पाल्पामा बालविवाह गरेका तीन जोडीलाई फर्काइयो

अघिल्लो दिन धुमधामले विवाह, अर्को दिन बदर !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा धुमधामका साथ भएको बालविवाह बदर गरिएको छ । तामझामका साथ जन्ती आएर दुलाही भित्र्याएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर यहाँका तीन जोडीको बालविवाह बदर गरेका हुन् ।

४ असोज २०८० मा वडा ३ खादरकी १८ वर्षीया बालिका र वडा ४ घोरमाका २१ वर्षीय युवकबीच भएको विवाह रद्द भएको छ । दुवैका आमाबुबाको मञ्जुरीमा असोज ४ गते उनीहरुको मागी विवाह भएको थियो तर विवाह भएको एक दिनमै उनीहरुको विवाह रद्द भएको हो ।

यस्तै सोही दिन वडा ७ ज्यामिरे चारघरेकी १६ वर्षीया बालिका र वडा ४ मित्यालका १८ वर्षीय बालकबीच भएको विवाह पनि रद्द भएको छ । गत असारमा पनि वडा ४ झ्यालटुङ्की १६ वर्षीय बालिकाको नवलपरासीका एक केटासँग बालविवाह भएको थियो । उनीहरुको पनि जनप्रतिनिधि, प्रहरीको पहलमा अभिभावकसँग समझदारी गरी विवाह रद्द गरिएको छ । अहिले ति बालिकाले कक्षा १० मा अध्ययन गर्दै आएकी छन् ।

बालिकाको उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँका जनप्रतिनिधि, प्रहरी र पालिकाका कर्मचारीहरुले अभिभावक र केटाकेटीको समझदारीमा ति जोडीको विवाह रद्द गरेका हुन् । वडाका जनप्रतिनिधि, प्रहरी र पालिकाका बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन सहित दुवै पक्षका अभिभावकहरुको छलफलबाट विवाह रद्द गरेर ती बालबालिकालाई आफन्तको जिम्मा लगाइएकोे छ । उमेर नपुगी विवाह गरेका ति जोडीलाई विवाह भएको अर्को दिन नै समझदारीमा घर फर्काइएको गाउँपालिकाका बालमैत्री कार्यक्रमका फोकल पर्सन कुशमाखर पाण्डेले बताउनुभयो ।

मगर संस्कृति अनुसार राती नै विवाह गरेर लैजाने परम्परा भएकाले विवाह भएको अर्को दिन मात्र थाहा भएको उहाँले बताउनुभयो । उमेर नपुगी बिवाह गर्नु कानुनी अपराध भएको भन्दै स्थानीयले जनप्रतिनिधिलाई जानकारी गराएपछि मात्र थाहा पाएको पाण्डेको भनाई छ । ‘स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा बालिकाहरुलाई अभिभावको जिम्मा लगाएका छौँ’ फोकल पर्सन पाण्डेले भन्नुभयो । ‘अहिले दुवै जोडीको उमेर २० वर्ष पुगेको छैन । कानुनी रुपमा विवाह गर्न अझै केही वर्ष बाँकी छ । २० वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बाल विवाह बदर गरेका छौँ ।’ उमेर नपुगी हुँने बाल विवाह अझै पनि हाम्रो समाजमा भइरहेका छन् । यस्तो अपराधको अन्त्य गर्न हामी सबैको दायित्व रहेको भन्दै उमेर नपुगी विवाह भएका जोडीलाई घर फर्काएको बालमैत्री कार्यक्रमका फोकल पर्सन पाण्डेले बताउनुभयो ।

यस्तै बुधबार वडा १ राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ । राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेन । ति बालिकाको नवलपुरको बौद्धिकालीमा विवाह हुन लागेको जानकारी प्राप्त हुन साथ टोली उनको घर पुगे पनि त्यहाँ कोही पनि नभेटिएको वडा अध्यक्ष यमबहादुर रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रहरी आएको थाहा पाएर हतार हतारमा विवाह गरेर लगि सकेको हुन सक्ने भएकाले हामीले नवलपुर प्रहरी प्रशासनलाई जानकारी गराई सकेका छौं ।’ उहाँका अनुसार अहिलेसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन । निस्दीमा जनजाति र आदिवासी समुदायमा बालविवाह प्रथा अझै कायम छ । अहिले अधिकांश बालविवाह प्रेमविवाहको रुपमा हुने गरेको छ । अभिभावकहरुले भन्दा पनि कलिलै उमेरमा आफै विवाह गर्ने प्रचलन झाँगिएको छ ।

नेपालमा बालविवाहविरुद्धका थुप्रै ऐन-कानुन तथा नीति बनेका छन् । नेपालको संविधान, मुलुकी संहिताले बालविवाहलाई गैरकानुनी भनेको छ । बालविवाह गर्नेलाई कैद र जरिवानाको व्यवस्था छ । तर अझै यो कुसंस्कारले गहिरोसँग जरा गाडेको देखिन्छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ भने मुलुकी देवानी संहिता ऐन र अपराध संहिता ऐनले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ ।

उमेर नपुगी गरेको विवाह स्वतः रद्द हुने व्यवस्था छ भने बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । बालविवाह रोक्न प्रशस्त सरकारी तथा गैरसरकारी पहल भएका छन् । तर अवस्था उस्तै छ । कलिलै उमेरमा हुने विवाहले स्वास्थ्यमा त प्रभाव पारिरहेको छ नै, दीर्घकालीन रूपमा मुलुककै आर्थिक प्रणालीमा असर पुग्ने अधिकारकर्मीको भनाइ छ ।

बालविवाहको मुद्दा अदालतमा निकै कम आउने गर्छ । आइहाले पनि सकेसम्म पारिवारिक रूपमै मिलापत्र गर्ने या बीचमै फिर्ता लिने गरेका कारण पनि उचित सुनुवाइ हुन नसकेको कानुन व्यवसायी शिव प्रसाद देवकोटा बताउनुहुन्छ । पछिल्लो समय देखासिकी र सामाजिक सञ्जालको प्रभावमा परेर उमेर नै नपुगी विवाह गर्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा निम्तने शारीरिक तथा मानसिक समस्या, सामाजिक असर, पढाई बीचैमा छाड्नुपर्दाको प्रभावजस्ता विषयमा पर्याप्त चेतना दिनुपर्ने आवश्यकता देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?