काठमाडौं । पूर्वसभामुख एवं सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा नौ किलो सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नुअघि राहुलले आफू सिआइबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबुक स्टाटस लेखेका थिए, ‘कथित् ठूलो भनिएको मिडियाले ग्वेयल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयं सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दै छु । नबिराउनु,नडराउनु ।’
काठमाडांै जिल्ला अदालतले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले अनुसन्धानको लागि १० दिन समय मागेको थियो । तर, अदालतले पाँच दिन समय दिएको छ । राहुललाई प्रहरीले संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगेको थियो । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरूविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वासघात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँगका चिनियाँ नागरिक दाओजिन वाङसँग सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख महरा र छोरा राहुल महराको सम्पर्क देखिएको थियो । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको बताउनुभएका महराले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाउनुभएको छ । प्रहरी स्रोतका अनुसार करिब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको अनुसन्धानबाट खुलेको छ ।
तस्करसँग पूर्वसभामुख महराको २२ र राहुलको २३४ पटक फोन संवाद
इलेक्ट्रिक सिगरेट (भेप)भित्र नौ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहनुभएका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सिआइबीले दिएको थियो । तर, उनीहरू अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको छ । करिब नौ केजी सुन जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो । अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सिआइबीले किटान गरेर प्रतिवेदन तयार पारेको थियो । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा निर्मलको नाममा रहेको फोन नम्बरबाट २२ पटक फोन सम्पर्क भएको देखिएको थियो । राहुल महराले भने २३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ ।
अभियोजनपत्रमा किटानी नाम, तर अभियुक्त बनाइएन
सुन तस्करी तथा बेचबिखनमा महरा बाबु-छोरा संलग्न भएको भनेर प्रहरीको सिआइबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु-छोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सिआइबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहीँबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोजनपत्रमा ‘लिंक चार्ट’ बनाएर महरा बाबुछोरा तस्करीमा संलग्न भएको किटानी गरिएको छ, तर उनीहरूलाई अभियुक्त बनाइएको छैन । प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेको थिएन । त्यही कारण आलोचना भइरहेका बेला सुन तस्करीको छानविनका लागि राहुललाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करीमा महराको नाम जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआइबी प्रमुख किरण बज्राचार्यसँग छलफल गर्नुभएको थियो ।
सुन तस्कर दावाका मुख्य सहयोगी भारतबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद गरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले थप एकजना नेपालीलाई भारतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा किशोर बस्नेत छन् । उनलाई भारतबाट पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ । उनी तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङको सहयोगी भएको खुलेको छ । यसअघि, सिआइबीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो । पौडेललाई सिआइबीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार पौडेल केही अगाडिसम्म विमानस्थल भन्सारमा कार्यरत थिए । उनी अधिकृतस्तरका कर्मचारी हुन् । ६० किलो सुन प्रकरणमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिनुभयो । गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । सुरुमा उक्त प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको भए पनि साउन २१ गतेदेखि उक्त प्रकरणमा छानविनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई हस्तान्तरण गरिएको छ ।
सुन प्रकरणमा संलग्नहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु
६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ । आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथिको अनुसन्धान थालेको जानकारी दिँदै भनेको छ, ‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरूको भूमिका र काम कारबाहीमाथि अनुसन्धान सुरु भएको छ । उनीहरूमध्ये केहीको सम्पत्ति छानविनसमेत थालिएको छ ।’ अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरूको भूमिकामाथि अनुसन्धान थाल्दै विस्तृत विवरण मागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचारसमेत गरेको छ । सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले विमानस्थल भन्सार कार्यालयका तत्कालीन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरू लगायतका विवरण मगाएको हो । त्यसैगरी, उनको सम्पत्ति छानविनसमेत थालेको छ ।
सुन गाल्ने थप दुई उपकरण बरामद
६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुईवटा सुन गाल्ने उपकरण बरामद भएको छ । सिआइबीले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्युरोकी निर्देशक एआइजी किरण बज्राचार्यले जानकारी दिनुभयो । यसअघि तस्कर समूहले प्रयोग गरेको पाँचवटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो ।
त्रिभुवन विमानस्थल भन्सारका १३७ जना कर्मचारीले मागे सरुवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले पनि कर्मचारीहरूले सरुवा माग्दै निवेदन दिएको पुष्टि गर्नुभएको छ । ६० किलो सुनको विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानविनको वहानामा विनाकारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने काम भएको भन्दै कर्मचारीले सामूहिक रूपमा सरुवा मागेका हुन् । राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ । गत साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन समातेको थियो ।