प्रत्येक वर्ष १९ नोभेम्बरका दिनलाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरिएको छ । सुरुमा शौचालय निर्माण तथा प्रयोगमा बढवा गर्ने सरसफाइको बढोत्तरी गर्न उद्देश्यले यो दिवस मनाउन थालिएको हो । शौचालय आवश्यक छ, शौचालय आफ्नै लागि हो भन्ने मानसिकता पछिल्लो समय विकास हुँदै गएको देखिन्छ । नेपाल खुला दिशामुक्त देश हुनुले पनि यसलाई प्रष्ट बनाउँछ । पश्चिमा देशहरूको तुलनामा पूर्वी देशहरूमा शौचालयको विषयलाई लिएर निकै बहस हुने गरेका छन् । अझ अविकसित राष्ट्रहरूमा त यो एउटा रोगकै रूपमा रहेको देखिन्छ । नेपाल खुलादिशामुक्त देश भइसक्दा छिमेकी राष्ट्र भारत अझै खुला दिशामुक्त हुन नसक्नुबाट पनि यो कत्तिको चुनौतीको विषय हो भन्ने प्रष्ट हुन्छ ।
रुढीवादी सोच र अज्ञानताकै कारण नेपालमा समेत खुला दिशामुक्त हुन कुनै बेला चुनौतीकै रूपमा रहेको देखिन्थ्यो । अहिले पूरै देश खुला दिशामुक्त भएको छ, तर कार्यान्वयमा चुनौती भने कायमै छ, किनभने सय प्रतिशत शौचालय नबनिकनै सरकारले देश खुला दिशामुक्त घोषणा गरेको थियो । खुला दिशामुक्त भनेर घोषणा गर्नु ठूलो कुरा होइन, यसको कार्यान्वयन र निरन्तरता अबका दिनमा महत्वपूर्ण छ । अझै नेपालका पहाडी भू-भागभन्दा तराई क्षेत्रमा यो समस्या कायमै छ ।
अति गरिबी र विपन्न समुदायले चाहेरसमेत अझै शौचालय बनाउन सकिरहेका छैनन् । यसलाई स्थानीयस्तरबाट सहयोग र साथको आवश्यकता छ । मानिसको दिसापिसाबलाई उपयुक्त ठाउँमा थान्को लगाउने ठाउँलाई शौचालय भनिन्छ । खतरनाक जीवजन्तुबाट बच्न, पानी, हुरीबतासबाट बच्न, बिरामी पर्दा बच्चा र बुढाबुढीका लागि शौचालय बनाउनुपर्छु । वातावरण सुन्दर पारी दुर्गन्ध हटाउन घरआँगन सफा गरी कामकाज गर्न गोप्यता र लाजबाट बच्न शौचालय बनाउनुपर्छ ।
नेपालमा धेरैजना बालबालिकाले वर्षेनी झाडापखालाबाट ज्यान गुमाउने गरेका छन् । झाडापखाला लाग्ने मुख्य कारण खुला रूपमा दिसा गर्नाले हुन्छ । सानो खर्चमै शौचालय बन्ने र शौचालय बनाउन हेलचेक्र्याइँ गर्नाले रोग लाग्छ । रोग लागि सकेपछि एकातिर शौचालय बनाउने खर्चभन्दा धेरै खर्च गर्नुपर्छ भने अर्कोतिर अकालमै ज्यान जान्छ ।
नेपालमा सन् १९८० मा २ प्रतिशत नेपालीको घरमा शौचालय रहेकामा सन् २००९ मा ४३ प्रतिशत नेपालीको घरमा शौचालय निर्माण भएको थियो । सरसफाइ गुरुयोजना जारी भएपछि सन् २०१५ मा ८१ प्रतिशत नेपालीको घरमा शौचालय निर्माण भएको थियो । सन् २०१७ मै नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने गुरुयोजनाको लक्ष्य भए पनि तराई-मधेस आन्दोलन, गोरखा भूकम्प भारतको नाकाबन्दी जस्ता अवरोधले गर्दा ७५३ वटा स्थानीय तह र ७७ वटै जिल्ला खुला दिशामुक्त भएपछि सन् २०१९ सेप्टेम्बर अर्थात् २०७६ साल असोज १३ गते नेपाललाई खुला दिशामुक्त घोषणा गरिएको थियो ।
खुला दिसामुक्त घोषणा गरिए तापनि बनेका घरायसी शौचालयहरूको नियमित प्रयोग, दिगोपना भएन । सरसफाइ एवं मर्मतसम्भार तथा सार्वजनिक शौचालयहरूको निर्माण एवं उचित व्यवस्थापनतर्फ अझै काम गर्न बाँकी छ । तबमात्र सही अर्थमा खुला दिसामुक्त घोषणा भएको सार्थक हुनेछ । यस्ता क्रियाकलापका साथै मानिसहरूको सरसफाइसम्बन्धी आनिबानी परिवर्तन तथा हातधुने बानी आदिको विकासलाई लक्षित गरी हाल नेपालमा सरसफाइ गुरुयोजनाको दोस्रो चरणअन्तर्गत पूर्ण सरसफाइ कार्यक्रमको सुरुवात भएको छ ।
हाल संसारभरका चार अर्ब मानिस स्वच्छता तथा सरसफाइको आधारभूत अधिकारबाट वञ्चित छन् । तीन अर्ब मानिस हात धुने सुविधाबाट वञ्चित छन् भने कूल जनसंख्याको १० प्रतिशत मानिस अझै खुला शौचालयको प्रयोगमा अभ्यस्त छन् । विश्वमा जटिल रोग र बालमृत्युदरसँग जोडी अधिकांश रोग सरसफाइ तथा स्वच्छतासँग जोडिएका छन् । तैपनि यो सरोकारको मुख्य क्षेत्रमा अझैसम्म पर्याप्त लगानी प्रवाह हुन सकेको छैन । यसले हरेक मुलुकको दिगो विकास लक्ष्यलाई प्रभावित गरिरहेको छ । यसै सन्दर्भमा विश्व शौचालय दिवसको महत्व अझै रहेको देखिन्छ । लेखक, हिमालय टाइम्स अनलाइनका सम्पादक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच