पाल्पा । दशैँ भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दशैँ-तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दशैँको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन ।
केही समय अघिसम्म पनि गाउँ घर तथा टोल-टोलमा समेत बन्ने गरेका पिङ यति बेला कमै मात्र बन्ने गरेका छन् । पछिल्ला दिनहरूमा आएर बढ्दो आधुनिकतासँगै मनोरञ्जनका लागि थुप्रै साधन थपिँदै जानु र स्थान, समय र आवश्यक कच्चा पदार्थहरूको समेत अभाव हुन थालेपछि गाउँ घरतिर कमै मात्र लिंगे पिङ बनाउन थालिएको हो । दशैँको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो ।
आठ÷१० वर्ष अघिसम्म पाल्पा र गुल्मीका गाउँ-टोलमा दशैँको घटस्थापनादेखि रोटे र लिंगे पिङ हालेर गाउँले रमाउने गर्थे तर, आजभोलि यस्ता पिङ निकै कम देखिन्छन् । रोटे पिङ त देख्नै छाडिएको छ । कतैकतै लिंगे पिङ मात्रै देखिन्छ । दशैँसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ यस वर्ष पाल्पा र गुल्मीका थोरै ठाउँमा मात्र देखिए । पिङ खेल्दा हुने आनन्द अविस्मरणीय हुन्छ । दुःख, कष्ट र पीडा एकछिन भए पनि भुलिन्छ तर अहिले समय फेरियो । पिङ संस्कृतिलाई नयाँ पुस्ताले भुल्दै गएको पुराना पुस्ताहरू बताउँछन् । ‘पहिले-पहिले पिङ नहाली दशैँ नै आउँदैन थियो । पिङ बाट्न सबैले घरबाट एक-एक मुठा बाबियो ल्याउँथे । सबै मिलेर पिङ खेल्थ्यौँ तर अहिले भने त्यस्तो छैन’ गुल्मी इस्माका देवबहादुर पाण्डे बताउनुहुन्छ । बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र विदेशिएका कारण गाउँघरमा पिङ संस्कृति हराउँदै गएको उहाँको भनाइ छ । ‘अहिलेका पुस्ताको खाने, लाउनेतिर मात्र ध्यान छ । चाडपर्व संस्कार, संस्कृतिप्रति ध्यानै छैन’ उहाँले भन्नुभयो ।
दशैँमा भुइँ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व रहेको छ । गाउँमा दशैँ सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुने भए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झण्डै दुई दशकअघि गाउँ-गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको संख्या निकै कम भएको गुल्मी हस्तिचौरका शिव महतको भनाइ छ । केही वर्ष अघिसम्म दशैँ आउँदा पाल्पाका गाउँ र चोक-चोकमा देख्न पाइने पिङ अहिले भने त्यति देख्न पाइएनन् । दशैँको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले यहाँका ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ ।
गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगीत र बाजाको आवाज घन्किएको र लिंगे पिङ मच्चिएको देखिन छोडेपछि दशैँ तिहार लगायतका पर्वको रौनक घट्दै गएको स्थानीय बुढापाकाको भनाइ छ । पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पुर्याउने काम गर्ने भए पनि उक्त परम्परा हराउँदै गएकोमा तानसेन नगरपालिका-३ का ७५ वर्षीय देवेन्द्रबहादुर रायमाझी चिन्ता व्यक्त गर्नुहुन्छ । ‘आज भोलि कतै पनि दशैँका बेला लिंगे पिङ बनाएको र गाउँमा रमाइलो गर्दै रंगीविरंगी चंगा उडाएको देखिँदैन’, उहाँले भन्नुभयो, ‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रूपमा रहेका सबै चलन विस्तारै हराउँदै गएको छ । युवा पुस्ताले समयमा संरक्षणमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा र संस्कृति लोप भएर जानेछन् ।’ अघिल्लो पुस्ताले चलाएका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलन ओझेल पर्ने मात्र नभई हराउने खतरा रहेको छ । स्थानीय सरकार, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण चाडपर्वको मौलिकता हराउन थालेको पुराना पुस्ताका व्यक्तिहरूको गुनासो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच