
काठमाडौं । बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘को-हजबेन्ड’ (सहायक श्रीमान्)ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेष्टिभलमा को-हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवाड जित्न सफल भएको हो ।
अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसोसिएट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसोसियट प्रोफेसर क्रिश्चियन हृयामन्सले ‘को-हजबेण्ड’का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरेको पनि सहभागिता रहेको थियो । अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ ।
अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट पाँच हजार जना मानवशास्त्रीहरूको सहभागितामा यसवर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भएको हो । सो महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरूको प्रतिस्पर्धामा उत्कृष्ट ठहरगरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र ‘को-हजबेण्ड’लाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
‘को-हजबेन्ड’ले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायत हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गर्नुभएको हो । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ । चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको हो भने संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको छ ।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री चलचित्र ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच