काठमाडौं । नेपालमा विभिन्न बहानामा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको पछिल्ला केही घटनाहरूले संकेत गरेको छ । सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको ती घटनाहरूले देखाउँछ । देशका विभिन्न ठाउँमा एकपछि अर्को गरी सद्भाव भड्काउने खालका गतिविधि भइरहेका छन् । केही समयअघि धरानमा गोरु काटेर खाएको विषयले उग्र रूप लिएको थियो । धरानमै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो । सरकारी संयमता र सामाजिक सद्भावले कुुनै अप्रिय घटना भने हुन पाएन । उस्तै प्रकृतिको घटना सर्लाहीमा पनि दोहोरिएको थियो । सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा अर्को समुदायले अवरोध गरेपछि बढेको विवादले उग्र रूप लिएको थियो । विवाद बढ्दै गएर झडपकै स्थिति बनेको थियो । तर, सबैको संयमताले सर्लाहीमा पनि कुनै अप्रिय घटना हुन पाएन । सर्लाही र धरान दुवैमा स्थिति नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु लगाउनु परेको थियो । यी प्रतिनिधि घटना हुन् । त्यसअघि रौतहटको जानकी मन्दिरका पूजारीलाई आक्रमण, क्रिश्चियन धर्म प्रचार गरेको भन्दै जनकपुरमा हिन्दू सम्राट् समूहले कालोमोसो दल्ने लगायतका घटना भएका थिए । यस्तै, कोशी प्रदेशमा पहिचानका नाममा लामो समयदेखि आन्दोलन भइरहेको छ ।
पछिल्लो समय नेपालगञ्जमा फेरि उस्तै प्रकृतिको घटना दोहोरिएको छ । नेपालगञ्जलमा ‘मोहम्मद डे’को दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच विवाद बढेको हो । त्यसयता नेपालगञ्ज अशान्त हुँदै आएको छ । मंगलबार ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा इँटा प्रहार भएपछि भिड अशान्त बनेको थियो । नेपालगञ्जको बागेश्वरी मन्दिर हुँदै सुरु भएको प्रदर्शन धम्बोझीदेखि बिपी चोकसम्म शान्त रूपमा भएको थियो । जब भिड बिपी चोक पुग्यो तब अशान्ति मच्चियो । टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको भिड एकाएक ढुंगामुढामा परिणत भएको थियो ।
यस्ता गतिविधि देशैभरि स-सानो रूपमा थाहा नपाउने गरी भइरहेका छन् । यिनले अहिलेसम्म जातीय, धार्मिक र सामाजिक सद्भावमा रहेको नेपाली समाज क्रमशः विघटित हुँदै जान थालेको संकेत गर्छ । कुनै न कुनै रूपमा नेपाली समाजमा रहेको शान्ति र सद्भाव भड्काउने सुनियोजित प्रयत्न भइरहेको पनि यी घटनाले संकेत गर्छ ।
हिन्दू र मुस्लिम समुदायबीच तनाव : नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु
हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चित कालसम्मको लागि कफ्र्यु आदेश जारी गरेको हो । नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) चार किल्ला सीमा क्षेत्रभित्र भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्नसमेत नपाइने गरी कफ्र्यु आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।
मंगलबार ओमकार परिवार हिन्दू समाजले निकालेको ¥यालीको क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएको थियो । सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जानसक्ने स्थिति देखिएकोले कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
कर्फ्युबीच झडप भएपछि सेना परिचालन
बाँकेको नेपालगञ्जमा कर्फ्युका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यु लगाइएको थियो । तर, दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । ठूलो संख्यामा गल्ली–गल्लीमा प्रहरी परिचालित छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको बताउनुभयो ।
बेलैमा ध्यान नपुगे गम्भीर दुर्घटना निम्तिन सक्छ : सांसदहरू
सांसदहरूले विभिन्न क्षेत्रमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले सामाजिक सद्भाव कायम गर्न सरकारको भूमिका आवश्यक भएको बताएका हुन् । सांसदहरूले जाति र धर्मका नाममा हुन खोजेका अवाञ्छित गतिविधि रोक्न सरकारको हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पुँजीवादका कारण नेपाली समाजको एकतामा प्रहार भएको बताउनुभयो । सामाजिक एकतामा दरार ल्याउने गम्भीर प्रयास भइरहेको भन्दै बेलैमा ध्यान नपुगे गम्भीर दुर्घटना निम्तिन सक्ने खतरा रहेको उहाँले बताउनुभयो । ‘केही घटनाले बहुजातीय बहुसांस्कृतिक, बहुधार्मिक एकता भन्नेमा हाम्रो बहुमूल्य पुँजीवादले प्रहार गरे जस्तो लाग्छ,’ उहाँले भन्नुभयो, ‘विविधतामा रहेको एकतामा दरार ल्याउने प्रयास गम्भीर विषय हो । बेलैमा ध्यान नपुगे गम्भीर दुर्घटना निम्तिन सक्छ ।’ त्यस्तै, कांग्रेसकै सांसद अम्बिका बस्नेतले पनि समाजमा विभाजन देखापरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘धर्म, जातिका नाममा समाज विभाजित भइराखेको छ,’ उहाँले भन्नुभयो, ‘देश डरलाग्दो अवस्थामा गएको महसुस हुन्छ ।’ एमाले सांसद ईश्वरप्रसाद रिजालले सरकारले सामाजिक सद्भाव कायम गराउने गरी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
साइबर क्राइमविरुद्ध तत्कालै एक्सन नलिए देशमा दंगा भड्किने सम्भावना छ : जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दू र मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले नेपालगञ्ज सद्भावको सहर रहेको भन्दै सामाजिक सद्भाव नभड्काउन हिन्दू र मुस्लिम समुदायलाई आग्रह गर्नुभएको हो । शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्न दुवै समुदायलाई उहाँले आग्रह गर्नुभयो । ‘सद्भावको सहर भनेर नेपालगञ्जलाई बनाइरहेका छौँ । सद्भावलाई कायमै राखेर शान्तिपूर्ण विरोध गर्न पाइन्छ । तर, उग्र र हिंसाको बाटो लिएर हाम्रो सद्भावको सहरमा अशान्तिको भावनाहरू नखलबल्याइदिन नेपालगञ्जवासीलाई विनम्र अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।
सांसद जबराले दुई समुदायबीच उत्पन्न तनावको कारण सामाजिक सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । साइबर क्राइमलाई नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘हिंसाको घटनाहरू नियन्त्रणमा ल्याउनुपर्यो । यी सबै घटनाको जड भनेको सामाजिक सञ्जाल देखिएको छ,’ उहाँले भन्नुभयो, ‘साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्नुपर्यो । साइबर क्राइमविरुद्ध एक्सन लिएर दोषीलाई ठाउँका ठाउँ कारबाही नगरिए देशमा विभिन्न ठाउँमा दंगा भड्किने सम्भावना बढिरहेको छ ।’
धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल
सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अपिल गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धार्मिक, साम्प्रदायिक वा अरू आधारमा घृणा वा द्वेष हुने काम कारबाही नगर्न अपिल गरेको हो ।
सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्याउने काम नगर्न सरकारले अपिल गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
शर्माका अनुसार धरानमा जस्तै फेरि बाँकेको नेपालगञ्जमा पनि धार्मिक तनाव उत्पन्न हुने कार्य भएको भन्दै सरकारले सबैलाई यस्ता कार्य नगर्न अपिल गरेको छ । मन्त्री शर्माले भन्नुभयो, ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक एवं मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाइबीचको सु–सम्बन्धमा प्रतिकूल असर हुनेगरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न र नगराउन हुन एवं विभिन्न जातजाति वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न तथा नगाराउन हुन सम्बन्धित सबैमा नेपाल सरकार हार्दिक अनुरोध गर्दछ ।’
यस्तै, उहाँले थप्दै भन्नुभयो, ‘साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधाररहित कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्ति सुरक्षाको कार्यलाई भंग हुन बढावा दिने, वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन नेपाल सरकार हार्दिक अनुरोध गर्दछ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच