हिलेजात्रा अन्तर्गतको रोपाइँजात्रा मनाइयो

हिमालय टाइम्स
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा । प्रकृति र उत्पादनसँग जोडिएको नेवारी संस्कृति झल्कीने हिलेजात्रा अन्तर्गतको रोपाइँजात्रा ओखलढुंगा सदरमुकाममा मनाईएको छ । नेवार समुदायले प्रत्येक वर्ष मनाउने हिलेजात्रा अन्तर्गतको रोपाँईजात्रा यो वर्ष पनि मनाईएको हो । हिलेजात्रा साउन चतुर्दशी कण्टाकर्ण देखि शुरु भई कृष्णअष्टमीको भोलिपल्ट रथयात्रा गरेपछि सम्पन्न हुन्छ ।

नेवारको कला, संस्कृती र परम्परानुसार देखाईने हिलेजात्रा अन्तर्गत लाखेजात्रा, गाइजात्रा, रोपाँईजात्रा लगायतका जात्राहरु मनाउने चलन रहेको छ । मल्लकालीन राजा प्रताप मल्लको पालाबाट जात्रा गर्ने चलन शुरु भएको जनहित गुठी ओखलढुंगाका अध्यक्ष ध्रुवराजभण्डारीले जानकारी दिनुभयो । खेतमा धान रोपीसकेपछि राम्रो उत्पादन होस् ! सबैजना स्वस्थ रहुन् ! सम्पुर्णमा सहकाल होस ! भनेर खुशियालीमा मनाउने गरेको उहाँले बताउनुभयो । काम गरेर थाकेको बेलामा आगामी वर्ष सम्म जीवनमा सहज रहोस भनी नेवारी भेषभूषामा आधारीत मनोरञ्जनात्मक नृत्य, कला, कमेडी, हास्यब्यंग्य प्रस्तुत गर्दै बजार परिक्रमा गर्ने चलन छ । विशेष गरी नागपञ्चमी, जनैपुर्णिमाको दिन लाखेजात्रा मनाउने चलन रहे पनि हिलेजात्राको अवधीमा विभिन्न समयमा लाखेजात्रा देखाउने चलन रहेको छ । गाईजात्रा मनाईसकेपछी रोपाईजात्रा मनाउने चलन रहेको छ । काठमाण्डौबाट अन्य जिल्लामा बसाई सरी ब्यापारको सिलसिलामा आएका नेवार समुदायले नेवारी संस्कारको हिलेजात्रा पनि भित्रिएको हो ।

हिलेजात्रा अन्तर्गत पर्ने जात्राहरुमध्ये लाखेजात्रा : विशेष गरी नागपञ्चमी, जनैपुर्णिमामा लगायत अन्य दिनमा पनि मनाइन्छ । लाखेजात्रामा विभिन्न देवीदेवता लगायतका आकृती झल्कीने मखुण्डो लगाएर नाच्दै मनोरञ्जन दिदै बजार परिक्रमा गर्ने चलन छ । विशेषगरी युवायुवतीहरुले विभन्न देवताहरुका आकृतीका मखुण्डो लगाएर मनोरञ्जन गराउने चलन रहेको छ ।

गाईजात्रा ः जनैपुर्णिमाको भोलीपल्ट मनाउने चलन रहेको छ । एकवर्ष भित्र नेवार समुदायमा दिवंगद भएका मानिसको संझनास्वरुप र दिवंगद आत्माको चिरशान्तिको कामना गर्दै गाइजात्रा निकाल्ने चलन रहेको छ । बाजगाजा सहित गाईको फोटो र मृतकको फोटो टाँसेर बनाइ बोकेर गाई सहित बजार परिक्रमा गराइन्छ । गाईजात्रा निकालीसकेपछी एकवर्ष भित्र मृत्यु भएका ब्यक्तिको जीवनीमा आधारीत रामायण, शोकगाथाको रुपमा गाउने चलन छ ।

रोपाँईजात्रा ः प्रत्येक वर्ष गाईजात्रा मनाएपछि कृष्णअष्टमीको अघिल्लो दिनसम्म कुनै पनि दिनमा मनाउने चलन रहेको छ । रोपाँई जात्रामा नेवारी भेषभूषामा सजिने र विभिन्न कमेडी गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गर्दै बजार परिक्रमा गराइन्छ । रोपाँई गर्दा आवश्यक पर्ने हलोजुवा, गोरु, रोपाहार, बाउसेको नक्कल प्रस्तुत गर्दछन् ।

घण्टकर्णबाट शुरु हुने यो जात्रा करिब डेढ महिना सम्म चल्ने र कृष्णाष्टमीको भोलीपल्ट रथयात्रा गरी समापन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?