आपूर्ति व्यवस्थापनमा अब्बल साल्ट ट्रेडिङ

लेखनाथ पोखरेल
Read Time = 9 mins

काठमाडौं । देशमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन, चिनी तथा अन्य खाद्य सामग्री आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ २७ गते आफ्नो ६१औँ वार्षिकोत्सव मनाउँदैछ । आयोडिनयुक्त नुन देशभर सहज बनाउन र हरेक वर्ष हुने नुुनलगायत विभिन्न खाद्यवस्तुको अभाव एवं कालोबजारी रोक्न पब्लिक/प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलमा रूपान्तरणसँगै साल्ट टे«डिङले आफ्नो व्यवसाय विस्तार गर्दै गएको छ । साल्ट ट्रेडिङ स्थापनाअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यापारीलाई नुन आयातकोे अनुमति दिँदै आएको थियो ।

सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु आपूर्तिमा उल्लेख्य भूमिका खेल्दैै आएको कम्पनीले नाकाबन्दी र कोरोना महामारीमा समेत आपूर्ति शृंखला प्रभावित हुन दिएन ।

नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य भूमिका खेल्दै आएको कम्पनीले नाकाबन्दी र कोरोना महामारीमा समेत आपूर्ति शृंखला प्रभावित हुन दिएन । निजी क्षेत्रका कतिपय व्यापारीले संकटमा ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरे तर त्यस्तो अवस्थामा पनि सहज रूपमा ग्याँसलगायतका खाद्यवस्तु उपलब्ध गराउँदै साल्ट टे«डिङ कालोबजारी र सिण्डिकेटविरुद्ध झनै सशक्त रूपमा प्रस्तुत भयो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा कम्पनीले काठमाडौं उपत्यकामा बिक्री कक्ष र मोबाइल भ्यानमार्फत् खाद्य तथा उपभोग्य वस्तुको बिक्री गरेको थियो भने उपत्यकाबाहिरका शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गरेको थियो । पछिल्ला वर्ष नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कर्पोरेसनले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रूपमा दैनिक आवश्यक सामग्री उपलब्ध गराएको विभागीय प्रबन्धक ब्रजेशकुमार झा बताउनुहुन्छ ।

साल्ट ट्रेडिङले हाल नुन, चिनी, आँटा, मैदा, गेडागुडी, चामल, तेल, ग्याँसका साथै कागज, मल, गहुँको बिउलगायतको पनि कारोबार गर्दै आएको छ भने औद्योगिकीकरण, वित्तीय क्षेत्रमा लगानी विस्तार गरेको छ ।

विगत वर्षहरूमा रासायनिक मलको चरम अभाव हुने गरेको थियो तर यस वर्ष किसानले त्यस्तो अभाव झेल्नुपरेन । मल आपूर्तिमा प्रधानमन्त्री तथा कृषि तथा पशुपक्षी विकासमन्त्रीको विशेष पहल र साल्ट ट्रेडिङको आयात र आपूर्तिको कुशल व्यवस्थापनका कारण यस वर्ष मल आपूर्ति सहज हुन सकेको विभागीय प्रबन्धक झाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यस वर्ष धानको सिजनमात्रै नभई गहुँको सिजनमा पनि मल अभाव हुँदैन । साल्ट टे«डिङले अनुदानित र गैरअनुदानित दुवै मल कृषकलाई उपलब्ध गराउँदै आएको छ । त्यतिमात्र नभई कृषकलाई बिउ पनि उपलब्ध गराउँछ । हाल नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिस गरेको गहुँको बिउ उपलब्ध गराउँदै आएका छौँ । हामीले किसानले उत्पादन गरेको गहुँ खरिदको ग्यारेन्टी गरेका छौँ, बजार मूल्यभन्दा एक रुपैयाँ बढी दिएर किसानको खेतमै गएर खरिद गर्र्छौँ ।’

कम्पनीले आफ्नै तेल, मैदा, आँटा उद्योग सञ्चानल गरेको छ भने एसटिसी ग्याँस प्लान्ट पनि सञ्चालनमा छ । त्यस्तै, वित्तीय क्षेत्रतर्फ सगरमाथा लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्समा लगानी छ ।

सामाजिक कार्यमा अग्रसरता
साल्ट ट्रेडिङ सामाजिक उत्तरदायित्वका काममा पनि अग्रसर देखिएको छ । कम्पनीको रजत जयन्तीका अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बालहितकारी पुरस्कार स्थापना गरेको छ । नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेसनको वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म दुई दर्जनभन्दा बढी व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिसकेको छ ।

सबल आर्थिक अवस्था
गुणस्तरीय र भरपर्दो सेवा र व्यवसाय विविधीकरणका कारण साल्ट ट्रेडिङ आर्थिक रूपमा सबल बनेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै २०७७/०७८ मा १० अर्ब ३९ करोड ९० लाखको कारोबार गरेको थियो । कम्पनीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा आठ अर्ब ५८ करोडका वस्तु बिक्री गरेको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा नौ अर्ब ६८ करोड, २०७७/०७८ मा १० अर्ब ३९ करोडको कारोबार गरेको थियो । २०७८/०७९ मा सात अर्ब १७ करोडको कारोबार गरेको थियो । २०७९/८० मा कारोबार आठ अर्ब ७७ करोडको कारोबार गरेको थियो । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षमा कम्पनीको कारोबार खस्किए पनि २०७७/०७८ मा पाँच करोड ३३ लाख र २०७८/०७९ मा चार करोड ९८ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा कमाएको छ । त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा छ करोड ३२ लाख सञ्चालन मुनाफा कमाएको थियो ।

कम्पनीको पृष्ठभूमि
तत्कालीन राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा नुन खान नपाएको गुनासोपछि राजा महेन्द्रले काठमाडौं फर्केर नुनको कम्पनी खडा गर्ने क्रममा साल्ट टे«डिङ जन्मिएको थियो । तत्कालीन वाणिज्य विभागका निर्देशक गेहेन्द्रदेव पाठकको अध्यक्षतामा नुनको कारोबार गर्ने ठूला–ठूला नौ व्यापारीलाई समेटेर एउटा समिति बनाई कम्पनी खोलिएको थियो । जसमा नुनको व्यापारमा संलग्न मुस्ताङदेखि कृष्णनगर, नेपालगञ्जका व्यापारी थिए । उनीहरूले नै नुनको आयातदेखि भण्डारण गर्ने काम गर्थे । तिनीहरू सबैलाई अनिवार्य सेयर होल्डर बनाएर कम्पनी खडा गरियो । साल्ट ट्रेड्रिङ कर्पोरेसनको स्थापना २०२० भदौ २७ गते भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?