काठमाडौं । साउदीको सप्लाई कम्पनीको रोजगारीमा गएका धेरै नेपाली कामदार अलपत्र पर्ने गरेका छन् । म्यानपावर कम्पनीमार्फत् साउदीको सप्लाई कम्पनीको रोजगारीमा गएका कामदार अलपत्र पर्ने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार साउदी सप्लाई कम्पनीको रोजगारीमा पुगेका कामदारले आफू अलपत्र परेको भन्दै उद्धारका लागि दैनिक फोन र सामाजिक सञ्जालबाट सम्पर्क गर्न थालेका छन् ।
साउदी सप्लाई कम्पनीको रोजगारीमा पुगेका कामदारले म्यानपावरलाई तीन लाख रुपैयाँभन्दा बढी लागत खर्च तिरेर आएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा उजुरी गरेका हुन् । त्यहाँ गएका कामदारले तीन महिनादेखि नौ महिनासम्म खान–बस्न मात्र पाएको र कम्पनीले तलब भने नदिई अलपत्र परेको भन्दै कल सेन्टरमा दैनिक उजुरी गर्ने गरेको पाइएको छ । साउदी सप्लाई कम्पनीमा जाने कामदारको नेपालबाटै काम गर्ने कम्पनी सुनिश्चित हुनुपर्ने विभिन्न संघसंस्थाले आग्रह गर्दै आएका छन् ।
साउदी सप्लाई कम्पनीको रोजगारीमा पुगेका कामदारले आफू अलपत्र परेको भन्दै उद्धारका लागि दैनिक फोन र सामाजिक सञ्जालबाट सम्पर्क गर्न थालेका छन् ।
साउदीमा सप्लाई कम्पनीमा गएका नेपालीहरू समस्यामा पर्न थालेपछि वैदेशिक रोजगार विभागले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वसँग समस्या समाधानका लागि छलफल गर्दै आएको छ । छलफलमा विभागका महानिर्देशक मदन दाहालले साउदीका हकमा तत्कालका लागि सप्लाई कम्पनीको श्रम स्वीकृति रोक्नुपर्ने बताउनुभएको थियो ।
तर, संघले श्रम स्वीकृति रोक्नु समस्याको समाधान नभएको भन्दै सप्लाई कम्पनीको समस्या समाधान गर्न त्यस्ता कम्पनीमा नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्नुअघि रोजगारदाता कम्पनीले कुन कम्पनीमा सप्लाई गर्ने हो, त्यसको विस्तृत विवरण मागपत्रसँगै अनिवार्य पेश गर्नुपर्ने माग राख्दै आएको छ ।
साउदीको सप्लाई कम्पनीको रोजगारीमा जाने कामदारको श्रम स्वीकृति नरोके समस्या झन् जटिल हुँदै जाने विभागका महानिर्देशक दाहाल बताउनुहुन्छ । हाल कस्ता सप्लाई कम्पनीको रोजगारीमा गएका कामदार अलपत्र परेका छन् भनेर अध्ययन गर्न भए पनि सप्लाई कम्पनीको श्रम स्वीकृति रोक्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, साउदीका कुन-कुन सप्लाई कम्पनीले कामदारलाई समस्यामा पारेका छन् ती कम्पनीलाई मात्र ब्ल्याकलिष्टमा राख्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी समस्या समाधान समिति संयोजक वैकुण्ठ पौडेल ‘वैभव’ बताउनुहुन्छ । पौडेलका अनुसार श्रम स्वीकृति रोक्नु समस्याको समाधान होइन । एक्कासी श्रम स्वीकृति रोक्दा कूटनीतिक रूपमा समस्या आउन सक्छ ।
तीन महिनादेखि अधिकतम १० महिनासम्म तलब नपाएको भन्दै नेपाली कामदारले समस्या लिएर आउने गरेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । यसरी समस्या लिएर आएका कामदार प्रायः सप्लाई कम्पनीकै रहेका छन् । दूतावासका अनुसार साउदी सप्लाई कम्पनीमा आएका करिब १० हजारभन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । यसरी अलपत्र परेका कामदारले तलब नपाएको र कम्पनीले सामान्य खान–बस्नमात्र दिएको दूतावासको भनाइ छ ।
सप्लाई कम्पनीले नेपाली कामदार जस्तोसुकै बाध्यात्मक अवस्थामा पुगे पनि एक्जिट पर्मिट नदिने गरेकोे दूतावासका कन्सुलर देवेन्द्र कार्कीले बताउनुभयो । एक्जिट पर्मिट नपाउँदा नेपालीहरू समस्यामा परी अलपत्र पर्ने गरेको उहाँको भनाइ छ । कन्सुलर कार्कीले भन्नुभयो, ‘सप्लाई कम्पनीमा परेका कामदार धेरै अलपत्र छन् । समस्या समाधान गर्ने प्रयास भइरहेको छ । नेपालबाट आउनुअघिदेखि नै कस्तो कम्पनीमा जाँदैछु भन्नेमा प्रष्ट नभएका कारण कामदार समस्यामा परेका हुन्, साउदीमा सप्लाई कम्पनीको रोजगारी असुरक्षित छ । यस्ता कम्पनीमा आएका कामदारले समयमा पैसा नपाउने, भनेजस्तो काम नहुने, रोजगारीको ग्यारेन्टी नहुने र सप्लाई कम्पनीलाई कानुनी दायरामा ल्याउनसमेत समस्या हुन्छ ।’
साउदीमा करार अवधिअघि नै कामदार पारिवारिक वा अन्य बाध्यताले कम्पनी छोडेर स्वदेश फर्किनुपर्ने बाध्यतामा पुग्दा अनिवार्य रूपमा स्वदेश फर्किने अनुमति एक्जिट पर्मिट लिनुपर्छ । एक्जिट पर्मिट नभएका कामदारले साउदीको कानुनअनुुसार पाँच सय सयदेखि एक हजार पाँच सय रियालसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ । सप्लाई कम्पनीमा गएका कामदारले म्यानपावरमा समेत चर्को लागत खर्च तिरेका हुन्छन् भने साउदीमा अलपत्र परेपछि जरिवानासमेत तिरेर फर्किनुपर्ने बाध्यता हुन्छ । गत आर्थिक वर्षमा एक लाख २० हजारभन्दा बढी नेपाली रोजगारीका लागि साउदी गएको विभागको तथ्यांकमा छ । चालु आर्थिक वर्षको साउनमा सात हजार ३२ सहित १० हजार ३० जना गएको विभागले जनाएको छ । साउन महिनाको प्रगति प्रतिवेदनअनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार पाँच सय ७५ जना रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच