बा, फेसबुकमा फोटो हालौँ ?

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

-विशाल बस्नेत

बिहानैदेखि फेसबुक बाहरूका फोटोले भरिभराउ भएछ । उठ्नेबित्तिकै फेसबुक खोलेको थिएँ, स्क्रोल डाउन गर्दा बा नै बा देखेँ ।

त्यसपछि झल्यास ब्युझिएँ, ए ! आज त बाको मुख हेर्ने दिन पो हो त ।

उठेर यताउती बालाई हेरेँ । आमाले भनेपछी थाहा पाएँ, बा त खेतमा पुगिसक्नुभएछ ।

मेरा बा यस्तै हुन् । पहिले–पहिले अली अल्लारे हुँदा मलाई कहिलेकाहीँ दिक्क लाग्थ्यो, कति काम गर्नुपरेको होला भनेर ।

अनि आज सम्झन्छु, लेकवेसी गर्दा कहिलेकाहीँ त बासँग चाडपर्वमा पनि भेट हुँदैन्थ्यो । साच्चै बाले हाम्रा लागि नै गरेका हुन् भन्ने त्यो अल्लारे उमेरमा सोच आइदिएको भए, बाको दुःखहरूमा थोरै मल्हम बन्न सक्थ्यौँ कि ।

होस्, यी विगतका कुराहरू छाडिँदिउँँ । तर, मेरा बाले मेरो भविष्य कोर्न गरेका प्रयत्नहरू भने अहिले मानसपटलमा खेलिरहन्छन् ।

म सानो हुँदा ठूला बाको ज्वारिकोटमा राखेको पैसा चोर्दा बाले इजारे कट्टु भिज्नेगरी नहानेको भए, बाहिर साथीहरूसँग झगडा गरेर राती अबेर फर्किंदा बाले ढोका थुनेर बाहिरै नराखेको भए, पढ्न जाँदा खेल छुट्टिमा भागेर आउँदा सिर्कनाले सुम्ला नराखेको भए, बाख्रालाई घाँस काट्न जाँदा रित्तै फर्किएपछि बाख्रा खोरमा नै मलाई नराखेको भए, आज यो लेख्न सक्ने हुन्थेँ होला र ?

मलाई दैनिक बाप्रति निकै आदरभाव बढ्दै गएको छ । आजमात्र हैन दिनहुँ मेरा बाको मुख हेर्दा श्रद्धाले हृदय फराकिलो हुन्छ । मेरा बाका कुटाइमा मात्र हैन गाली र बोलीहरूमा पनि उपदेश र दैनिक जीवनका पर्ने कठिनाइबाट सहजता खोज्न गराएको सचेत भेट्छु, यसले झनै बाप्रति नतमस्तक हुन्छ ।

२०६३ मा एसएलसी दिएपछि काठमाडौँ हिड्ने बेलामा बाले दिएको चार हजार रुपैयाँको याद आइरहन्छ । सडकमा काम गरेर जोहो गरेको उक्त चार हजार रुपैयाँ नै मेरो जीवनको सबैभन्दा अमूल्य बन्यो ।

अहिले पनि मैले कमाएका हरेक हजारका नोटहरूमा बाको अनुहार देख्छु । बारीमा काम गरेर माटो नै माटो भएको हात टक्टक्याउँदै दिएको ती नोटहरूको सम्झनाले मलाई आफ्नो सपनाको मार्गमा हिँड्न प्रेरित गरिरह्यो ।

पत्रकारिता अध्ययन गर्ने व्यग्र आकांक्षा त थियो नै त्यसमाथि पत्रकार बन्ने सपनाले झक्झकाइरहेको थियो । पत्रकारिताविनाको के पढाइ भन्ने सोचले समाजशास्त्र लिएर पढ्दा सन्तुष्ट हुन नै सकिन । पछि सहपाठीहरूले प्लस टु गरिसक्दा पनि मलाई पत्रकारिता विषयको भोकले छट्पट्टी बनाइरहेको थियो ।

दुई वर्ष ब्रेक गरेपछी कैलाशकुट क्याम्पसवाट पत्रकारिता विषय अध्ययन गरेँ । मलाई पत्रकार बन्ने चाहना भए पनि बालाई भने छोरा यही बनिदेओस भन्ने विशिष्ट चाहना कहिल्यै रहेन । तर, बालाई विश्वास के थियो भने छोराहरू सत्मार्गमा हिँडे भने जिन्दगी सुन्दर हुन्छ ।

त्यसैले मेरा बा दुनियाँकै इमान्दार बा हुन भन्ने लाग्छ । अधिकांशलाई पनि यही लाग्ला । कहिलेकाहीँ सोच्छु, सायत यो देशमा नीति निर्माण गर्ने बाहरू पनि मेरै बा जस्तो भइदिए देश कति सुन्दर र हराभरा हुन्थ्यो होला ।

मेरा बालाई कसैले दिएनन् भन्ने मतलब छैन, उहाँलाई न राजनीति थाहा छ, न त देशको परिस्थिति नै । मेरा बा आफैँ नीति निर्माता हुन्, आफै कानुन हुन्, त्यसैले मेरो बा आफैँ भरिपूर्ण छन् । थाहा छ त केवल कृषिकर्म कसरी गर्ने, भैंसीलाई घाँस कति हाल्ने, खोलेफाँडो कतिबेला दिने । बरु मेरा बालाई छिमेकीको भैसीले कति दूध दिन्छ भन्ने चासो छ, बाख्राले कति वटा पाठा ब्यायो भन्ने चासो छ । अहँ ! फोहोरी राजनीतिले डुङ्डुङी गन्हाएकोे देशको अवस्थाबारे मेरो बालाई चासो नै छैन ।

मलाई एउटा कुरा चैँ के विश्वास छ भने बाको कुटाई, लात्ता र गाली खाएका मजस्ता छोराहरू गलत बाटोमा जान्छन् भने परिकल्पना नै गर्न सकिँदैन ।

फेसवुकमा बाको फोटो पोस्ट्याउनेहरूमा बाप्रति कति श्रद्धा छ भन्ने म आंकलन त गर्न सक्दिनँ, तर फेसबुकमा फोटो नराखे पनि मेरा बालाई कुनै आपत्ति छैन ।

म बर्दिबास निक्लने बेलामा मैले बालाई भनँे, ‘आज त बाको मुख हेर्ने दिन रहेछ नि ।’ मलाई जवाफ दिँदै बाले भन्नुभयो, ‘बिस्तारै जा, अनि खाना खान छिट्टै आइज ।’ सोचेँ, आहा ! मेरा बा कति महान ।

मेरा बालाई पनि फेसबुकमा हालेको फोटोदेखि विश्वास नै लाग्दैन । भन्नुहुन्छ, ‘छोरा, आवरणमा देखाउने श्रद्धाभन्दा हृदयबाट गरिने श्रद्धा उच्च हुन्छ ।’

मैले मनमनै सोचे बाको फोटो फेसबुकमा नराखेर राम्रै गरिएछ । बा रिसाउनु भएन छ । कुशे औँशीको अवसरमा फेसबुकमा बाको फोटो हालेर श्रद्धा व्यक्त गरिरहेको जानकारी गराउँदै मैले बालाई सोधेँ, ‘बा पनि फेसबुकमा तपाइँको फोटो राखौँ ?’

बाले भन्नुभयो, ‘होस्, पर्दैन । फेसबुकबाट होइन, हृदयबाट श्रद्धा व्यक्त गर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?