नयाँदिल्ली । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले टी-२० आई सिरिजको तेस्रो खेलमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा दुई-एकले पछि छ ।
जितका लागि २२३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ग्लेन म्याक्सवेल ४८ बलमा आठ चौका र आठ छक्कासहित १०४ रनमा अविजित रहनुभयो । यो ग्लेन म्याक्सवेलको टी-२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी-२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गर्नुभएको छ ।
उहाँले भारतीय रोहित शर्माको चार शतकको कीर्तिमान बराबर गर्नुभएको हो । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ । अन्तिम १२ बलमा अष्ट्रेलियालाई ४३ रन आवश्यक थियो । १९औँ ओभरमा अक्षर पटेलले २२ रन खर्चेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितका लागि २१ रन चाहिएको थियो ।
कप्तान म्याथ्यु वेड १६ बलमा तीन चौका र एक छक्कासहित २८ रनमा नट आउट रहनुभयो । छैटौँ विकेटका लागि म्याक्सवेल र वेडले ४० बलमा ९१ रनको साझेदारी गर्दै जित पक्का गराउनुभयो ।
अष्ट्रेलियाका ओपनर ट्रविस हेड १८ बलमा आठ चौकासहित ३५ रनमा आउट हुनुभयो । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट हुनुभयो ।
भारतका रवि विश्रोइले चार ओभरमा ३२ रन खर्चेर दुई विकेट लिनुभयो । आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक विकेट लिनुभयो ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र सात छक्कासहित १२३ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । उहाँको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।
तिलक बर्मा २४ बलमा चार चौकासहित ३१ रनमा अविजित रहनुभयो । चौथो विकेटका लागि ऋतुराज र तिलकले ५९ बलमा १४१ रनको अविजित साझेदारी गर्नुभएको थियो । कप्तान सूर्यकुमार यादव २९ बलमा पाँच चौका र दुई छक्कासहित ३९ रनमा आउट हुनुभयो ।
अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एक-एक विकेट लिनुभयो । भारत पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौँ खेल आइतबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच