नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बंगलादेशी समकक्षी शेख हसिनाले भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीनवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । ती परियोजनामा अखौरा-अगरतला क्रस बोर्डर रेल लिंक, खुलना-मोंगला पोर्ट रेल लाइन र बंगलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट-२ रहेका छन् । भारत र बंगलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ ।
‘यी महत्वपूर्ण परियोजनाको संयुक्त उद्घाटनले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी-२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु’, बंगलादेशका प्रधानमन्त्री हसिनाले भन्नुभयो, ‘म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।’
अखौरा-अगरतला क्रस बोर्डर रेल लिंक परियोजना भारत सरकारले बंगलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपियाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । बंगलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिंक गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर छ ।
खुलना-मोंगला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोंगला बन्दरगाह र खुलनामा विद्यमान् रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ । यसका साथै बंगलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोंगला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ ।
मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बंगलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार ३२० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बंगलादेश-भारतमैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो । यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् ।
पछिल्लो दशकमा बंगलादेश-भारतमैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्यूजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिक रूपमा लाभदायक साझेदारीलाई बढाउने’ रहेको छ । रासस/एएनआई ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच