✍️ चन्द्रकान्त आचार्य
सुम्निमा :
बीपीको सुम्निमा सम्बन्धमा जनजातिका विद्वत्वर्गबाट विरोध प्रकट गरिएजस्ता कुरा केही वर्षपहिले सुनिएको थियो । किरात जातिका मानिसलाई सर्वांगनग्न अवस्थामा चित्रित गरिनु विरोधको प्रमुख कुरा मानिएको हो । त्यसै कुराको स्मरण भएकाले यस कृतिबाट त्यस विषयमा केही उद्धरण प्रस्तुत गर्न उपयुक्त लाग्यो ।
एक पटक आफ्नी पत्नी पुलोमाको नग्न शरीर देखेपछि सोमदत्त तर्सिएको थियो र उसले सर्वांगनग्न सुन्दरी सुम्निमाको शरीरसँग पुलोमाका शरीरको तुलना गरेको थियो । ‘..तत्क्षण नै उसको चेतनामा यही क्षणकालागि पर्खेर बसिरहेजस्ती सुम्निमाको नग्नशरीर उद्भासित भयो, असंख्य अवसर, असंख्य भंगिमाका साथ उसले देखेको त्यो दीप्तियुक्त कञ्चनदेह ! उसले मनमनै भन्यो-के नग्नता पनि त्यस्तो विभिन्न प्रकृतिको हुन्छ ? हुँदो रहेछ-एउटा बीभत्स र कुरूप र अर्को सौम्य र सुन्दर । के स्वप्न पनि त्यस्तो भिन्न प्रकृतिको हुन्छ-सुखमयी स्वप्न र क्लेशदायी दुःस्वप्न ?’
जातीय सौहाद्रताका सम्बन्धमा यो उपन्यास यथार्थ धरातलमा उँभिएको छ र यसमा दिइएका कुराहरूले अहिलेका जल्दा बल्दा विषयवस्तुलाई मार्ग निर्देशन गर्न सक्छन् जस्तो लाग्छ । सोमदत्तसँग सुम्निमाको प्रेमप्रसंग उनका परिवारजनले मात्र होइन, किरात जातिका सबैले राम्रो मानेको देखाइएको छ ।
सदैव नग्न रहेर पनि त्यस्तो दीप्तियुक्त शरीर प्रस्तुत गरिएको छ सुम्निमाको भने लुगाले छोपिएको भन्ने पुलोमाको शरीर त्यसरी कुरूप चित्रण भएको छ । अर्कोतिर सोमदत्तको छोरा र सुम्निमाकी छोरी कोसी नदीमा नग्न अवस्थामा नै जल क्रीडा गरेका र पछि सोमदत्तको छोरा किरातहरूसँग नै बसेर सुम्निमाकी छोरीसँग विवाह गरी वंश विस्तार भएको कथाले किरात जातीलाई अपमानित गरेर त्यस्तो नग्न अवस्थाका कुरा लेखिएको नभएर त्यस समयको चित्रण भएको कुरा अवगत हुन्छ । नग्नताले सुन्दरतालाई न छोपेको र लुगाले छोपिएको शरीरमा सुन्दरता न देखिएको कुरा प्रस्तुत गरिएको यस कथामा आर्यवंशी ब्राह्मण परिवारभन्दा जीवनको यथार्थतालाई बुझेका किरात परिवारलाई बढी महत्व दिइएको छ । त्यसैले नै यस उपन्यासलाई किरात देशको एउटा कथा भनेर नामकरण गरिएको छ । अतः त्यस्ता नकारात्मक कुराको यस उपन्यासमा ठाउँ देखिदैन ।
जातीय सौहाद्र्रताका सम्बन्धमा यो उपन्यास यथार्थ धरातलमा उँभिएको छ र यसमा दिइएका कुराहरूले अहिलेका जल्दा बल्दा विषयवस्तुलाई मार्ग निर्देशन गर्न सक्छन् जस्तो लाग्छ । सोमदत्तसँग सुम्निमाको प्रेमप्रसंग उनका परिवारजनले मात्र होइन, किरात जातिका सबैले राम्रो मानेको देखाइएको छ र सोमदत्तले उनलाई विर्सनका लागि कठोर तपस्याको बाटो लिएपछि मात्र सुम्निमालाई किरात युवकसँग विवाह गर्न लगाइएको हो । त्यसरी विवाह भएर जीवन अघि बढे पनि सुम्निमाका पतिले तिनलाई आपूmले पाउन नसकेको गुनासो गर्छ ।
सोमदत्तले भेटाएको जीवनको सबभन्दा रमाइलो र रोचक दिनमा किरात गाउँबाट कोशीतटतिर झर्दा सुम्निमा र सोमदत्तको वार्तालाप मार्मिक छ, जो यस प्रकार छ :
‘तिमी सुखी छ्यौ सुम्निमा ?’ मधुरो स्वरमा सोमदत्तले सोध्यो ।
‘घाउ लागेको रुख पनि त हुर्किन्छ नि, यदि त्यसमा बाँच्नलाई चाहिने रस बाँकी छ भने र सहज स्वभावमा त्यसले हुर्किन पायो भने । फेरि मेरो दुल्हा तिमी जस्तै छ, ऊसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ । यस्तै सपनालाई अँगाल्दै त हिड्नुपर्छ नि बाँच्नु छ भने.......’
एकछिन दुवैले केही बोलेनन् । चुप लागेर हिँडिरहे । सुम्निमाले भनी-‘मेरो दुल्हा भन्छ-‘सुम्निमा ! मैले तिमीलाई पाइन ।’ त्यस्तो छ मेरो दुल्हा । रातभरी म ऊसँग टाँस्सिएर सुतेकी हुन्छु तै पनि उसले मलाई पाएन रे । हाम्री छोरी पनि भई, तै पनि म उसलाई भेट्टिइन रे ।.............. ऊ भन्छ-‘अब म काशी जान्छु, त्यहाँ बाहुनजस्तो गोत्र लिन्छु र म पनि ठूलो सपनालाई अँगाल्छु ।’ त्यस्तो पनि कसैले गर्ने हो, भन त सोमदत्त ! एक त किरातीले बाहुनको गोत्र लिने रे !’
यस वार्तालापले बताउँछ एउटी किराती छोरीको मन बाहुन केटामा कसरी बसेको रहेछ । उसको पति आप्mनी श्रीमतीको मायाँ पाउन त्यस बाहुनजस्तै हुन खोज्नु भनेको जातपात कुनै कुरा ठूला होइनन् मानिस नै ठूलो हो र त्यसको मन ठूलो हो ।
‘हिटलर र यहुदी’ बाट
थियोडरा र लडाइँको अन्तिम दिन
दोस्रो विश्वयुद्ध समाप्त भएको तीन चार वर्षपछिको बर्लिन भ्रमण भएकाले त्यहाँ युद्धको विभिषिका अझै देख्न्थ्यिो र युद्धको ध्वंसले विभत्स देखिने बर्लिनमा खास देख्ने लायक केही भएजस्तो लागेन । घुमाउन लैजाने दोभाषे थियोडराको जीवनको इतिहास सुन्दा प्रमुख पात्र मर्माहत हुन्छ ।
उसले भनी-माफ गर है । हामीहरू मुटुमा चिहान लिएर हिँड्छौं, आफ्ना प्याराहरूको चिहान, यौवनका यावत् सपनाहरूको चिहान
मैले भनेँ-कहीँ बसेर कफी खाउँ । म आज बडो बेचैन भएँ ।
उसले भनी–हिँड्छौ मेरो कोठामा ? घर त आधा खसिसकेको छ तर कोठा सद्दे छ ।
एक सिंढीमाथि उसको कोठा थियो, घरको एक पाटा चोखो खसेको, माथिको तला पनि त्यस्तै चोखै झिकिदिएको जस्तो, काठको बाकस अड््याएको जस्तो उसको कोठा थियो । सिँढी उक्लिँदै उसले भनी-यो घरभरिमा तलको भूइँ कोठा र यो मेरो कोठामात्र सद्दे बँचेको छ । खतरा छैन–ठूलाठूला काठले टेवा दिएर अड्याएको छ । म टुरिष्ट अफिसमा छु नि, त्यसैले पाउन सकेको यो छुट्टै स्वतन्त्र कोठा ।
कोठा सानो, सानो खाट, एउटा मान्छे बस्ने हलुको खालको सोफा, एउटा सानो टेबल र कुर्सीले डम्म भरिएको ।
.......
उसले भनी-लडाई सुरु हुँदा म १५ वर्षकी थिएँ र सिद्धिदा बुढी भएर निस्किएँ ।
मैले विस्मयले हेरेँ । के यो २३ वर्षकी युवतीसँग म कुरा गरिरहेको छु लावण्यहीन अनुहारले ४५ वर्षको छिप्पिएको उमेर बोकेर हिँडेको । आँखा तल चाउरी किरिमिरिएका गालामा चायाको हलुको बादल, एउटा हलुको टाटो नाकको टुप्पोमा, रूखो कपालमा एक दुई सेता त्यान्द्रा ।
उसको एउटा संगी पनि रहेछ छिमेकमा, ऊभन्दा दुई वर्ष जेठो । पछि ऊ सेनामा भर्ती भएछ । थियोडरा १७ वर्षकी भएपछि उसको प्रेममा परिछ । निधो पनि गरेछन् उनीहरूले युद्ध सिद्धिएपछि विवाह गर्ने भनेर ।
थियोडराले भनी-त्यस्तो चोखो युवक, त्यस्तो निर्दोष ! पूर्वीय क्षेत्रको लडाइँमा जाँदा स्टेशनमा उसलाई पु¥याउँन गएकी थिएँ । मैले संयम छाडेर उसको म्वाईं खाएँ, त्यस्तो पवित्र शरीरको, मनको ।
त्यो फर्केन फेरि, एउटा चिठीमात्र आयो । अनि सुनेँ, बर्लिनको आखिरी मोर्चामा खटिएको थियो रे, कुन मोर्चामा, कता केही थाहा भएन । मेरो प्रणय–बस त्यहीं एउटा चुम्बन हो जसलाई मैले अधीर भएर ऊसँग खोसेर लिएकी थिएँ ।
... उसको दृष्टि भित्ताको एउटा तस्वीरमाथि थियो । उसले त्यसै टोलाएर आफैलाई भनी-रुडोल्फ, मेरो रुड भन्थ्यो-लडाइँ त सिद्धिन देऊ । म घर बनाउँला, बगैंचा लगाउँला र प्यारी, तिमीलाई छोरा छोरी दिउँला । म पियानो बजाउँला, तिमी गाउली, छोरा छोरी बगैंचामा नाच्लान् ....।
मैले नजिकै गएर भित्ताको तस्वीरलाई हेरें-रंग खैरिन थालेको, एउटा स्वस्थ युवकको फोटो थियो । अर्को तस्वीरलाई देखाएर मैले सोधेँ- यो को नि सानो ठिटो ?
“मेरो भाइ, सानो । आमा बाबाको पत्तो भएन । रुडोल्फ पनि लडाइँमा गएको उतै रहृयो, फर्केन । भाइ मलाई भन्थ्यो-धन्दा नमान दिदी, म छदैछु नि । रित्तिँदै गइरहेको सडकमा सहरमा कुन्नि कहाँबाट खाने कुरा सुट्ट ल्यउँथ्यो र मेरो मुखमा हालिदिएर भन्थ्यो-खाउ दिदी, भोकाएकी छ्यौ ।
......त्यो पनि गयो लडाइँको आखिरी दिनमा, होमियो युद्धमा रुसी टैंकको बाढीलाई हत्केलाले थाम्ने प्रयत्नमा । १४ वर्षको थियो, चुच्चो अनुहार झन् त्यो बाल सेनाको हेलमेट लाएर आउँदा कस्तो चुच्चो अनुहार भएको दुब्लो । मैले रोकेँ नजा भाइ, नजा ।
उसले भन्यो-धन्दा नमान्नोस् दिदी, तुरुन्त फर्किन्छु रुसी सेनालाई लखेटेर..........
बाहिर सडकमा टैंक हिँडेको घडघडाहटले घर थर्किन्छ, बीचबीचमा चट्.. चट्.. चट्.. गोलीका बौछार सुनिन्छ र एकनाससँग असंख्य बुट हिँडेको गम्भीर ध्वनि टाढाबाट नजिकै भइरहेको सुनिन्छ । दिउँसै अँध्यारो छ कि साँझ परिसकेको थियो, धुवाँले टप्प भएको थियो शहर ।
बाहिर सडकमा टैंक हिंडेको घडघडाहटले घर थर्किन्छ, बीचबीचमा चट्.. चट्.. चट्.. गोलीका बौछार सुनिन्छ र एकनाससँग असंख्य बुट हिँडेको गम्भीर ध्वनि टाढाबाट नजिकै भइरहेको सुनिन्छ । दिउँसै अँध्यारो छ कि साँझ परिसकेको थियो, धुवाँले टप्प भएको थियो शहर ।
म कराउँदै निस्केँ–नजा, नजा मेरो सानो भाइ, नजा । कट्..कट्..कट्...कट..मेसिनगन्, धायँ धायँ तोपको गोला, घड्..धड्..धड्.. एकनासको टैंकको हिँडाइ जसको लामो थुतुनोबाट धुवाँ ओकल्दै फेरि अर्को गोला छुट्छ । निसास्सिने धुवाँले हावा भरिन्छ, थुतुनोबाट फेरि धुवाँ ओकल्दै फेरि अर्को गोला छुट्छ अर्को पट्टि मुख फर्काएर ।
सडकमा लडाइँ सिद्धिसकेको थियो । एकनाससँग बख्तरबन्द गाडीहरू, टैंकहरू कुदिरहेका थिए सानासाना कलिला लाशहरू किच्दै । तिनका अगल बगलमा कालो बर्दी लगाएका पल्टन अगाडि बढिरहेका थिए । मैले फुटपाथको रातो चिप्लो भरखरैको रगतमा गोडा राख्दै चिच्याएँ– भाइ, नजा ।
एउटा सिपाहीले मलाई समातेर भन्यो-के गर्छेस् यहाँ ?
मैले भने–भाइलाई खोजिरहेकी छु ।
तेरो भाइ ! भित्तामा मासु र बोसो टाँस्सिएको टुक्रालाई देखाएर भन्यो- ऊ : तेरो भाइ !
आप्mना बलिया हातले मेरा पाखुरा तान्दै त्यसले मलाई छिँडीमा लग्यो, ढोकाभित्र ।
मैले भनेँ-छाड मलाई, म भाइलाई खोज्छु त्यहीं छ सडकमा भर्खरै निस्केको ।
उसले रिसले मेरो झुत्रो लुगा पनि च्यातिदियो र नांगी पारिदियो र .. र त्यहीँ भित्तामा, फेरि भूइँमा, चिसो छिडीको अँध्यारो भूइँमा ...
थियोडराको बोली भन्दाभन्दै मधुरो नसुनिने जस्तो भयो ....
-म च्याप्टिएँ भित्तामा, भूइँमा त्यही दिन जुन दिन हिटलरको दाहसंस्कार भयो र मेरो भाइको शरीरका टुक्रा सडकमा छरिए... अनि संयम छाडेर ऊ रून थाली ।
यहाँ पंक्तिकारका तर्फबाट केही थप्न उपयुक्त लाग्यो :
सिक्काका दुई पाटा हुन्छन्, यस सिक्काको यौटा पाटो मात्र मैले देखेको थिएँ । कीभमा देखेँ, मास्कोमा देखेँ र वासिंटन डिसीमा पनि त्यही पाटोमात्र देखेँ । लडाइँको अन्तिम दिनको बारेमा मैले धेरै सुनेको हो । अझै हामी प्रत्येक वर्ष ९ मर्ई विजय दिवस भनेर रुसी मित्रहरूसँगै मनाउँछौं । त्यस अन्तिम दिनमा पनि बर्लिनका सडकहरूमा गोली चलेका थिए र कुनै सोभियत सैनिकले वीरतापूर्ण शहादत प्राप्त गरेका सिनेमा पनि हेरिएकै हो । तर त्यस अन्तिम दिनमा थियोडरा पनि त्यही थिइन् र तिनको त्यो प्यारो सानो भाई रुसी सैनिकहरूलाई धपाउँछु भन्दै दौडेर तत्काल मारिएको र थियोडरालाई त्यस्तो स्थितिमा पुर्याएको कुरा पढ्दा बल्ल मैले सिक्काको अर्कोतिर दृष्टि दिएँ ।
मैले दूधले नुहाएको संझेका सोभियत सैनिक पनि आफ्नो कुरूप अनुहार लिएर थियोडरामाथि घोप्टिएका रहेछन् । जित्नेको ज्यादती कहाँ छिप्थ्यो र ? तिनले अन्तमा भनेकी छन् ‘मेरो यो कथा बर्लिनका धेरै नारीहरूको कथा हो’ । यसको अर्थ सोभियत सैनिकहरूका पनि यस्ता कुत्सित कार्य धेरै छन् । यस कथाले कृतिका पात्रहरूलाई पीडा दियो भने यस पंक्तिकारलाई पनि त्यस्तै पीडा भयो । प्रमुख पात्रले अन्तमा भनेको कुरामा म पनि पूर्ण समर्थन गर्छु, त्यो हो- ‘थियोडरा, मैले जुन कुरा तिम्रो यो कोठामा सुनें, विश्वास गर, त्यसले मलाई झन् बढी मानव बनाउँन मद्धत गर्यो होला ।’ हाम्रो मेलबाट प्राप्त । क्रमशः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच