‘संघले समग्र ललितपुर जिल्लाका व्यवसायी समेट्नुपर्छ’

लेखनाथ पोखरेल
Read Time = 13 mins

हस्तकला नगरी ललितपुर उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पेशाले तामापित्तल व्यवसायी हुनुहुन्छ । तामापित्तलको हस्तकला उहाँको पुख्र्यौली व्यवसाय नै हो । तामापित्तलको हस्तकला व्यवसायमा संलग्न उहाँ विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । २०५७ सालदेखि ताम्रकार समाजका विभिन्न पदमा रहेर दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गर्नुभएका ताम्रकारले ताम्रकार समाजमार्फत् ललितपुरका विभिन्न जातीय समाज, खलः पुचःहरूबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा जोड दिनुभएको थियो । संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसँग मिलेर २०६९ चैत १५ देखि २१ गतेसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य-सचिवको जिम्मेवारीसमेत बहन गर्नुभएका ताम्रकार २०७५ सालमा संघको अग्रसरतामा लोपोन्मुख खड्गजात्रा पुनःजागरण गर्ने कार्यमा सक्रिय भएर लाग्नुभएको थियो । २०५१ सालमा संघमा आबद्ध हुनुभएका उहाँ पूर्वअध्यक्षद्वय नरेशकुमार श्रेष्ठ र मृगेन्द्रमान प्रधानको कार्यकालमा सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेर काम गर्नुभएको थियो ।

अजरमान जोशीको नेतृत्वकालमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएका ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको ४४औँ साधारणसभा १९ र २९ गते हुँदैछ । प्रस्तुत छ, सोही सन्दर्भमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले रवीन्द्रराज ताम्रकारसँग गर्नुभएको कुराकानीः-

तपाईं कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?
मेरो पुख्र्यौली पेशा नै तामापित्तल हो । हामी तामापित्तलका हस्तकला सामग्री उत्पादन गर्दै देशभित्र र देशबाहिर निर्यात गर्छौँ ।

 तामापित्तल व्यवसायको अवस्था कस्तो छ ?
त्यति राम्रो छैन । पहिले जस्तो छैन, नेपालीहरूको आर्थिक अवस्था बिग्रिएर पनि यस्तो भएको होला । तर पनि आवासीय भवन, होटल, रिसोर्ट, अपार्टमेन्टलगायतका तामापित्तलका हस्तकला सामग्री डेकोरेसनका लागि प्रयोग गर्ने क्रम भने बढ्न थालेको छ । तामापित्तलका परम्परागत भाँडाबर्तनको मागचाहिँ घट्दै गएको अवस्था छ ।

बिहेबारीमा तामापित्तलका भाँडा प्रयोगको अवस्थाचाहिँ कस्तो छ ?
अहिले एकदमै घटेर गएको छ । विवाहमा दाइजो प्रथा घटेर गएकाले पनि यस्तो भएको होला । तामापित्तलकै भाँडा खोज्नेले पनि पहिलेको जस्तो ठूलो खड्कुलो नभई सानो भाँडा खोज्छन् । पछिल्लो समय विवाहमा जिन्सी सामग्री नल्याउन भन्न थालिएकाले विवाहको लगनको महिनामा पनि खासै कारोबार छैन ।

तामापित्तलको हस्तकला स्वदेशमा कत्तिको माग छ ?
माग त स्वदेश, विदेश दुवैमा छ । नेपालीहरूमा पनि डेकोरेसनका लागि हस्तकला प्रयोग गर्ने क्रम बढेर गएको छ । विदेशको कुरा गर्र्नुपर्दा धेरैजसो चीनमा जान्छ । कोरोनाकालमा धेरै समस्या भयो, अहिले क्रमिक रूपमा सुधार हुँदै गएको छ ।

 व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
यसको बजार सीमित भएकाले प्रतिस्पर्धा त अहिले धेरै बढेर गएको छ । तर पनि कामै नपाउने अवस्थाचाहिँ छैन ।

प्रतिस्पर्धाका कारण व्यवसायबाटै पलायनको अवस्था त छैन ?
हामी ताम्रकारको पुख्र्यौली व्यवसाय नै तामापित्तल भएकाले व्यवसायबाट पलायनको अवस्था त छैन तर पनि पुस्तान्तरणमा भने समस्या देखिएको छ । बाबुबाजेले गरेको काम छोरानातिले नगर्ने, बरु थोरै कमाइ भए पनि जागिर नै गर्न खोज्ने प्रवृत्ति देखिएको छ । ताम्रकार समुदायमा पुस्तान्तरणमा समस्या देखिए पनि अन्य समुदायका व्यवसायी यसमा लाग्ने क्रम बढेको छ । समग्रमा भन्नुपर्दा तामापित्तल व्यवसायको अवस्था त्यति नराम्रो पनि छैन, त्यति राम्रो पनि छैन । ठीक ठीकै छ ।

विगतमा पानी राख्न तामापित्तलका गाग्री प्रयोग गर्ने प्रचलन थियो तर अहिले गाग्रीलाई प्लाष्टिकका भाँडाले विस्थापित गरेको अवस्था छ । खानेपानीका लागि तामापित्तलकै गाग्री प्रयोग गर्नुको कारण केही छ ?
खानेपानीका लागि तामापित्तलका भाँडाको प्रयोग अहिले फेरि बढ्न थालेको छ । तर, गाग्रीका रूपमा नभई फिल्टर, ग्लास, जगलगायतका सामग्री प्रयोग हुने गरेको छ । किनभने तामापित्तलका भाँडामा राखेको पानी स्वच्छ र कीटाणुरहित हुन्छ । ब्लडप्रेसर नियन्त्रण गर्छ, रगत सफा गर्छ, ग्यास्टिकको समस्या हुँदैन भन्ने वैज्ञानिक रूपमै प्रमाणित भइसकेको छ । त्यही भएर पनि पछिल्लो समय तामापित्तलप्रतिको जनचेतना बढेकाले तामापित्तलका भाँडाप्रति उपभोक्ताको चासो बढेको देखिन्छ ।

संघको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ, अवस्था कस्तो छ ?
ललितपुर उद्योग वाणिज्य संघ २०२३ सालमा स्थापना भएको संस्था हो, जसमा म झण्डै ३० वर्षदेखि आबद्ध छु । कार्यसमितिमै बसेर काम गरेको पनि १६ वर्ष भइसकेको छ । कार्यसमितिमा हुँदा मैले गरेको कामको मूल्यांकन गर्दै साथीहरूले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्न आग्रह गर्नुभएकाले मैले उम्मेदवारी घोषणा गरेको हुँ । ५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा मैले पु¥याएको योगदानका आधारमा आफू अध्यक्ष पदका लागि योग्य ठानेको छु ।

तपाईंका एजेण्डा के छन् ?
संघमा २८ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेर निर्वाह गरेको सक्रिय भूमिका र विगतमा संघमा रहेर उद्योगी, व्यवसायीको हितमा गरेको कामका आधारमा संघको विशेषता, चुनौती र अवसर सूक्ष्म रूपमा केलाउन सक्ने, अग्रज र अनुभवीहरूको साथ लिँदै नयाँ पुस्तालाई समेत समेटेर जान सक्ने क्षमता मसँग रहेको छ । आमव्यवसायीमाझ स्वच्छ छवि भएको व्यक्तिका रूपमा पहिचान बनाएको छु भन्ने लाग्छ ।

मैले निजी क्षेत्रका मुद्दा र समसामयिक सवालमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा आफ्ना विचार तथा धारणाहरू लेख्दै पनि आइरहेको छु । आफ्नो समग्र अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडका रूपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितका सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्यका साथ आएको छु । मेरो जीवनको अधिकांश समय उद्योग, वाणिज्य क्षेत्रमा बिताएको छु । मेरो ध्येय र एजेण्डा अहिलेसम्मका कार्यले देखाइसकेको छ ।

संघले समग्र ललितपुरलाई समेट्न नसकेको गुनासो छ नि ?
हो, संघ स्थापनाको पाँच दशकभन्दा बढी भइसक्दा पनि समग्र जिल्ला समेटिन नसकेको अवस्था छ । जसका कारण नयाँ संघ संगठनहरू आएका छन् । ललितपुर चेम्बर, गोदावरी नगर उद्योग वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ, महालक्ष्मी उद्योग वाणिज्य संघ, महालक्ष्मी चेम्बरलगायतका संस्था गठन भइसकेको अवस्था छ । विगतमै संघले सबै क्षेत्रलाई समेट्ने पहल गरेको भए पनि यति धेरै संस्था आउने थिएनन् । आगामी दिनमा सबै संस्थासँग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । ललितपुर जिल्लाका तीनवटा नगरपालिका र तीन गाउँपालिकासम्म पनि संघ पुग्नुपर्छ । ललितपुरका कतिपय गाउँ एकदमै विकट छन् । दक्षिणमा ठूला दुर्लुङ, आश्राङलगायतका विकट गाउँमा पर्यटन, कृषिको प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै, बुङमति, खोकना, लुभुको आफ्नै विशेषता छ । छम्पीमा ठूलो मेगा प्रोजेक्टका रूपमा नेपाल आर्ट भिलेज स्थापना हुँदैछ । त्यहाँ ललितपुरकै हाम्रा व्यवसायीहरूले काम सुरु गर्नुभएको छ । छम्पी महत्वपूर्ण पर्यटन गन्तव्य बन्न सक्छ ।

त्यस्तै, ललितपुरलाई हस्तकलाको शहर भनिन्छ । ८० प्रतिशत हस्तकला यहाँ उत्पादन हुने गरेको छ । तर, बिचौलियाका कारण व्यवसायीले राम्रो फाइदा लिन नसकिरहेको अवस्था छ । त्यसैगरी वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुर नगरीलाई हस्तकला नगरीको उपाधि दिएको छ । तर, हस्तकला नगरीको उचित व्यवस्थापन गर्न नसकेमा त्यो उपाधि खारेज पनि हुनसक्छ । त्यसमा पनि संघले काम गर्नुपर्नेछ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघसँग सहकार्य गरी संघले काम गर्नेछ ।

त्यस्तै, ललितपुरमा झण्डै ३० वटा वस्तुगत संघहरू छन् । सबै वस्तुगत संघका समस्या फरक छन् । ती वस्तुगत संघहरूका समस्या सम्बोधन गर्ने पनि मेरो विशेष प्रयास रहनेछ ।

ललितपुरमा कस्ता व्यवसायीको बाहुल्यता छ ?
ललितपुरमा साना मझौलादेखि ठूला औद्योगिक घराना चौधरी ग्रुप, पञ्चकन्या ग्रुपलगायत ललितपुरमै छन् तर धेरैजसोको कार्यक्षेत्र काठमाडौं छ । ललितपुर उनीहरूको बासस्थानमात्रै भएकाले ललितपुरले ती घरानाबाट फाइदा लिन सकेको अवस्था छैन । त्यस्तै, सरकारबाट पनि व्यवसायी उपेक्षित छ । सरकारले व्यवसायीका समस्या समाधानमा चासो नदिने, करका लागि निचोर्ने मात्रै गरेको देखिन्छ । प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकारसँग समन्वय गर्दै व्यवसायीका समस्या समाधान गर्न पनि संघमा योग्य, सक्षम र इमान्दार व्यक्ति नेतृत्वमा आउनुपर्छ । त्यस्तो नेतृत्वले मात्रै संघको गरिमा र उचाइ बढाउन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?