म्याग्दी । हेमन्त ऋतुको सुरुवातसँगै छ्याङ्गै उघ्रिएको छ आकाश । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टी सेता हिमालहरु अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीय स्थलहरुमा पर्यटकहरु रमाइहेका भएपनि म्याग्दीका गाउँवस्तीहरु भने सुनसान भएका छन् ।
दसैं तिहारजस्ता चाडपर्व मनाउन लामो विदामा गाउँ आएका व्यक्तिहरु आआफ्नो कार्यक्षेत्रतिर फर्किए पछि गाउँवस्तीहरु सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजारमा बस्दै आएकाहरु दसैं तिहार मनाउन गाउँ आएका थिए । चाडपर्व सकिए लगत्तै गाउँ आएका व्यक्तिहरु धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका मंगला गाउँपालिका वडा नं ५ छिसबाङका विकल सेनले बताउनुभयो ।
“केही दिन गाउँघरमा निकै रमाइलो भयो,देश विदेशमा रहेका आफन्तहरुसँग भेटघाट,संगरमाइलोले दिनहरु वितेको पत्तै भएन” सेनले भन्नुभयो “जव चाडपर्व सकिए,गाउँमा आएकाहरु पनि आआफ्नो कार्यक्षेत्रमा फर्किन थाले,हेर्दाहेर्दैै त्यति रमाइलो गाउँ फेरि सुनसान र विरत्तलाग्दो हुन थाल्यो ।”
म्याग्दीका ६ वटै स्थानीय तहका ग्रामीण क्षेत्रहरुमा धान कोदो थन्काएर गहु छर्ने, आलु रोप्ने सिजन सुरु भएको छ । तर,अहिले गाउँमा मानिसहरु अत्यन्त कम छन् । कृषिमा जनशक्तिको अभाव भए पछि जमिन वाँझै राख्न किसानहरु वाध्य भएका छन् । मालिका गाउँपालिका वडा नं ६ की देवी घर्तीले भन्नुभयो “दसैं तिहारको बेला गाउँमा जत्तिको रमाइलो कही भएन,चाडपर्व सकिएसँगै गाउँ खाली हुन थाल्यो, अहिले गाउँमा अलि उमेरको मान्छे देख्नै मुस्किल पर्छ,बूढाबूढी र विद्यालय उमेरका बालबालिकाबाहेक अरु गाउँमा देखिदैनन् ।”
म्याग्दीका ग्रामीण क्षेत्रका अधिकांश मानिसहरु,पोखरा,काठमाण्डौं बुटवल, चितवन, बेनी लगाएतका देशका मुख्य ठूला सहरमा बसाइँसराइ गरेर गएका छन् । युवाहरु विदेश छन् । हिजोआज गाउँमा बस्नेको संख्या निकै कम हुँदै गएको मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले बताउनुभयो ।
अहिले सहरको सेवा सुविधा विस्तारै गाउँमा पनि पुग्न थालेको छ । सवै गाउँमा यातायातको पहुँच छ ।
शिक्षा,स्वास्थ्य र संचारको पनि राम्रो सुविधा गाउँमा छ । तर,मानिसहरु धमाधम गाउँ छोडदै सहरतिर झर्न थालेपछि विकास र सुविधाको उपयोग गर्नेहरु समेत नपाइने अवस्था उत्पन्न हुन थालेको मालिका गाउँपालिका २ की मिना पुनले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमा पुगेको सेवा सुवधा भन्दा थप सेवा सुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बुढापाका र बालबालिका मात्रै छन् । विस्तारै गाउँ रित्तिदै जान थालेको छ । दसैं तिहारजस्ता ठूला चाडपर्वमा केही दिन रमाइलो हुन्छ,त्यसपछि फेरी गाउँवस्ती सुनसान हुन थाल्दछ ।
चाडपर्वले अपनत्वको बोध गराउने हुँदा सवै मानिसहरु आफ्नै जस्ता लाग्छन् । वर्षौँदेखि टाढा रहेका आफन्तहरुसँगको मिलन निकै रमाइलो हुन्छ ।
“दसैंको फूलपातीको दिनदेखि तिहारको भोलीपल्टसम्म गाउँ घरमा जता गए पनि आफन्त भेटिन्थे । तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दसैँ तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरु पनि फर्किए । त्यसपछि गाउँवस्ती सुनसान हुन थालेको दरबाङका युवा मिन सुनारले बताउनुभयो ।
पश्चिम म्याग्दीका धेरै जसो ठाउँबाट सहर र तराई झरेकाको संख्या निकै ठूलो छ । उनीहरुको आफन्तजन भने गाउँमा छन् । बसाइँसराइ गरेर तराई झरेकाहरु दसैँ तिहार र कुल पूजाका लागि गाउँ उक्लिने गर्छन् । दसैँ तिहार भरी गाउँमा चहलपहल भए पनि अहिले घरहरु खाली हुँदै गएको स्थानीय रणबहादुर सिउथानीले बताउनुभयो ।
गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने सिउथानीको भनाइ छ । एक दशक अगाडिसम्म मालिका गाउँपालिका ५ देविस्थान गाउँमा मान्छेले खेतीपाती गरेरै जीवन निर्वाह गरे पनि अचेल हुने खानेहरु सबै बजार झरेको देविस्थानका पदम बूढाले बताउनुभयो । धेरैको रोजाई सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच