भोजपुरका पाँच स्थानीय तहमा सकियो प्रतिभा पहिचान कार्यक्रम, उत्साहजनक सहभागिता

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरका स्थानीय तहहरुमा सुरु गरिएको गट ट्यालेन्ट गायन तथा नृत्य प्रतिभा पहिचान कार्यक्रम ५ वटा स्थानीय तहमा सकिएको छ ।

लुकेर रहेको प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टर भोजपुरको आयोजनामा अहिले पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन भई रहेको छ । हालसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा प्रतियोगिता गरी उृत्कृष्ण कलाकार छनौट गरि सकिएको आयोजक डाइमण्ड डान्स क्रु सेन्टरका संचालक सुशन घिमिरेले जानकारी दिनुभयो ।

जस अनुसार भोजपुर नगरपालिकामा ६५ जनामा २२, टेम्केमैयुङमा २८ जनामा ११, हतुवागढीमा ३५ जनामा १६, पौवादुङमा २२ जनामा ११ र अरुण गाउँपालिकामा ३४ जनामा १८ जना प्रतिभा पहिचान अन्तर्गत छनौट भएका हुन् ।

कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारिता क्षेत्रमा लाग्न प्रोत्साहन गर्न जिल्लामा भोजपुर गट ट्यालेन्ट नाम दिएर नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । गाउँपालिकाको सहयोगमा शुक्रवार जिल्लाको पूर्वी अरुण गाउँपालिकामा उत्साहका साथ प्रतियोगिता संचालन गरिएको छ । सो पालिकामा बृहत सहभागितामा कार्यक्रम भएको हो ।

सोक्रममा आफनो धारणा राख्नु हुदै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै अहिले पालिका स्तरमा संचालन भई रहेको प्रतिभा पहिचान कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । “ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई पनि यो कार्यक्रमले मद्धत गरेको छ, यसले नयाँ कलाकार उत्पादनमा समेत सहयोग गर्छ ।” गाउँपालिका अध्यक्ष खत्रीको भनाई रहेको छ । यो कार्यक्रमको निरन्तरताको लागि आगामी बर्षबाट पालिकाले पनि केही योजना बनाउने प्रतिबद्धता गरेको छ ।

भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन । बाँकी रहेका पालिकाहरुको कार्यक्रम चाँडै सार्वजनिक गर्ने र उक्त पहिलो चरणको छनौट कार्यक्रम सकिएपछि पाँचौ चरणमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउनेछन् भने नृत्य र गायन एक वर्ष नि:शुल्क रुपमा सिक्न पाउने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?