अभिनाशको कीर्तिमानी बलिङमा नेपालको जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १३८ रनको सानदार जित निकालेको छ । उक्त जितसँगै नेपाल समूह ‘ए’ बाट अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको छ । जितका लागि २१३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३६ रन बनाउनुभयो । यस्तै, रसिद रसमले नटआउट १२ रन तथा फरिद शियसले १० रन जोड्नुभयो । माल्दिभ्सका ६ खेलाडी शून्य रनमा पविलियन फर्किएका थिए ।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिनुभयो । अन्तर्राष्ट्रिय करिअरमा उहाँले पहिलोपटक पाँच विकेट लिनुभएको हो । उहाँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलरसमेत बन्नुभयो ।

यसअघि सन्दीप लामिछाने र करण केसीले समान पाँच-पाँच विकेट लिनुभएको थियो । त्यस्तै, नेपालबाट माल्दिभ्सविरुद्ध सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

अलराउण्डर कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित ४७ रनको नटआउट पारी खेल्नुभयो । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाउनुभयो । त्यसअघि नेपालका ओपनर आसिफ शेख ६ रनमै आउट हुनुभएको थियो । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रनमा आउट हुनुभयो ।

एक वर्षपछि नेपाली टोलीमा पुनरागमन गर्नुभएका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन जोड्नुभयो । सन्दीप जोराले नौ बल खेल्दै पाँच रन थप्नुभयो । पाँचौँ विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गर्दै नेपाली पारी अघि बढाउनुभएको थियो । गुलशन २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रनमा आउट हुनुभयो ।

माल्दिभ्सका बदिउ इस्माइल नाजवानले चार ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । नेपालले पहिलो खेलमा मंगोसियालाई २७३ रनले हराएको थियो ।

अब नेपालले क्वाटरफाइनलमा एसियाका पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग खेल्नेछ । समूह ‘सी’ बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह ‘बी’ बाट जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।
क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरू मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

दीपकको कीर्तिमान
यस्तै, एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५ दशमलब ०६ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।
उहाँले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औँ एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाउनुभएको कीर्तिमान भंग गर्नुभएको हो । गोपीले ३० मिनेट ३० दशमलब ९९ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो । दीपक नौ वर्षपछि सो कीर्तिमान तोड्न सफल हुनुभयो । एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडीसमेत बन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?