढी समस्यामा पर्दै आएका छन् । ज्येष्ठ नागरिकलाई लाप्को तर्दा रिंगटा लाग्ने र बुढ्यौलीमा शरीर कमजोर हुने भएकाले खोला तर्न गाह्रो हुने गरेको छ । कतिचोटि आफूले कैयौँ ज्येष्ठ नागरिक, बच्चा बोकेका महिलाहरूलाई हात समाएर खोला तारेको घाट गाँउका स्थानीय रमेश मल्ल सुनाउनुहुन्छ ।

छायाँनाथ रारा नगरपालिका–१ मा रहेको मीन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आकासमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको उक्त विद्यालयका शिक्षक शिवलक्ष्मी मल्ल बताउनुहुन्छ । बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बीचमै छाडेर विद्यार्थीहरू घर जान हतार गर्ने गरेका रहेछन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीहरूको पढाइमा समेत असर गरेको पनि शिक्षक मल्ल बताउनुहुन्छ ।

गमगढी-नाक्चे लाग्ना सडक गमगढी बजारबाट १८ किमि मुगुम कार्मारोङ-९ छाइलको सुलसुले भीरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्ने भएकाले बिरामीहरूलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ । खोलामा पुल भइदिएको भए सडकमा सवारी साधनहरू नियमित हुन्थे बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधासम्पन्न अस्पतालमा लिन सहज हुने थियो । अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन् । मानिसहरूलाई आवतजावतमा समस्या भोग्नुपरेको छ । लुम्स गाउँका स्थानीय कम्बर ऐडी भन्नुहुन्छ, ‘सडक छ सहज छैन ।’

विगत वर्षहरूमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरू चाटया बगर र हाडढुंगा भन्ने स्थानमा रहेका झुलुंगे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गर्दथे तर २०७९ साल असोज १७ देखि २३ गतेसम्म परेको एक हप्ते पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरूलाई खोला तर्ने अन्य कुनै विकल्पहरू नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो ।

मुगुम कार्मारोग गाउँपालिकाका नौ वडाका १६ गाउँ छाइल, पापु, चिमाथ, मह, माग्री, सेरोग, किम्री, ताखा, खारी, दाउरा पुअ, कार्ति, चितै, रिउस, डोल्फु, वांगरी र छायाँनाथ रारा नगरपालिकाका वडा नं १०, ११ र १२ का १९ गाँउ घाट, चराप, गाडापानी, झाकोट, घट्टलेख, चउठेधारा, ल्वारपोल्ना, तल्लेख, जिउला, रोवा, लुवाबान्ना, सालिम, र्‍याङच्याकाटी, सोवा, बालचौर, भटडाँडी, भिताड, लुम्स, कम्फाका स्थानीयहरू यही सडक तथा खोला भएर जिल्ला सदरमुकाम गमगढी, कर्णाली राजमार्ग र रारा विमानस्थल आवतजावत गर्ने गर्छन् ।

सडक सुचार हुन पुल नहुँदा यी बस्तिका स्थानीयहरू आफ्नो गन्तव्यमा समयमै पुग्न सकिरहेका छैनन् । जसले बनाए पनि अल्कासाँघुमा छिटो पुल बनाउनुपर्ने स्थानीय प्रताप मल्ल भन्नुहुन्छ । ‘सरकारले ठेक्का मात्र खोल्ने, ठेकेदारले जिम्मा लिएर काम नगर्ने अनि जनताले कहिलेसम्म दुःख पाउने । सडक कार्यालयले ताखेता लगाएर पुल बनाउने काम छिटो अघि बढाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । सडक नियमित सुचारु नहुँदा मानिसहरूले मात्र सास्ती पाएका छैनन् ३५ गाउँहरूमा हुने विकास निर्माणका लागि बाहिरबाट ल्याउनुपर्ने निर्माण सामग्रीहरू समयमै नपुग्दा र ढुवानीको लागत बढ्दा विकास योजनाहरू पनि यहाँ प्रभावित हुने गरेका छन् ।

यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साघु हाल्दै आए पनि बाढीले सधैँ साँघु बगाउँदै लग्ने गरेको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो । यो वर्ष पनि नगरपालिकाले काठको साघु बनाउन चार लाख छुटाएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाको त्यो ठाउँमा स्थायी झुलुंगे पुल राख्ने योजना थियो तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?