
गीतसंगीत र साहित्य क्षेत्रमा चिरपरिचित नाम हो, साबु गदाल कार्की । ‘सावुरवी’ उहाँको साहित्यिक नाम रहेको छ । उहाँका पाँचवटा सांगीतिक एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँले अमेरिकाको कोलोराडो राज्यमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । गदाल ‘अन्तर्राष्ट्रिय नेपाली कला समाज’ इनासको विश्वव्यापी वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने कोलोराडो राज्यमा नेपाल पर्यटन बोर्डको पर्यटन सद्भावना दूतको रूपमा आफ्ना कार्य सम्पादन गरिरहनुभएको छ । सकारात्मक प्रभाव पार्ने प्रतिबद्धताका साथ परोपकारी कार्यक्रम, सामाजिक परियोजना र परोपकारी पहलमा उहाँ पुग्ने गर्नुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएसए कोलोराडोको अध्यक्ष र उत्तर अमेरिका (क्यानाडा र संयुक्त राज्य अमेरिका)को क्षेत्रीय संयोजकको रूपमा नेतृत्वको भूमिकाले कलात्मक समुदायलाई सहयोग गर्ने उहाँको समर्पणलाई हाइलाइट गर्दछ । साहित्य र संस्कृतिप्रतिको उहाँको समर्पण झल्काउँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य हुनपाउँदा आफूलाई गर्व गर्नुहुन्छ उहाँ । गडालसँग रेडियो नेपालमा प्रस्तोता, पटकथा लेखक र निर्माताको रूपमा काम गरेको एक दशक लामो इतिहास छ । यो अनुभवले उहाँको सञ्चार कौशललाई आकार दिन विभिन्न क्षेत्रका विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्न पनि अब्बल बनायो । यसबाहेक, उहाँ समुदाय र मानिसहरूको सामाजिक कल्याण र कल्याणमा केन्द्रित धेरै एनआरएनए परियोजना र गतिविधिमा गहिरो रूपमा संलग्न हुनुहुन्छ । उहाँको सिर्जनात्मक यात्रामा सन् २००६ मा ‘सहारा’ र २०११ मा ‘रिवाज’ नामक म्युजिक एल्बम सार्वजनिक हुनुका साथै २०१५ मा म्युजिक भिडियो ‘हे आमा’ पनि समावेश छ । २०१७ मा उहाँले निर्माता र गीतकारको भूमिका निभाउनुभयो । चलचित्र ‘दर्पण छायाँ २’ उहाँका लागि महत्वपूर्ण उपलब्धि हो । गदाल कला, साहित्य र मानवीय कारणहरूको दायराभित्र आफ्नो बहुआयामिक प्रयासमा पूर्ति पाउँनुहुन्छु । बहुप्रतिभाकी धनी साबु गदाल कार्कीसँग नेपाल बसाइको सन्दर्भमा हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवाको संक्षिप्त अशंः-
हालै अन्तर्राष्ट्रिय नेपाली कला समाज इनासको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति गर्दै हुनुहुन्छ ।
हो, यहाँले भनेजस्तै हालै काठमाडौंमा समपन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को ग्लोबल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएकी छु । साथीहरूले मलाई यो जिम्मेवारी सुम्पनु भएको छ । यो भन्दाअघि म उपाध्यक्षमा थिए । त्यसभन्दाअघि कोलोराडोको अध्यक्ष र उत्तर अमेरिका (क्यानाडा र संयुक्त राज्य अमेरिका)को क्षेत्रीय संयोजकको रूपमा नेतृत्वको भूमिका निर्वाह गरको थिए । ग्लोबल उपाध्यक्षको रूपमा चार वर्ष कार्यकालपछि यस वर्ष वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छु ।
यहाँ गीतसंगीत र साहित्य क्षेत्रमा विशेष लगाव राख्नुहुन्छ । त्यसो त यहाँ सञ्चारकर्ममा पनि आफूलाई त्यतिकै सशक्तरूपमा प्रस्तुत गर्नुभएको थियो । आफूलाई चिनाउँदा के भनेर चिनाउन चाहनुहुन्छ ?
विविध क्षेत्रमा संलग्न भए पनि म आफूलाई सञ्चारकर्मीकै रूपमा चिनाउन चाहन्छु । म सन् १९९८ देखि सन् २००४ सम्म मैले रेडियो नेपालमै काम गरे ।
यहाँको सांगीतिक कोशेली पहिलो कहिले आएको थियो ।
विसं २०५१ सालमा मेरो पहिलो गीत रेकर्ड भएको थियो । बलराम समालले गाउनुभएको बालेन्द्र राईको संगीतमा ‘सबले जिते जिन्दगीमा...’ भन्ने थियो ।
यहाँका हालसम्म कति एल्बम श्रोता/दर्शकमाझ आएका छन् ?
मेरा चारवटा एल्बम श्रोता/दर्शकमाझ आएका छन् । ‘साहरा, रिवाज, आमा, तिम्रो बन्न सकेन’ जस्ता गीति एल्बम आएका छन् । यस्तै नेपाली चलचित्र ‘दर्पण छायाँ-२’का अधिकांश गीत पनि मैले लेख्ने मौका पाए । यस चलचित्रमा निर्माताका रूपमा पनि थिए म ।
यहाँ धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ कसरी समयको व्यवस्थापन गर्नु हुन्छ, लेखनलाई समय कसरी छुट्टयाउनुहुन्छ ?
यस्तो हुन्छ, यदि तपाईं कुनै काम मनबाट चाहनुभएको छ भने त्यो सम्भव भइहाल्छ । तर, मुख्य कुरा भनेको घर हो परिवार हो । उहाँहरूले मलाई एकदम सर्पोट गर्नुहुन्छ । म कुनै एक हप्ता नलेखिकन बसे भने मेरो छोरी मेरो श्रीमान्ले ‘किन तिमी केही नलेखी बसेको, किन कुनै क्रियशन नगरेको’ जस्ता प्रश्न गर्ने गर्नुहुन्छ । उहाँहरूले मलाई हौसला र प्ररेण दिइरहनुहुन्छ । त्यसैले पनि यो सबै सम्भब भएको हो । मैले यो खालको ऊर्जा घरबाटै पाएको छु ।
यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
तपाईं सबैलाई थाहै छ वरिष्ठ गीतकार ज्ञानेन्द्र गडाल मेरो दाइ हुनुहुन्छ । उहाँको छत्रछायाँमा रहेर पनि होला यो क्षेत्रप्रति मेरो विशेष लगाव रहृयो । अनि मेरो जन्म थलो इलाम जहाँ साहित्यको खानी छ । अनि छेउमै दार्जिलिङ त्यसले पनि सानैदेखि यो क्षेत्रमा विशेष लगाव हुन गयो । मेरो रगतमै गीतसंगीत र साहित्य छ जस्तो लाग्छ । इलाममा हुर्किए । सानैदेखि काठमाडौंमा दाजुसँग पढ्न आए । कक्षा सातदेखि म काठमाडौंमा दाजुसँग रहेर आफ्नो अध्यायनलाई अघि बढाए ।
रेडियो नेपालमा कसरी प्रवेश गर्नुभयो ?
मेरो सपना थियो रेडियो नेपालमा कसरी प्रवेश गर्ने भन्ने । रेडियोमा मान्छे कसरी बोल्छन भन्ने ममा जहिल्यै कौतुहल्ता रहन्थ्यो सानोमा । मैले सानोमा रेडियोभित्रका मान्छे हेर्नका लागि दुई–तीनवटा रेडियो पनि फुटाएको छु । भनिन्छ नि ! एउटा सपना देख्यो भने त्यसमा पुग्न सकिन्छ भनेर । मैले त्यसलाई प्रमाणित गरे । मैले एसएलसी दिएपछि रेडियो नेपालमा काम गरे ।
गीत लेखन कसरी सुरुभयो ?
रेडियो नेपालमा मैले विभिन्न स्रष्टासँग भेटने मौका पाए । मैले आफ्ना मनका भावना लेखिरहन्थे । धेरै बोल्ने बानी पनि थिएन अलिक लजालु स्वभावकी थिए । त्यतिबेला मैले लेखेको दुई लाइन ‘सबले जिते जिन्दगीमा धेरै चोटी हारे मैले, यति सानो जिन्दगीमा भेटेन खुशी कहिल्यै’ सुशील विश्वकर्मा दाइले एकदमै राम्रो गीत बन्यो भन्नुभयो । ‘बैनी यो त संगीतकारलाई दिएर गाउन लगाउनुपर्छ’, उहाँले भन्नुभयो । नभन्दै संगीतकार बलराम समालसँग मेरो भेट भयो । अनि बालेन्द्र राईसँग भेट भयो । यसरी गीत लेखनमा लागियो । फेरि हाम्रो दाजुकोमा सबै गायक संगीतकार भेट हुने, जमघट हुने क्रममा म यसतर्फ होमिए ।
यहाँका कति जति गीत बजारमा आए होलान ?
मेरा रेकर्ड भएका गीत ४५ वटा जति भएका छन् । रेकर्ड नभएका गीत त थुप्रै छन् । चाडै नै गीतिसंग्रह निकाल्ने सोचमा छु ।
यहाँले पुस्तक पनि पाठकमाझ ल्याउँदै हुनुहुन्छ भन्नेछ, यसको बारेमा केही बताउन मिल्छ, यसको विषयवस्तु के कस्तो छ ?
किन न मिल्नु मिली हाल्छ नि ! मैले एकल महिलाको विषयलाई लिएर एउटा कृति तयार पारेको छु । म धेरै ठाउँ घुम्दा बस्दा यस विषयलाई उजागर गर्ने उद्देश्यले यो कृति ल्याउँदै छु । हामीकहाँ एकल महिलालाई हेर्ने दृष्टिकोण र नेपाल बाहिरको अवस्थालाई यसमा चित्रण गर्ने कोसिस गरेकी छु ।
लेखनका लागि कुनै त्यस्तो विशेष समय छ कि, अर्थात् कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
त्यस्तो कुनै खास समय त छैन । तर, रातिको समय लेख्न एकदम रुचाउछु । कहिलेकाहीँ दिउँसोमा या अन्य कुनै समयमा कुनै विषयले छोयो भने एक–दुई लाइन लेख्छु र त्यसलाई रातिमा नै पूरा गर्छु प्रायः ।
यहाँको गीत साधना सरगमले पनि गाउनु भएको छ, है ?
हो, साधना सरगमले ‘आमा’ भन्ने गीत गाउनुभएको छ । धेरैले अत्यधिक मन पराउनुभएको छ । यस्तै, रामकृष्ण ढकाल, यम बराल, कर्णदास, सत्य/स्वरूप आचार्यलगायतले गाउनुभएको छ । धेरै गायक गायिकाले गाउनुभएको छ । उहाँहरू सबैप्रति कृतज्ञ छु ।
अन्त्यमा ?
हामी भौगोलिक रूपमा विदेशमा भए पनि हाम्रो मन नेपालमा नै रहेको हुन्छ । जहाँरहे पनि यो मन नेपाली नै हुन्छ । अमेरिकामा रहे पनि केही कमाएको नेपालमै लगानी गरौं भन्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच