चलचित्र क्षेत्र आफैंमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँ आफ्नो विद्यागत दक्षतानुसार राम्रो अवसर पाउने माध्याम पनि हो । एउटा चलचित्रलाई पूर्णता दिन युनिटमा धेरै विद्याका प्राविधिकले काम गरिरहेका हुन्छन् । यसैमध्येका एक हुनुहुन्छ प्रकाश व्यवस्थापनमा आफूलाई संलग्न गराइरहनुभएका सिरहा-७, ट्राफिक चौकका सुनिलकुमार राउत । विगत एक दशकदेखि चलचित्र क्षेत्रमा प्रकाश व्यवस्थापक रूपमा काम गरिरहनुभएका राउतले उहाँकै भनाइमा पाँच सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ । यस्तै उहाँले चलचित्र ‘बटर फ्लाई, लक्ष्य, पोई प¥यो काले, रूमालै छ चिनो, दानवी, देववाणी, मदेशी पुत्र, चक्रव्यु’लगायत चलचित्रमा काम गरिसक्नुभएको छ । चलचित्र क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । पेजेन्ट नेपाल फेशन मोडल अवार्ड २०१९, पेजेन्ट नेपाल फेशन मोडल अवार्ड २०२१, स्पर्श म्युजिक भिडियो अवार्ड २०२०, स्पर्श म्युजिक भिडियो अवार्ड २०२३, मिष्टर मोडल अफ दि वल्र्ड नेपाल २०२२, हिमालय फेशन रनवे सम्मानलगायतबाट उहाँ सम्मानित हुनुहुन्छ । एउटा चलचित्र पूर्णरूपले तयार हुन प्राविधिक पक्षको महत्वपूर्ण भूमिका हुने बताउनुहुने सुनिलकुमार राउतसँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यो क्षेत्रमा कसरी लाग्नुभो ?
केटा केटी उमेर त्यसमा पनि तराईको मान्छे भएकोले प्रायः हिन्दी फिल्म नै बढी हेरिन्थ्यो । फिल्म हेर्दा यो कसरी बनेको होला भन्ने मनमा कौतुहल्ता जागिरहन्थ्यो । उमेर बित्दै जाँदा एक दिन हाम्रै गाउँमा फिल्मको सुटिङ भइरहेको थियो, अचम्म मानेर हेरिरहें । म पनि यसरी फिल्ममा काम गर्न पाएहुन्थ्यो भन्ने उत्सुक्ता जाग्यो । रहर जागेरमात्र भएन हाम्रै गाउँका केही चिनजानको दाजुहरू फिल्ममा काम गर्नु हुन्छ भनेको सुनेको थिए उहाँहरूसँग भेटेर मनको कुरा राखें । फिल्ममा काम गर्ने भए काठमाडौं जानुपर्ने सुझाउनुभयो र उहाँहरूकै सहयोगले फिल्ममा काम गर्न थाले । अहिलेसम्म गरिरहेको छु ।
कलाकार नबनेर किन प्राविधिक क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने सपना भए पनि सुरुवाती समयमा प्रकाश व्यवस्थापनको काममा लागेको भएर होला यसैमा रमाइलो लाग्न थाल्यो र अहिले पनि लागिरहेको छु ।
सुरुवातमा यो क्षेत्रको कतिकोे अप्ठ्यारो भयो ?
कुनै पनि काम सुरु सुरुमा त अप्ठ्यारो लागि हाल्छ नि ! तर पनि अग्रजहरूको सहयोगीको रूपमा काम गर्दै जाँदा व्यावसायिक रूपमा यो पेशामा लागियो र अहिले बजारमा चलेका थुप्रै प्रकाश व्यवस्थापकसँग प्रतिस्पर्धा गर्दै यो स्थानमा पुग्न सफल भएको छु ।
घरमा के भनेर काठमाडौं आउनुभयो ?
खासमा त म अध्ययनका लागि भनेर काठमाडौं आएको हुँ । फिल्ममा काम गर्ने मेरो भित्री चाहना र यस क्षेत्रको क्रेजका कारण अन्ततः प्रकाश व्यवस्थाक बन्न पुगे ।
यो पेशाको माग कस्तो छ अहिले ?
फिल्म होस् या म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम नै किन नहोस् लाइटम्यान अर्थात् प्रकाश व्यवस्थाकको राम्रो माग थियो÷छ । अर्काे कुरा लाइटम्यान विना कसैको काम हुन सक्दैन । एउटा फिल्म पूर्णरूपले तयार हुन प्राविधिक पक्षको महत्वपूर्ण भूमिका हुने गर्दछ । कथावस्तु, लोकेशन, निर्देशकको भिजन र फ्रेमनुसार टाइटिङ हुन सकेन भने कलाकारले जति नै राम्रो जीवन्त अभिनय गरे पनि पर्दामा फिक्का देखिन्छ । त्यसैले युनिटमा लाइटम्यानको अहंभूमिका रहन्छ । राम्रो काम गर्नेहरूको जहाँ पनि माग हुनेगरेको छ । म आफूले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने भएकाले पनि होला सबैले खोज्नु र रोज्नु हुन्छ ।
हजारौं युवाशक्ति विदेशिन बाध्य छन्, यो क्षेत्रमा रोजगारीको सम्भावना देख्नुहुन्छ ?
एउटा चलचित्र सुटिङ युनिटमा कम्तीमा ५० जनाभन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने गर्छन् । कोरोना कहरपछि चलचित्र निर्माणमा कमी आएसँगै काम गरिरहेकाहरू पनि विकल्पको खोजिमा अन्यत्र पलायन हुनुपरेको अवस्था थियो । तर, अहिले समयले विस्तारै लय पक्डिन थालेको छ । चलचित्र बन्ने क्रम बढ्दैछ । गीतसंगीत क्षेत्र फराकिलो बनेको छ । थुप्रै टेलिभिजन सञ्चालनमा छ । वृत्तचित्र निर्माणले तीव्रता पाएको छ । सर्ट फिल्मलगायत प्रचारप्रसार सामग्री थुप्रै निर्माण हुन थालेका छन् । दक्ष र अनुभव भएका प्राविधिकको माग दिनप्रतिदिन बढ्दै गएको पाएको छु ।
यो पहिचान बनाउँदाको सम्झना ?
दुःखले नै सुख दिलाउने हो । कुनै पनि क्षेत्रमा संघर्ष विना सफलता सम्भव हुन्न । जीवन नै संघर्ष हो भन्ने राम्रोसँग बुझेको थिइन त्यो उमेरमा तैपनि काम सिकियो, गर्दै गइयो । विगतलाई सम्झनुभन्दा भविष्यलाई कसरी सार्थक तुलाउने भन्नेतर्फ ध्यान केन्द्रित छु यतिबेला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच