काठमाडौं । दशैँ, तिहार, छठजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ । गत वैशाखयता खाद्यान्नमा हप्तैपच्छिे र तरकारीमा दैनिक मूल्यवृद्धि भइरहेको छ । चर्को मूल्यवृद्धि भएसँगै सर्वसाधारणलाई जीविकोपार्जनमा समस्या हुन थालेको छ । विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू महँगीको मारमा परेका छन् । उनीहरूसँगै आर्थिक मन्दीको चपेटामा परेका जनता खाद्यान्न तथा तरकारीमा हुने दैनिक मूल्यवृद्धिले हैरान बनेका छन् ।
चामल, दाल, गेडागुडीलगायत वस्तुहरूमा मूल्यवृद्धि हरेक महिना भइरहेको सरकारी तथ्यांकले नै देखाउँछ । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा अहिले चामल, दाल, गेडागुडीदेखि अन्य वस्तुको अत्यधिक मूल्य बढेको छ ।
नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्यवृद्धि भइरहेको छ । भदौ महिनाको तुलनामा असोजमा सबै प्रकारको चालम प्रतिबेहोरा २५० रुपैयाँसम्म बजार भाउ बढेको छ ।
यस्तै, दाल, गेडागुडीलगायत समानमा समेत प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म बढेको छ । पछिल्लो समय खाद्यान्नका सबै परिकारमा समेत ३० प्रतिशतभन्दा महँगी बढेको छ । वैशाखयता खाद्यान्नमा पनि ४० प्रतिशत मूल्यवृद्धि भएको विभिन्न मन्त्रालयको अध्ययनमा औँल्याइएको छ ।
सरकारी तथ्यांकलाई नै हेर्दा जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको देखिन्छ । सरकारी संयन्त्रको कमजोरीका कारण बिचौलियाहरू मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको उपभोक्ताको आरोप छ ।
तरकारीमा एक महिनामै दुई सय प्रतिशत मूल्यवृद्धि
हरियो तरकारी, बोडी, साग, काँक्रो, खुसार्नी र तितेकरेलामा एक महिनाकै अन्तरमा शतप्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । भदौ ९ देखि असोज १३ सम्मको तथ्यांकअनुसार कतिपय तरकारीमा करिब दुई सय प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सरकारले दैनिक उपभोग्य सामानमा महँगी नियन्त्रण गर्दै आएको दाबी गरे पनि बजारमा फलफूल तथा तरकारीको मूल्य अस्वाभाविक बढेको व्यवसायीहरू नै बताउँछन् । आलु, काउली, बोडी, प्याज, लसुन र हरियो सागसब्जी एकमहिना अघिको तुलनामा दुई सय प्रतिशतले बढेको उपभोक्ताको गुनासो छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक महिनाको मूल्यवृद्धिदर एकदमै अस्वाभाविक छ । तथ्यांकअनुसार तितेकरेलामा १७० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । भदौ ९ मा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तितेकरेलाको मूल्य असोज १३ सम्म आउँदा १३० रुपैयाँ पुगेको छ । ६५ रुपैयाँमा कारोबार भएको पालुंगो सागको मूल्य बढेर १८० रुपैयाँ पुगेको छ । यस्तै, दुई साताअघि ८० रुपैयाँमा बिक्री भइरहेको काँक्रो असोज १३ गते १८० रुपैयाँ पुगेको छ ।
फलफूल तथा तरकारीको मूल्यवृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ स्वीकार्नुहुन्छ । फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा सरकार, किसान र उपभोक्ताको पनि दोषी भएको उहाँले बताउनुभयो । ‘विभिन्न तहको व्यापारीले नाफा राखेर उपभोक्ताको हातमा पुग्दा स्वाभाविक रूपले मूल्यवृद्धि हुन्छ । उत्पादित वस्तु पनि बजारसम्म ल्याउँदा आधा नष्ट हुन्छ । भदौ ९ देखि असोज १३ गते सम्मको तथ्यांकअनुसार कतिपय तरकारीमा करिब दुई सय प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘मूल्यवृद्धि हुनुमा केही व्यापारीको पनि बदमासी देखिन्छ । व्यवसायीहरू विभिन्न वहाना बनाएर उपभोग्य वस्तुको मूल्यवृद्धि गर्न खोज्छन् । उनीहरूलाई पनि लगाम लागाउन आवश्यक छ ।’
बजारमा हल्ला भएजस्तो मूल्यवृद्धि छैन : विभाग
खाद्यान्न तथा तरकारीको अचाक्ली मूल्यवृद्धि भएपछि सम्बन्धित निकायले नियमित अनुगमनसमेत गर्दै आएका छन् । दैनिक सातवटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
भदौ महिनादेखि असोज ११ गतेसम्म मात्रै २८५ वटा व्यावसायिक फर्ममा अनुगमन गरेर १४० जनालाई जरिवाना गराइएको विभागले जनाएको छ । विभागका अनुसार एक महिनाको बीचमा ७० जनालाई स्पष्टीकरण सोधिएको र ४२ जनाको कारोबार रोक्का गरिएको छ ।
कालोबजारिया तथा महँगी नियन्त्रणको नाममा कृषिमन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा तामझामसहित अनुगमन भए पनि अनुगमनले बजार मूल्य नियन्त्रण गर्न सकेको छैन ।
बजारमा हल्ला भएजस्तो मूल्यवृद्धि नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना तथा अधिकारी (निर्देशक) आनन्दराज पोखरेले दाबी गर्नुभयो । खाद्यान्न, तरकारी र फलफूलमा केही मात्रमा महँगी बढेको उहाँले बताउनुभयो । ‘सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि काम गरिरहेको छ । अहिले चर्चा भएजस्तो मूल्यवृद्धि भएको छैन । अहिले सरकारले महँगी नियन्त्रणका लागि काम गरिरहेको छ,’ उहाँले भन्नुभयो ।
सरकारकै साँठगाँठमा मूल्यवृद्धि
सरकारकै मिलोमतोमा बजारमा दैनिक उपभोगीय वस्तुमा मूल्यवृद्धि भएको उपभोक्तावादी संस्थाहरूले आरोप लगाएका छन् । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरू दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताउनुभयो ।
सरकारकै वरिपरि बसेका व्यापारीकै कारण महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको उहाँले बताउनुभयो । ‘मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा सरकारले चासो दिएको छैन । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन,’ उहाँले भन्नुभयो, ‘दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न सकेको छैन । समस्या सरकारमै छ ।’
डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्ने उहाँको भनाइ छ । पछिल्लो समय सत्ता परिवर्तन भएपिच्छे महँगी बढ्ने गरेको छ । महँगीबाट आएको कमिसन सरकारमा बसेको व्यक्तिहरूले खाने गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि २४ घण्टा नबित्दै फिर्ता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि २४ घण्टा नबित्दै फिर्ता लिएको छ । चाडबाडको मुखमा खाना पकाउने ग्याससहित पेट्रोल र डिजेलमा अस्वाभाविक मूल्यवृद्धि गरेको निगमले २४ घण्टा नबित्दै निर्णय सच्याएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा पुरानै मूल्य कायम गर्नेगरी मूल्यवृद्धि फिर्ता लिइएको निगमले जनाएको छ । मूल्यवृद्धि फिर्तासँगै अब पुरानै भाउ अर्थात् २९ भदौ रातिबाट लागू भए अनुसारको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री-वितरण हुने निगमले जनाएको छ । यसअघि निगमले शनिबारदेखि लागू हुनेगरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० रुपैयाँ पु¥याइएको थियो । यस्तै, पेट्रोल लिटरमा दुई रुपैयाँ, डिजल र मट्टीतेलमा ६ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको थियो । सरकारले गत वैशाखयता ग्यास, पेट्रोल र मट्टीतेले मूल्य ६ पटक बढाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच