परम्परा, संस्कृति जस्ता कुराले मानव समाजलाई अन्य प्राणीभन्दा फरक बनाउँछ । रानी, भाले र कर्मी जस्ता भिन्न किसिमका सदस्य भएका समाजमा एकाकार भएर बस्ने माहुरी, कमिला जस्ता प्राणी हुन् वा हात्तीदेखि बाँदरसम्मका समूहमा बस्ने प्राणी हुन् ती सबैका आ-आफ्ना समाज छन् । त्यसैले सामाजिक संरचना भएका प्राणीहरूमा मानव समाजमात्र एक्लो होइन । ती समाजहरूमा पनि कुनै न कुनै किसिमको व्यवस्था हुन्छ, नीति हुन्छ, नियम हुन्छ । यस्तै तत्वले सामाजिक संरचना भएका प्राणीहरू अस्तित्वको निमित्त हुने संघर्षमा योग्य भएर बाँचेका हुन् ।
समाजमा आवश्यक सबै आधारभूत कुरा मानवलगायत सबै सामाजिक संरचना भएका प्राणीमा समान छ । सबै कुरा समान नै भए पनि मानव समाजमा थप केही अन्य तत्व छन् जो अन्य समाजमा छैनन् । त्यसमध्येको महत्वपूर्ण कुरा हो यो परम्परा र संस्कृति । संस्कृति, परम्परा आदि कुराहरू कुनै पनि मानव समाजको परिचय अर्थात् वर्तमानमा प्रचलित शब्द पहिचान हो । पहिले एकाइ सदस्य हुन्छ, त्यसपछि परिवार हुन्छ अनि बन्धुबान्धव हुन्छन् । यो सबै छरछिमेकी, टोल, गाउँ आदि हुँदै एक राष्ट्र हुन्छ जो समाजको उच्चतम रूप हो । परम्परा, संस्कृति आदिमा सानातिना भिन्नता बन्धुबान्धवबीचमा हुनु, छरछिमेकमा हुनु सामान्य कुरा हो ।
नेपालमा महाचाडको रूपमा मनाइँदै आएको दशैँलाई अनेकौं नामले बोलाइने गर्दछ । यी सबै नामहरू समानार्थी लाग्ने गर्दछन् । दुर्गा पूजा, विजया दशमी, दशहरा अनि दशैँ सबै यो संस्कृतिक परम्पराको पर्व दशैँलाई गरिने सम्बोधन हो ।
यस्तो अवस्थामा परम्परा, संस्कृतिबीचका भिन्नता हल गर्ने दुई तरिका हुन्छन् । पहिलो यो भिन्नतालाई द्वन्द्वको रूप दिएर लैजाने, अर्को भिन्नतालाई स्वीकार गरेर परम्परा तथा संस्कृतिको समिश्रण गरेर एक महासमाजको रूपमा लैजाने । यहाँ द्वन्द्व भनेर भन्नाले भौतिक, शारीरिक द्वन्द्वमात्रलाई भनिएको होइन सबै किसिमका द्वन्द्व भनिएको हो । यस्ता द्वन्द्वले बढ्ने वैमनश्यताले समाजलाई एक समाजको रूपमा रहन दिँदैन । समाज ससाना धेरै समाजमा टुक्रने क्रम आरम्भ हुन्छ । यो दुई अवस्थामा कुन सही हो कुन गलत हो त्यो निक्र्यौल गर्ने काम हरेक व्यक्तिको हो । जुनसुकै निक्यौलमा पुग्ने अधिकार हरेक व्यक्तिको हुन्छ जो अनातिक्रम्य हुन्छ ।
नेपालमा महाचाडको रूपमा मनाइँदै आएको दशैँलाई अनेकौं नामले बोलाइने गर्दछ । यी सबै नामहरू समानार्थी लाग्ने गर्दछन् । दुर्गा पूजा, विजया दशमी, दशहरा अनि दशैँ सबै यो संस्कृतिक परम्पराको पर्व दशैँलाई गरिने सम्बोधन हो । हरेक चाडलाई, स्थानीय विषेश संरचनाका स्थान वा उपासनास्थललाई त्यसको महत्व बढाउन धार्मिक कथाहरूसँग जोडिने प्रवृत्ति रहन्छ । त्यस अवस्थाको जनमानसको सोच अनुकूल लागेर जोडिएका यस्ता कथा कालान्तरमा प्रत्युत्पादक हुन सक्छन् । जो विगतका केही दशकदेखि दशैँको विरोध गर्नेहरूले उपयोग गरिआएका छन् । अर्थात् यो समय परम्परा संस्कृति समिश्रण गर्नेभन्दा आफूलाई त्यस्ता परम्परा संस्कृतिसँग अलग्याउने युगको आरम्भको रूपमा देखा पर्दैछ ।
कुनै धर्म विशेषको भनेर साझा परम्परा तथा संस्कृतिबाट आफूलाई अलग्याउनुभन्दा पहिला त्यस परम्पराले संस्कृतिले वर्तमान रूप कसरी लियो भन्ने मन्थन हुनुपर्ने हो तर त्यसो भइरहेको छैन । शुभकामना आदानप्रदानमा प्रयोग गरिने ‘हिन्दुहरूको महान चाड’ वाक्यांशले समाजका सबैलाई समेट्दैन । यसले आफूलाई गैरहिन्दु मान्ने तथा ठान्नेहरूलाई नेपालीको यो संस्कृतिक, पारम्परिक पर्वबाट अलग्याउँछ । वास्तवमा भन्ने हो भने यो हिन्दुहरूको साझा चाड भन्न सकिने आधार निकै कम भेटिन्छ यदि यसमा भएको पौराणिक कथाको कोण छोड्ने हो भने । दशैँसँग असम्बन्धित राम-रावणको युद्धमा रावण वधको कथा जोडिएको छ ।
यो दशैँ मान्ने नेपालको विशिष्ट तरिकासँग मेल खाँदैन । पहिलो कुरा त रामायण अनुसार रावण बधको ऋतु शरद थिएन शिशिर थियो । भारतमा केही समुदायहरू यही समयमा रावण बध भएको मानेर दशहरा मनाउने गर्दछन् तर उनीहरूको दशहरा मान्ने तरिका नेपालको दशैँ मान्ने तरिकाभन्दा फरक छ । त्यस्तै बंगालमा यसै समयमा दुर्गापूजा पर्व मनाइन्छ । त्यसको पनि मनाइने तरिका नेपालको दशैँभन्दा भिन्न छ । संस्कृतिक समिश्रणको क्रममा ती कुराहरूलाई पनि अंगीकार गरियो भन्दैमा दशैँ केबल हिन्दुहरूको चाड भनेर मान्न सकिँदैन ।
नेपालीहरूको वा नेपालमा मनाइने दशैँको अनेकौं आयाम छन् । ती आयाममा शास्त्रीय अर्थात् धार्मिक अनुष्ठान छन् । साथै अन्य सामाजिक, आर्थिक आयाम छन्, जो धार्मिक आयामभन्दा ज्यादा महत्वका छन् । केवल नेपालीले मात्र एक पक्ष अर्थात् आधा चन्द्रमास दशैँ मनाउँछन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालीहरूको निमित्त दशैँ हो । यसमध्ये विजया दशमी भनिने चन्द्र महिनाको शुक्लपक्षको दशौं दिन एक दिन हो । यो दिनदेखि टीकाको बहानामा आफ्ना आफन्त, मान्यजन आदिसँग भेटघाट गर्ने क्रम आरम्भ हुन्छ ।
नौ दिनसम्म लगाएर उमारिएको जमरा दशौं दिनदेखि उपयोग गरिन्छ शुभ अनि आर्शिवादको रूपमा । यो परम्परा सबै हिन्दुहरूमा छैन् ।
नेपाल विविधतमा एकता भएको मुलुक हो । जुन दिन विधिता लिएर पनि कायम गरिएको एकता तोडिने छ त्यो दिनदेखि नेपालको अस्तित्व पनि रहने छैन । त्यसैले आफूलाई धार्मिक र अग्रगामी देखाउने होडमा विविधता बीचको एकता तोडिन हुँदैन ।
केवल नेपाली समाजले मात्र यो संस्कृति, परम्परा अँगालेको छ । आफूलाई गैरहिन्दु भन्ने नेपालीहरूले पनि यसलाई आफन्तसँगको भेटघाटको अवसरको रूपमा प्रयोग गर्ने गर्दछन् । विजया दशमी सम्पूर्ण दशैँ होइन यो त दशैँका १५ दिनमध्येको एक महत्वपूर्ण दिनमात्र हो ।
दशैँ समाजमा सहकार्यको बानीलाई प्रवर्धन गर्ने नेपालीको चाड हो । यो एक महत्वपूर्ण आयाम हो दशैँको । समाजमा भएका व्यक्ति अ-आफ्ना सानातिना मतभिन्नता भुलेर दशैँलाई रमाइलो बनाउन सहकार्य गर्दछन् । लिंगेपिङ हाल्ने चलन सामाजिक वैमनश्यताको उपचार गर्ने एक उपाय हो जो दशैँको बहानामा उपलब्ध हुन्छ । लिंगेपिङमा लाग्ने सामग्री, त्यो पिङमा योगदान दिनसक्ने श्रम तथा सीप साझा प्रयासबाट हासिल गरिन्छ । त्यसबेला गरिने अनेकौं मनोरञ्जनात्मक कार्यक्रम यस्तै साझा प्रयत्नबाट सम्पादन हुन्छन् । यसले वर्षभरिमा जे जस्तो आपसीसम्बन्ध भए पनि हरेकले हरेकको समाजमा रहेको महत्व फेरि बोध गर्दछन् । सामाजिक सहकार्यले अनुभूत हुने गौरव र आत्मसम्मान सानोतिनो कुरा पटक्कै होइन । यस्ता सहकार्यहरूमा समाजमा व्याप्त अनेकौं कुरीति गौण हुने गर्दैछन् ।
सातौं दिन मनाइने पूmलपाती भित्र्याउने परम्परा आधुनिक नेपाल निर्माणपछिको संस्कृतिक, पारम्पारिक समिश्रणको परम्परा हो । गोरखा दरबारबाट हनुमानढोकामा भित्र्याइने फूलपातीको चलन परापूर्व कालमा पनि थियो भन्ने मान्न कठिन हुन्छ । यो धार्मिक रीतभन्दा संस्कृतिक समिश्रणको काम हो । यस्तै गोरखाली संस्कृति परम्परासँग नेवा संस्कृति परम्पराको समिश्रण हुने अनेकौं परम्परा दशैँको अवसरमा देख्न पाइन्छ । त्यसबाहेक दशैँ मनाउने आ-आफ्नै मौलिक परम्परा विभिन्न क्षेत्रमा प्रचलित छन् र उत्तिकै मान्य छन् । यसका धार्मिक शास्त्रीय विधि सेना वा प्रहरीका ब्यारेकहरूमा एक किसिमको पाइन्छ भने त्यसबाहिर अनेक किसिमका पाइन्छन् ।
राम्रो लगाउने मीठो खाने अनि आफन्त, साथीसँगीसँग रमाउने अवसरका रूपमा नेपालीको दशैँको महत्व छ । आफूसँग सम्बन्धित भएका, आफ्ना सहयोगी कामदारलाई दशैँ रमाइलो बनाउन सहायता गर्ने चलन छ । बालीघरेहरूको निमित्त नियत गरिएको विशेष भाग उनीहरूको अपमान होइन त्यो उनीहरूको अधिकार अनि सम्मान हो । वर्षभरि काम गरेर मुख्यबालीबाट ज्याला स्वरूप हिस्सा लिने पद्धति बालीघरे पद्धति हो । पूर्वी तराईमा यसलाई खनमा गरिने काम भनिन्छ । दशैँमा समाजमा रहेका अन्य विपन्न असहायलाई समर्थहरूले गच्छेनुसार दशैँ मान्न सघाउनु नैतिक कर्तव्यभित्र पर्ने गर्दछ ।
संस्कृतिक पारम्पारिक समश्रिणले नेपालीको दशैँलाई दशहरा, दुर्गा पूजा, या विजया दशमी भन्न सकिन्छ । अंगीकार गर्ने क्रममा दशहरा मनाउनेहरूको मान्यताअनुसार यसलाई राम-रावण युद्धसँग जोडिएकोमा आपत्ति जनाइहाल्नु नपर्ला तर शास्त्रीय आधार लिने हो भने पनि यो शाक्त परम्परामा आधारित छ । दशैँमा पढिने चण्डी अर्थात् दुर्गासप्तशतीमा राम र रावणको कतै उल्लेख छैन । दशैँलाई केवल हिन्दुको भनिनु आपत्तिजनक छ । यो नेपाली मौलिक परम्परा हो यसमा पनि मानिने तरिकामा विविधता छ र यो विविधता नेपाली राष्ट्रियताको मूल तत्व हो ।
त्यसैले भनिने गरेको छ नेपाल विविधतमा एकता भएको मुलुक हो । जुनदिन विधिता लिएर पनि कायम गरिएको एकता तोडिनेछ त्यो दिनदेखि नेपालको अस्तित्व पनि रहने छैन । त्यसैले आफूलाई धार्मिक र अग्रगामी देखाउने होडमा विविधताबीचको यो एकता तोडिन हुँदैन । यसो भएमा भौगोलिक नेपाल त रहला कि नरहला तर यो भूगोलमा नेपाली रहने छैनन् । त्यसैले सही वाक्य दशै नेपालीहरूको महान् सांस्कृतिक पारम्पारिक पर्व हो । यसलाई यही रूपमा रहन दिनुपर्छ हिन्दु र अहिन्दुको रणमैदानको हतियार बनाइनु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच