म्याग्दी (दरबाङ) । गर्विलो इतिहास र प्राकृतिक सुन्दरताले सुसज्जित म्याग्दी पर्यटकीय जिल्लाको रुपमा परिचित छ ।
यहाँका प्राकृतिक दृश्यहरुले सन् १९४७ भन्दा अघिदेखि नै भारतमा शासन गरेका अंग्रेजहरुलाई लोभ्याएको र खोजीगर्दै जाँदा धवलागिरि हिमाल पत्ता लागेको इतिहासकारहरुको भनाइ छ ।
सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा देखिएको ‘सेतो पहाड’ (जसले उनीहरुलाई लोभ्याएको थियो र पछि खोजी गरेर पत्ता लगाएका थिए) धवलागिरि देखि सुनको खानी रहेको अनुमान गरिएको ‘सुन छहरा’ म्याग्दीमा रहेका छन् ।
म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरी भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहाँसविद् कर्णबहादुर बानियाँको भनाइ छ । बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।
म्याग्दीका इतिहाँसविद् एवम् भूगोलका ज्ञाता बानियाँका अनुसार म्याग्दीमा मनमोहक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध छन् । ती ठाउँहरुको समुचित प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने म्याग्दी पर्यटकीय आकर्षण र अनुसन्धान केन्द्रको प्रमुख स्थल हुनसक्ने बानियाँको भनाइरहेको छ ।
“म्याग्दी हिमाल,ताल,छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यले युक्त भएको हुँदा यहाँको संस्कृति पनि श्रृङ्गारिक र मौलिक छ” म्याग्दीका साहित्यकार तथा इतिहासका जानकार कृष्णबहादुर वानियाँले भन्नुभयो ।
वानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउने प्रशस्त सम्पदाहरु हुँदाहुँदै पनि समुचित प्रयोग,प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरु अझै पनि ओझेलमा परेका छन् ।
त्यसका साथै यहाँ दर्जनौं हिमश्रृङ्खलाहरु,छहरा,ताल,गल्छी,झरनाहरु रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्यहरु म्याग्दीमा विद्यमान छन् ।
म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो ।
गल्छीको उत्तर–पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् । यी दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ ।
धवलागिरीको टाकुरादेखि दानासम्मको उचाइमा करीब छ हजार ,नौ सय,६७ मिटरको अन्तर छ । धवलागिरीको चुचुरादेखि दानासम्मको त्यही उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानिएको छ । जसका कारण यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको हो ।
काली गण्डकी र ठूली भेरीको बीचमा बसेको र म्याग्दीको भूगोललाई समेटेको धौलागिरि हिमश्रृङ्खलामा एउटा आठ हजार मिटर भन्दा अग्लो चुचुरो छ भने १३ वटा सातहजार मीटर भन्दा अग्ला र ४९ वटा छ हजार मीटर भन्दा अग्ला चुचुरा रहेका भूगोलका जानकारहरुले बताएका छन् ।
भूगोलविद् श्याम अधिकारीका अनुसार यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । यसको पूर्वमा काली गण्डकी, पश्चिममा भेरी नदी, उत्तरमा वारबुङ खोला र दक्षिणमा जिरवाङ खोला छन् ।
त्यसैगरी भूगोल तथा इतिहासका जानकार कर्ण बानियाँका अनुसार सन् १८५८ मा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा (माउण्ट एभरेष्ट) हो भन्ने कुरा पत्ता नलागुञ्जेल धवलागिरी हिमाललाई नै संसारको सर्वोच्च टाकुरा मानिन्थ्यो । तर अहिले धवलागिरी पहिलो विश्वको सातौं अग्लो चुचुरोको रूपमा रहेको छ जुन ८,१६७ मिटर अग्लो छ । धवलागिरी दोस्रो ७,७५१, धवलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौं ७,६१८ र धवलागिरी छैटौं ७,२६८ मिटर अग्ला छन् । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा हिमाल हो ।
यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो ७,१९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेका अन्य हिम चुचुराहरूमा चुरेन (मुख्य) ७,३८५, चुरेन (पूर्व) ७,३७१, चुरेन (पश्चिम) ७,३७१, पुथा ७,२४६, फाल्स जंसन ७,१५०, जंसन ७,१०८, हवेली ६,१८२ र हिमचुली ५,९११ मिटर अग्ला छन् ।
धवलागिरीे हिमाल आरोहणको प्रयास सन् १९५० देखि नै शुरु भएको भएतापनि सर्वप्रथम सन् १९६० मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहण दलको संयुक्त टोलीले यो हिमाल आरोहण गरेको थियो । यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला अन्नपूर्ण हो ।
यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरी नामक अर्को हिमाल पनि पर्दछ । म्याग्दीमा रहेका हिम श्रृङ्खलाका विभिन्न चुचुराहरू आरोहण गर्ने क्रम निरन्तर चलिरहेको छ । धवलागिरी हिम श्रृङ्खलाका पाँचवटा चुचुराको दक्षिण–पश्चिमतिर मोहडा रहेको छ । यी हिमालहरूले यो जिल्लाको पर्यटन विकासमा राम्रो टेवा दिएका छन् ।
छहरा र तालहरूले सुशोभित छ म्याग्दी
धवलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँका अनुसार म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अनेकौं प्रकारका छहराहरू छन् । यो क्षेत्रको पर्यटन विकासमा छहराहरूको धेरै महत्व छ । किनकि ती छहराहरूले पर्यटकहरूको मन प्रफुल्ल पारिदिन्छन् ।
“यहाँ रहेका छहरा र तालहरुमा सुन्दर म्याग्दीको प्राकृतिक मुहार देख्न सकिन्छ” अध्यक्ष बानियाँले भन्नुभयो “जिल्लाका ग्रामीण भेगहरुमा रहेका प्राकृतिक तालहरुमा हिमालको प्रतिविम्व मुस्कुराइरहेको देख्न सकिन्छ भने छहरा तथा झरनाहरुमा प्रकृतिसँगै पर्यटकहरु रमाइरहेको देखिन्छ ।”
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारदेखि पश्चिममा रहेको अर्मन र बराङ्जा गाउँको धुरीबाट एउटा झरना तलतिर झरेको छ । यो झरनालाई अर्जे झरना भनिन्छ । यो झरना बराङजा गाउँमा पुगेपछि अर्जे खोलाको नामबाट चिनिन्छ । यो नदी सिङ्गा तातोपानीनेर पुगेर म्याग्दी नदीमा मिसिन्छ ।
उडाइने छहरा :
बेनीबजारबाट करीब दुई कि.मि.पश्चिममा रहेको तोराखेत गाउँबाट बग्दै आएर म्याग्दी नदीमा मिसिने उडाइन छहरा निकै आकर्षक छ । यो छहरा गाउँको पुछारबाट तल पहरामा ठोक्किन्छ अनि पुनः तल झर्दछ र एकै ठाउँमा दुईवटा छहरा देखिन्छ । यसरी एकै ठाउँमा दुइवटा छहरा निस्कँदा पानी उडेजस्तो देखिन्छ । त्यसैले यसलाई उड्ने छहरा भनिन्छ । यो झरनाको स्थायी मूल नभएको हुनाले वर्षा याममा मात्र देख्न सकिन्छ । यो झरना बेनी नगरपालिका वडा नं २ को बगरफाँट गाउँहुँदै म्याग्दी नदीमा गएर मिसिन्छ ।
नारच्याङ छहरा :
नारच्याङ गाउँको शिरमा अन्नपूर्ण हिमाल पर्दछ । यो हिमालको दक्षिणतिर रहेको चुचुराबाट निस्कने मृस्तीखोला नारच्याङ गाउँभन्दा माथिबाट करीब ७,५०० फीटको उचाइबाट तल खसेर सुन्दर छहरा बनेको छ ।
यो छहरा हिमालबाट आएको पानीबाट बनेको हुनाले बाह्रैमास देख्न सकिन्छ । दानाबाट हेर्दा नारच्याङ छहरा अन्नपूर्ण हिमाल, नारच्याङको बुक्यान र ठूला–ठूला पहाडको मुखबाट धरातलसम्म झरेको लठ्ठी जस्तो विचित्रको सीधा सेतो छहरा देखिन्छ ।
महभीर छहरा :
महभीर गाउँबाट बग्ने छहरालाई महभीर छहरा भनिन्छ । यो छहरा समुद्र सतहदेखि करीब ६,००० फीट उचाइको महभीर लेकबाट झरेको छ ।
यसको दृश्य अन्य छहराभन्दा फरक किसिमको छ । किनभने यो छहरा पहाडको टुप्पाबाट सिधै धरातलमा नखसी पहाडको मुखबाटैे कुलो बनाए जस्तो गरी एक किसिमको गोलाकार मार्ग बनाइ बगेको छ र काली नदीमा मिसिएको छ ।
यो छहरा वर्षा याममा निकै ठूलो देखिएपनि हिउँदमा सानो हुन्छ । यसको वरपर अग्ला–अग्ला पहाडहरू, घना जङ्गल र कहाली लाग्ने भीर देखिने हुनाले यहाँ पुग्दा जो कोहीको पनि जीउ शिरिङ्ग भएर रोमाञ्चित हुन्छ ।
रूप्से छहरा :
अन्धगल्छीको नजिकमा बग्ने रुप्से छहरा विश्व प्रसिद्ध झरना हो । यो छहराको पानी धवलागिरी हिमालबाट उत्पत्ति भएर कालीगण्डकीमा मिसिन्छ । यो झरना करीब १५ हजार,एक सय १७ फीटको उचाइमा रहेको रूप्से लेकबाट बग्दै आएको छ । पहाडको मुखबाट बग्दै आएको पानी हुत्तिएर तल भुइँमा खस्दा वाफ वा धुवाँ उडेजस्तो देखिन्छ । पानीका ससाना कण बनेर हावामा उडेको जस्तो देखिने यो छहराको दृश्य विचित्रको छ । यसको धारा खस्ने धरातल कडा चट्टानले बनेको छ । पानी चट्टानमा ठोक्किंदा निस्केका ससाना जलकण सूर्यको किरणसँग मिसिंदा सप्तरङ्गी इन्द्र धनुषको आकार अर्थात् इन्द्रेणी परेजस्तो देखिन्छ । यो छहराको दृश्यबाट मुग्ध भएर यात्रीहरू बाटो हिंड्दाहिंड्दै लट्ठ परेर टोलाइरहन्छन् । तर दुई वर्ष अघि रुप्से झरनामा आएको बाढीले यो अझरनाको सौन्दर्य विगारिदिएको छ ।
सुन छहरा :
मङ्गले र चिमखोला गाउँको धुरीबाट एक सुन्दर झरना बग्दछ । यो छहरा समुद्री सतहदेखि छ हजार फीट उचाइ माथिबाट खसेको छ । स्थानीय मानिसले यो छहरा खस्ने ठाउँमा सुनको खानी छ भन्दछन् । त्यसैले यो छहरालाई सुन छहरा भनिएको हो । यो छहरा रघुगङ्गामा मिसिन्छ ।
काली गण्डकीको बालुवामा सुन पाइन्छ भन्छन् तर गलेश्वरभन्दा माथिको भागमा बोटेहरूले बालुवा केलाएर सुन निकाल्ने काम गरेको पाइँदैन । त्यो ठाउँदेखि तल मात्र बालुवा केलाएर सुन निकाल्ने काम गरिन्छ । त्यसकारण सुन छहरामा सुनको खानी हुन सक्ने कुरामा विश्वास गर्न सकिने वानियाँले बताउनुभयो ।
तालहरू
यस जिल्लामा थुप्रै रमणीय तालहरू छन् । वानियाँका अनुसार यहाँका तालहरूलाई बराह ताल भन्ने चलन छ ।
गुर्जाको बराह ताल : यो जिल्लाको उत्तर–पश्चिमी क्षेत्र गुर्जा गाउँमा एउटा ताल छ जसलाई बराह ताल भनिन्छ । यो ताल सात सय वर्गमिटरमा फैलिएको धवलागिरि गाउँपलिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
लुलाङ गाउँबाट उकालो चढेपछि देउराली पुगिन्छ । जहाँबाट करिब तीन घण्टा जङ्गलको बाटो ओरालो झरेपछि गुर्जा गाउँमा पुगिन्छ । गाउँमा पुग्नुभन्दा पहिले बराह ताल आइपुग्दछ । यो तालको उत्तरतिरको मूल बाटोबाट पहिलो चोटी आएको नव आगन्तुक हिंड्न र घोडा लैजान हँदैन भन्ने चलन रहेको वडाअध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
अध्यक्ष छन्त्यालका अनुसार नयाँ मान्छे सो बाटोबाट हिंडेमा वा घोडा लगेमा बराह रिसाउँदछन् र अनिष्ठ हुन्छ भनिन्छ । यहाँका जनतामा तालको माथिबाट नवागन्तुक हिंडेमा, घोडा हिंडाएमा वा देवतालाई नचढाइकन मकैको डाँठ चुसेमा बराह रिसाउँदछन् र असोजमा पानी पर्दछ भन्ने अन्धविश्वास छ ।
त्यसैगरी नागीको बराह ताल, निस्कोटको बराह ताल, पाउद्वारको खयरबराह ताल, मङ्गलेखानीको बराह ताल , दहखर्क बराह, ठूलीधुरी बराह, रुवाचौर काली बराह, रुवाचौर पाताल्नी बराह र श्रीखर्क बराह लगाएतका कैयौं तालहरु रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच