काठमाडौं । नेपाल र जर्मनीबीच वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौता भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनका प्रतिनिधिमण्डलबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । श्रम मन्त्रीले परीक्षार्थी कामदार पठाउने गरी जर्मनको राजधानी बर्लिनमा श्रम सम्झौता गरेको हो । जर्मनीमा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई जर्मनीमा सामाजिक सुरक्षा, रोजगारीको सुविधा बिमा, कामदारको खर्च रोजगारदाता व्यहोर्नु, श्रमिकको सामाजिक सुरक्षा र अन्य सुविधाहरू समेटिएर श्रम सम्झौता भएको भ्रमण टोलीमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
श्रम सम्झौताअनुसार जर्मन पहिलो चरणमा परीक्षार्थी कामदार पठाउने र ती कामदारहरू सरकारले नै छनोट गरेर पठाउने उहाँले बताउनुभयो । ‘नेपालले जर्मनीसँग प्रशिक्षार्थी श्रमिक लैजान श्रम समझदारी गर्न लागेको हो । श्रम समझदारी भए पनि जर्मनीको कुन क्षेत्रमा कति नेपाली कामदार जाने भन्ने विषय छलफल भइरहेको छ । तर, जर्मन धेरै क्षेत्रको रोजगारीमा नेपाली कामदार लिने इच्छा देखाएको छ ।’ उहाँले भन्नुभयो, ‘जर्मनी जाने कामदारको सेवा सुविधा, तलब, रोजगार बिमा, स्वास्थ्य सुविधा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, करार अवधि र आवतजावत खर्चका बारेमा प्रष्ट सम्झौतामा खुलाइएको छ । कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशका कम्पनीले व्यहोर्नेछन् ।’ जर्मनीमा उद्योग, होटल, स्वास्थ्य, कृषि, उत्पादन र पर्यटन क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौता भएको उहाँको भनाइ छ ।
श्रममन्त्री भण्डारीले रोमानियासँग गत शुक्रबार मात्र श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । रोमानिया र जर्मनीसँग भएको श्रम सम्झौतामा नेपाली कामदारको सामाजिक सुरक्षा, रोजगार बीमा र तलब लगायतका सुविधामा स्थानीय कामदारसरहको सुरक्षा प्रदान गरिएको छ । नेपालले कतार तथा युएईसहित खाडीका देश र मलेसियासँग भएको श्रम समझदारीभन्दा रोमानियासँगको श्रम समझदारी फरक शैलीमा गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले यसअघि जापान, इजरायल, दक्षिण कोरिया र बेलायतसँग पनि सरकारले नै कामदार पठाउने गरी श्रम सम्झौता गरेका छ । सोही मोडलमा जर्मनी पनि कामदार पठाउने गरी श्रम सम्झौता भएको हो ।
१० हजार कामदार पठाउने
जर्मनीले अहिले दक्ष कामदार अभावको सामना गरिरहेको छ । युरोपेली देशहरूले जनसंख्या घटेको र बुढ्यौली बढेका कारण उपयुक्त योग्य उम्मेदवारहरूको अभाव भएको सरकारी अनुमान छ । जर्मनीमा काम गर्न खोज्ने विदेशी कामदारहरूले कुनै पनि पेसामा योग्य र दक्ष भएमा सजिलोसँग वर्क पर्मिट प्राप्त गर्ने बताइएको छ । सोही कारणले, जर्मन सरकारले तेस्रो देशका नागरिकहरूलाई जर्मनीमा काम गर्न सजिलो बनाउन आफ्नो अध्यागमन नियमहरू परिमार्जन गरी धेरै भिसा र आवागमन प्रक्रिया सरल पारेको छ । जर्मनीको एक प्रमुख अनुसन्धान संस्थाले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई समृद्धि र जर्मन कल्याण प्रणाली सुरक्षित गर्न प्रत्येक वर्ष चार लाख आप्रवासी कामदार चाहिने बताएको छ । जसमा नेपालबाट वार्षिक १० हजारसम्म कामदार लैजाने सक्ने श्रम मन्त्रालयको अनुमान छ ।
जर्मनीमा अहिले पनि व्यक्तिगत भिसामा रोजगारीका लागि नेपालीहरू जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । श्रम मन्त्रालयका अनुसार अहिले यति कामदार पठाउने भन्ने यकिन भएको छैन । तर, जर्मनी रोजगारीमा वार्षिक पाँच सय कामदार रोजगारीमा जाने गरेको विभागले जनाएको छ । जर्मनीमा रोजगारीमा जाने कामदारले मासिक एक लाख ७० हजार रुपैयाँसम्म कमाउन सक्ने मन्त्रालयको भनाइ छ । जर्मनीपछि नेपालले पोर्चुगल, रोमानिया, पोल्याण्ड र फ्रान्ससँग पनि श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने तयारी गरिरहेको छ । हाल जर्मनीमा पाँच हजारभन्दा बढी नेपाली रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । नेपाली कामदारका लागि युरोपको देश जर्मनी राम्रो रोजगार गन्तव्य हुने श्रम मन्त्रालयले जनाएको छ ।
रोकिए कामदार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूको भिसा लागेका व्यक्तिलाई इजरायल नजान आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अपिल गरेको हो । भिसा र हवाई टिकटसमेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियोे । तर, इजरायलमा युद्ध चलिरहेकाले भिसा पाएका २४ जना कामदारलाई त्यहाँको अवस्था हेरी तत्काल नजान सूचनामार्फत जानकारी गराएको छ । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । उक्त आक्रमणबाट केही नेपाली कामदार घाइतेसमेत भएका छन् । जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परारष्ट्र मन्त्रालयका अनुसार इजरायलमा कार्यरत दुई सयभन्दा बढी कामदारले स्वदेश फर्किन निवदेन दिएका छन् । उनीहरूलाई फर्काउने तयारी र छलफल भइरहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच