काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उहाँका छोराहरू मेङ्सो र सुहाङले दागबत्ती दिनुभएको थियो । नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति १७ तोपको सलामी अर्पण गरेको थियो । त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनुभएको थियो । पशुपति आर्यघाट पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो । नेम्वाङ निवास बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक, धुम्बाराही-चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको हो ।
नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेम्वाङको मंगलबार बिहान ३ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । घरमै बेहोस हुनुभएका नेम्वाङलाई राति १ बजेर ५० मिनेट जाँदा अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरेका थिए । उहाँको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको थियो ।
नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो ।
विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहनुभएका नेम्वाङले २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन मन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यस्तै, विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापनमा सक्रिय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहनुभएको थियो । पछिल्लो निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पाँचौँपटक निर्वाचित हुनुभएको थियो ।
संसद्को दुवै सदनबाट शोक प्रस्ताव पारित
संघीय संसद्को दुवै सदनले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराउनुभएको थियो । ‘शोक प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु’ उहाँले भन्नुभयो । नेम्वाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच