जहाँ पुग्दा स्वर्ग पुगेको अनुभूति हुन्छ

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 10 mins

दैलेख । कालीकोट र दैलेख जिल्लाको सिमानामा पर्ने महावुधाम दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित एक धाम हो । परापूर्व कालमा यस स्थानलाई महादेव र पार्वतीको कैलाश भनिने गरिन्थ्यो भन्ने मान्यता स्थानीयहरूको छ । दैलेखको नौमुले गाउँपालिका-२ अन्तर्गत पर्ने महावुधाममा प्रत्येक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन भव्य मेला लाग्ने गर्दछ । यो वर्ष पनि हजारौँको संख्यामा मेला भर्न भक्तजन यहाँ पुगेका थिए । कठिन भीरको बाटोमा ज्यानै हत्केलामा राखेर चढे मात्रै पनि मोक्ष प्राप्त हुने विश्वासमा मानिसहरू तीर्थाटन गर्न यहाँ पुग्ने गरेका छन् । यो स्थान समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको छ ।

महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रूपमा प्रख्यात छ । उच्च लेकाली क्षेत्रमा पर्ने महावु क्षेत्र धार्मिक मात्र नभएर प्राकृतिक सौन्दर्यको हिसाबले समेत महत्वपूर्ण छ । सडक सञ्जालको विस्तारले उत्तर कर्णालीका जिल्लाहरूको सबैभन्दा छोटो मार्ग हो । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्यमध्येको एक हो महावुधाम । करोडौँ हिन्दुहरूको आराध्यदेव देवाधिदेव महादेवको शिवलिंग स्वरूपको दर्शन गर्न हत्केलामा ज्यान राखेर महावुु पुग्ने गर्दछन् । महावुधाममा पुगेपछि भने भक्तजनले स्वर्ग पुगेको अनुभव हुने गरेको महशुस गर्दछन् ।

चारैतिर पाटनमा कार्पेट बिच्छ्याएको जस्तो बाक्लोे दुबोले भरिएको जमिनमा हिँड्दा मनै आनन्दित हुने गर्दछ । यस क्षेत्रमा चारैतिर फूलेको लेकाली फूल बुकी लगायतका रंगीविरंगी फूलहरूले मनै लोभ्याउने गर्दछ । चारैतिर अग्ला लेखाली रूखहरू रहेको यहाँ प्राकृतिक रूपमा सिँगारिएको छ । उकालो चढेर जब पाटन क्षेत्र प्रवेश गरिन्छ उकालो चढेको थकान क्षणभरमा हराउने गर्दछ । छिनछिनमा बादल र घामले लुकामारी खेल्दै गरेको जस्तो देखिने यस क्षेत्रमा एकछिनमा डम्म कुहिरो अनि बादलले सबै ढाक्छ भने क्षणभरमा सबैै फाटेर देखिने मनमोहक दृश्य हेर्नलायक हुन्छ । महावु क्षेत्रबाट दैलेख, कालीकोट, अछाम, कालीकोट, बाँके, सुर्खेत र बर्दिया जिल्लाका फाँटहरू समेत देखिन्छन् ।

पाटनक्षेत्रको बीचबीचमा रहेका ठूला ठूला पोखरीहरू, फूलेका लेकाली फूलहरू, अग्ला अग्ला ढुंगाका पहाडहरू, चारैतिर चर्दै गरेका भेडाहरू, भेडा चराउन बस्ने भेडीगोठहरू समेत रहेको यस क्षेत्रमा प्रकृतिले भरिपूर्ण मात्र होइन धार्मिक रूपमा समेत ठूलो आस्था रहेकाले पनि महावुधामको गाथ मेलामा नेपाललगायत भारतबाट आउने धर्मालम्बीहरूको उपस्थितिले समेत देखाएको छ ।

नारायण नगरपालिका-३ दैलेखका सागर बोहराले अघिल्लो वर्ष पनि आएको र यसवर्ष पनि पूजा गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटोको जोखिमलाई हेर्दा एकपटक पुगेको मानिस पुनः पुग्दैन भन्ने लाग्छ । तर पटक पटक उनै यात्रीहरू महावुधाममा लाम लस्कर लगाएर पुगिरहेको देखिन्छ । बाटोको जोखिमलाई हेर्दा हर कोहीको वशको विषय होइन तर अहिलेसम्म कुनै अप्रिय घटना सुन्नुपरेको छैन । यहाँ तीन पटकसम्म पुग्नुपर्ने मान्यता छ ।’ धार्मिक रूपमा महादेवको पूजापाठ गर्ने यस क्षेत्रमा शिवलिंगको पूजा गर्ने गरिन्छ । हजारौँ वर्ष पहिले दैलेखको भुर्ति भन्ने स्थानका एकजना ब्राम्ह्ण जातीका जलु आचार्य भन्ने गोठालाले एउटा ढुंगामा सधैं गाईको दूध चढाउने गरेका थिए ।

उक्त स्थानमा एउटा ठूलो ढुंगा रहेको र त्यो ढुंगा फुटेर बीचबाट शिवलिंगको उत्पत्ति भएर महावुधाम भएको दैलेखका पूजारी नरेन्द्र आचार्य बताउनुहुन्छ । अन्य ब्यक्तिहरूलाई दैलेख सदरमुकामबाट दुई दिन लाग्ने उक्त स्थानमा दैलेखका आचार्य पूजारीहरूले पूजा हुने दिन विहान गाईको दूध लगेर एकै दिनमा महावु पुगेर शिवलिंगमा चढाएपछि कालिकोटका काफ्ले पूजारीहरूले पूजा सुरु गर्ने गरेका छन् ।

धार्मिक रूपमा महावुधाम पुग्ने सय मिटर टाढाबाट मुखमा दुबो चेपेर कसैसँग नबोलेर शिवलिंगेको सातपटक परिक्रमा गरेपछि मात्र बोल्ने गरिन्छ भने कोहि भने घाँटीमा पशुलाई बाँध्ने गरेको दाम्लोसमेत आफ्नो घाँटीमा बाधेर शिवलिंग परिक्रमा गरेपछि मात्र दाम्लो फाल्ने गरिन्छ । आफ्नो जीवनकालमा नजानी गरेको पाप मानिस नभएर पशु भएर गरेको हुन सक्ने भएकाले महावुधाम पुग्दा पशुको जस्तै मुखमा दुबो र घाँटीमा दाम्लो लगाएर भगवानसँग माफी माग्ने प्रचलन रहेको कालीकोट महावै गाउँपालिकाका नरबहादुर शाही बताउनुहुन्छ ।
वर्षभरि खाद्यान्नको अभाव नहोस्, अकालमा पशुसमेत नमरून भनेरसमेत महावुधाम पुग्ने गरिन्छ । यसको मुख्य विषेशता भनेको सन्तान नभएकाहरूले महावुधाम गाथमेला गएर सन्तान मागेपछि पूरा हुने विश्वास रहेको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले बताउनुभयो । हिन्दु धर्ममा आस्था राख्नेहरूको मुख्य तीर्थस्थलको रूपमा रहेको महावुधाम महादेवको पूजापाठ गर्न जाने व्रतालु तीर्थालुहरूको लागि स्थानीय सरकारलगायत प्रदेश सरकारको लगानीमा साना प्रतीक्षालय बनाएको पाइन्छ ।

पहिले पहिले महावुधाम क्षेत्रमा महिलाहरूलाई जान वञ्चित गरिएको थियो । महिलाहरू त्यहाँ गए अनिष्ट हुन्छ भन्ने प्रचलन पछिल्लो समयमा हटाइएपछि अहिले महिलाहरू पनि पूजापाठ गर्न जानेको संख्या निकै बढ्दै गएको छ । विशेष सन्तान नभएका दम्पती गएर भगवान शिवको पूजापाठ गरेर त्यहाँको तिलक लगाएपछि सन्तान प्राप्ति हुने किंवदन्ती रहेको पाइन्छ । धार्मिक क्षेत्र भएतापनि पर्यटकिय रुपमा यसलाई अगाडि बढाउन प्रदेश सरकारको तर्फबाट बजेटको व्यवस्था मिलाएको कर्णाली प्रदेश पर्यटन उद्योगमन्त्री कृष्णकुमार बिसीले बताउनुभयो । कर्णाली प्रदेशको मुख्य तीर्थस्थल र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेमा कर्णालीको विकासमा टेवा पुग्ने मन्त्री बिसीले बताउनुभयो ।

महावु क्षेत्र दैलेख सदरमुकामबाट ४२ किलोमिटरको दूरीमा रहेको छ । हिउँदको समयमा हिउँले ढाक्ने यस क्षेत्रमा धेरै थरीका गुँरासहरू समेत फूल्ने गरेका छन् । एउटै बुटामा चार रङको गुराँस फूल्ने यस क्षेत्रलाई पर्यटकीय कर्णाली प्रदेशको चलचित्र सुटिङ क्षेत्र भनेर प्रदेश सरकारले समेत घोषणा गरेको छ । सुर्खेत, दैलेख हुँदै जुम्ला, मुगु जानका लागि यस क्षेत्र भएर जाने सडकबाटो स्तरोन्नति नहुँदा धेरै लामो सडकको यात्रा गरेर कर्णालीको किनार किनार जानुपर्ने बाध्यता रहेको छ । सडकको स्तरोन्नति हुन नसक्दा अहिले कर्णाली राजमार्ग भएर ४५ किलोमिटरको दूरी बढी यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । अतः यस्ता धार्मिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्रको विकास हुन सकेमा आर्थिक विकासलाई टेवा पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?