नेपालले खेलकुलको क्षेत्रमा अग्रगमनको प्रयास गरिरहेको छ । यसमा सर्वाधिक सफल क्रिकेटमा भइरहेको छ । नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रको ख्याति वीरता र बहादुरीको हो । पहिलो र दोस्रो महायुद्धमा नेपालीले विश्वमा जुन बहादुरी देखाए त्यसबाट नेपालको ख्याति संसारव्यापी बन्नपुग्यो । नेपालको त्यस बेलाभन्दा अगाडि देखिको वीरताको ख्याति हालका दिनसम्म कायम छ । यति भएर पनि हाम्रो ख्याति र चर्चाका क्षेत्र अरू पनि छन्, ती क्षेत्रमा हामी पछि परिरहेका छौं, अब सबैतिर अगाडि बढ्नुपर्छ भन्ने विचार आइरहेका बेला हालका दिनमा नेपालले खेलका माध्यमबाट नाम चम्काइरहेको छ । साहित्य, संस्कृति, कला जस्ता क्षेत्रमा नेपाल वीरताकै जसरी अगाडि बढ्न सक्नुपर्छ भन्ने विचार लेखकहरूले व्यक्त गर्ने गरेका छन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कलम वीर’ शीर्षकको प्रसिद्ध कविता यही धारणाबाट रचना भएको थियो । उहाँले नेपालले बहादुरी वा वीरताका आधारमा नाम कमाएर खुकुरी वीर त भयो अब यसैगरी कलमवीर पनि बन्नुपर्छ र त्यो बाँकी नै छ भन्नुभएको थियो । बेलायत र अर्जेन्टिनाबीच फोकल्याण्ड टापुको स्वामित्वका विषयमा युद्ध हुँदा दुवै देश विजयी बन्न सकेनन् । त्यसबेला बेलायतले अब हामीसँग भएको गोर्खा सेना परिचालन गर्छौं भनेर प्रचार गर्यो । गोर्खा सेना फोकल्याण्ड पुग्दा अर्जेन्टिनाका सेनाहरू फोकल्याण्ड छोडेर भागिसकेका थिए । यस्ता दृष्टान्त अरू अनेकौं छन् । यसबाट गोर्खाली (नेपाली)हरूको वीरताको ख्याति थाहा पाउन सकिन्छ तर अन्य चौतर्फी ख्याति हामीले विश्वस्तरमा स्थापित गर्न सकिरहेका छैनौं ।
यातायात सञ्चार आदिका कारण संसार नजिकिँदै गएको वर्तमान सन्दर्भमा भने नेपालीहरू संसारव्यापी बनिरहेका छन् । नेपाली साहित्यको प्रचार पनि भइरहेको छ । कवितामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, आख्यानमा विश्वेश्वरप्रसाद कोइराला, पारिजात आदि संसारको विभिन्न विश्वविद्यालयसम्म पुगेका छन् । वर्तमान पुस्ता यो प्रयासमा छ । यसैगरी केही दशकदेखि नेपाली खेलाडीहरू खेलकुदका माध्यमबाट विश्वमा आफ्नो परिचय स्थापित गर्ने क्रममा अगाडि बढिरहेका छन् । दौड, जुडो, कराँते र बक्सिङका माध्यमबाट नेपालले स्वर्ण पदक प्राप्त गरेर परिचय स्थापित गरेको थियो । बैकुण्ठ मानन्धर, विधान लामाहरू खेलकुदका क्षेत्रमा सम्झनै पर्ने खोलाडीहरू हुन् भने पछिल्लो चरणमा पौडीमा गौरिका सिंहले चमत्कारपूर्ण ढंगले स्वर्णपदकहरू पाइरहनुभएको छ ।
फुटबलमा आशातीत रूपमा सफलता हात पार्न नसके पनि क्रिकेटमा नेपालको सफलता चामत्कारिक छ । पारस खड्का, शरद भेस्वाकर, ज्ञानेन्द्र मल्ल हुँँदै हाल दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, सन्दीप लामिछाने, रोहित पौडेल, करण केसी, गुल्सन झा जस्ता नयाँ पुस्ताका खेलाडीहरूले यस क्षेत्रमा चमत्कार गर्दै आउनुभएको छ । केही समय पहिले पाकिस्तान र भारतसँगको एशिया कपमा पनि नेपालले राम्रो खेलेकोमा चौतर्फी प्रशंसा पाएको थियो । यस क्रममा बुधबार चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ खेल मैदानमा भएको मंगोलियासँगको खेलमा नेपालले विभिन्न रेकर्ड कायम गर्न सक्यो । यस क्रममा कुशल मल्लले कीर्तिमानी शतक कायम गर्नुभएको छ भने दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी अर्धशतक कायम गर्नुभएको छ । उहाँलाई उहाँ सम्मिलित लुम्बिनी अल स्टारले एक लाख रुपैयाँ दिने भएको छ ।
त्यस्तै सर्वाधिक रनको योगफल, विशाल अन्तरले विजयी, तेस्रो विकेटका लागि सर्वाधिक साझेदारी, एकै खेल इनिङमा सर्वाधिक छक्काजस्ता धेरै रेकर्ड राख्न यस खेलममा नेपाल सफल भएको छ । नेपालको यस सफलताको विश्वव्यापी चर्चा र प्रशंसा भएको छ । संसारका प्रसिद्ध सञ्चारमाध्यमले यस खेलको समाचार प्रसारण गरेका छन् । नेपाल र नेपालीहरूका लागि यो ज्यादै ठूलो गौरवको विषय हो । केही दिनपछि नेपालले मालद्वीपसँग खेल्नेछ र त्यस खेलमा पनि वियजी बन्यो भने भारत, पाकिस्तान, श्रीलंका जस्ता ठूला तथा क्रिकेटमा अग्रणी देशसँग खेल्न पाउनेछ । अन्य ठूला प्रतियोगिताका लागि पनि नेपालको सम्भावनाका ढोकाहरू खुल्दै जानेछन् ।
नेपाल सानो देश हो, तर गरिबी अर्को अभिशाप हो । राम्रो खेल मैदानका साथै आवश्यक संशाधनको कमी त छँदैछ खेलाडीलाई यथोचित प्रशिक्षण र प्रोत्साहनसमेत पर्याप्त हुनसकेको छैन । यसका बाबजुद नेपालले छोटो समयमा क्रिकेटमा राम्रो उन्नति गर्दै आएको छ । क्रिकेटमा प्राप्त गर्दै गरेको सफलताका आधारमा समेत यस क्षेत्रमा आवश्यक व्यवस्था मिलाउनुपर्ने खाँचो छ । प्रशिक्षण, संशाधनको उपलब्धता, प्रोत्साहन जस्ता व्यवस्था मिलाइनुपर्दछ । विभिन्न क्लबका साथै सरकारले समेत पर्याप्त ध्यानदिनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच