१९ औँ एसियाली खेलकुद : बक्सिङमा रविनको जित

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । एसियाली खेलकुदको बक्सिङमा नेपालका रविन थापाले जित निकाल्नुभएको छ । पुरुष ५१ केजी तौल समूहमा रविनले इण्डोनेसियाका कोएबानु डियोलाई हराउनुभयो । राउन्डर अफ ३२ को खेलमा रविनले डियोलाई चार-एकले हराउनुभएको थियो ।
यस्तै, सोमबार नै भएको जुडोमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरे पनि सबै पराजित भए । नेपालका मनिता श्रेष्ठ, जंगबहादुर सारु र १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित हुनुभयो ।

महिला ५७ केजीमुनि मनिता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित हुनुभयो । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराउनुभयो ।

यस्तै, तेक्वान्दोमा नेपालले खराब सुरुवात गर्‍यो । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये चार खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् । सोमबार सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अञ्जली तामाङ पराजित हुनुभयो । पुरुष ५८ केजीमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित हुनुभएको हो । उहाँ ४-१२ र २-० अंकले पराजित हुनुभयो ।
यसैगरी महिला ४९ केजीमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित हुनुभयो । उहाँ थाइल्याण्डकी खेलाडीसित १२-० तथा १०-० अंकले पराजित हुनुभयो । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रि-क्वाटरफाइनल प्रवेश गर्नुभएको थियो ।

यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसक्नुभएको छ । एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ । यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कांस्य पदक प्राप्त गरेको थियो ।

यसैबीच एसियाली खेलकुदअन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डी’ मा नेपालसहित युएई, चीन र अफगानिस्तान रहेका थिए । नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको छ ।

उसुमा १३औँ सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौँ स्थानमा रहनुभयो । विजय ९.७०३ अंक ल्याउँदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौँ हुनुभएको हो ।

यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याउनुभयो । रजत विजेता इण्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९.७६० ल्याउनुभयो । सविता राईले ८.७९६ अंक ल्याउँदा उहाँ १४औँ स्थानमा खुम्चिनुभयो ।

उसुको सान्सौं (फाइट) मा एलिना चौधरी र रोहित चुनारो पराजित हुनुभयो । महिला ५२ केजी तौल समूहको क्वाटरफाइनलमा एलिना इरानकी मानसोर्‍यान इलाहेसँग पराजित हुनुभयो । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वाटरफाइनलमा किर्गिस्तानका एमानबेकोभ अभाजबेकसँग २-० ले पराजित हुनुभयो ।

सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसँग २-० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसँग क्वाटरफाइनलमा पराजित भएपछि कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुक्नुभयो ।

इ-फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २ : १ अंकले पराजित हुनुभयो । यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित हुनुभयो । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित हुनुभयो । उहाँले प्रि-क्वाटरफाइनलमा पाकिस्तानका खेलाडीलाई हराउनुभएको थियो ।

यस्तै, जुडोमा नेपालका विकास विक तुर्कमिनिस्तानका खेलाडीसित १०ः० अंकले पराजित हुनुभयो । यसअघि उहाँले कम्बोडियाका खेलाडीलाई १०ः० अंकले पराजित गर्नुभएको थियो । देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित हुनुभयो ।
यसैगरी पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउण्डमा एलेक्स शाह आठौँ स्थानमा रहनुभयो । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)का खेलाडीसित पराजित भयो ।

यस्तै, बक्सिङमा पनि नेपालकी संगीता सुनार ६० किलो तौल समूहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समूहमा पराजित हुनुभयो । सुनार भियतनामकी खेलाडीसित ५-० अंकले पराजित हुनुभयो । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५-० अंकले नै पराजित हुनुभयो । महिला ५४ किलो तौल समूहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ः० अंकले पराजित हुनुभयो ।

महिला क्रिकेटमा भारतलाई स्वर्ण
भारतले १९औँ एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेटतर्फ स्वर्ण जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १९ रनले हराउँदै स्वर्ण जितेको हो । जितका लागि ११७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो । श्रीलंकाकी भिष्मी गुनारत्नेले २२ बलमा चार चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । त्यस्तै, निलक्शी डी सिल्भा २३ र ओशादी रनासिंघे १९ रनमा आउट हुनुभयो । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतकी तीव्र गतिकी बलर तितास सधुले चार ओभरमा एक मेडनसहित ६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । राजेश्वरी गायकवाडले दुई विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११६ रन बनाएको थियो । भारतकी ओपनर स्मृति मन्धनाले ४५ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको योगदान दिनुभयो । त्यस्तै, जेमिमाह रोड्रिगसले ४० बलमा पाँच चौकासहित ४२ रन बनाउनुभयो । श्रीलंकाकी उदीषिका प्रबोधानी, सुगानदिका कुमारी र इनोका रनाविराले समान एक विकेट लिनुभयो ।
उता बंगलादेशले पाकिस्तानलाई हराउँदै कांस्य जितेको थियो । नेपाली महिला टोली भने एसियाली खेलकुदमा सहभागी थिएन । पुरुष टोलीले भने समूह चरणमा बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?